अर्थमन्त्री खतिवडासँग सेयर बजारले डराउनु पर्दैन

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सेयर बजार घट्यो भन्ने आरोपमा कुनै दम छैन । खतिवडा अर्थतन्त्र बुझेका व्यक्ति हुन् । उनी अर्थतन्त्र सुधार्न र देश बनाउन भनेरै आएका हुन् । अहिले उनैलाई देखाएर सेयर बजार घट्यो भन्न थालिएको छ जसको कुनै तुक नै छैन । अहिले सेयर बजारमा सेलरको चाप पनि खासै छैन। [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सेयर बजार घट्यो भन्ने आरोपमा कुनै दम छैन । खतिवडा अर्थतन्त्र बुझेका व्यक्ति हुन् । उनी अर्थतन्त्र सुधार्न र देश बनाउन भनेरै आएका हुन् । अहिले उनैलाई देखाएर सेयर बजार घट्यो भन्न थालिएको छ जसको कुनै तुक नै छैन । अहिले सेयर बजारमा सेलरको चाप पनि खासै छैन।

कुनै पनि बाणिज्य बैंकको ४ करोड कित्ता सेयर बेच्न लायक हुन्छन् । तर बजारमा बेच्ने तयारी गरिएको सेयर भनेको करिब २० प्रतिशत मात्रै हुन्छ । एक दिनमा एउटा बाणिज्य बैंकको ८० लाख कित्ता सेयर बेच्न तयार हुन्छ । अहिले त्यसको २० प्रतिशत पनि बेच्ने सूचिमा आईसकेको छैन । लगानीकर्ताहरुले बैंक वा अन्य ठाउँबाट ऋण लिएर लगानी गरेका होलान् । त्यस्तो अवस्थामा अलिकति बजार घट्ने वित्तिकै डराउँछन् । बैंक भन्दा अलि राम्रो प्रतिफल आउँछ भनेर सेयरमा लगानी गरेका हुन् । कर बाहेक बार्षिक ४ प्रतिशत सेयरबाट मुनाफाबाट आउनु पर्छ भन्ने मान्यता छ । खतिवडालाई देखाएर बजारमा चलखेल भयो ।

अब कुरा रह्यो उत्पादक र अनुत्पादक क्षेत्रको । प्राइमरी सेयर उत्पादक हो तर दोश्रो बजारको सेयर सट्टेबाजी मात्रै हो । दोश्रो बजारको सेयर कारोबार र लगानी उत्पादक होइन । त्यो सेयरको पैसा कम्पनीमा जाँदैन । प्राथमिक सेयर चाँही उत्पादक नै हो । अर्थमन्त्रीले पनि त्यहि भन्नु भएको हो । लगानीकर्ताले प्रतिफललाई र कम्पनीको गुडविल हेर्नु पर्ने थियो । २ रुपैंयाँ पनि नकमाउने कम्पनीको सेयर मूल्य २ सय गुणा बढेको छ । त्यहाँ लगानीकर्ताले कुरा बुझेनन् । फेरी पुस देखि चैतसम्म बजार घट्ने समय नै हो । अहिलको बजारमा देखिएको गिरावट स्वभाविक प्रक्रिया हो । हामीले पनि बजार घट्ने नै अनुमान गरिरहेका थियौं ।

यस अघि अधिकांश कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बैंकहरुले ऋण नदिएर बजार घट्यो भन्नु पनि गलत नै हो । बैंकहरुले आफ्नो प्राथमिकता र केन्द्रिय बैंकको गाइडलाईन अनुसार कर्जा प्रवाह गर्ने हो । सेयर बजारमा धेरै लगानी गर्न पनि पाइँदैन र त्यस्तो जोखिम उठाउनु पनि बैंकहरुका लागि ठिक हुन्न । नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक लगायतले त सेयर कर्जा नै दिँदैनन् । त्यो बैंकहरुको व्यवसायीक योजना भित्रको कुरा हो । सेयर बजार जुवाघर होइन, यहाँ सबैले कमाउने नै हो । सेयरमा गरिएको लगानी कहिल्यै पनि शुन्य हुँदैन । राम्रो कम्पनी हेरेर लगानी गर्ने हो भने कहिल्यै नोक्सानी हुन्न ।

यतिबेला लगानी गर्ने सुवर्ण अवसर छ । अर्काको कुरा सुनेर लगानी गरियो त्यसैले बजारमा अस्थिरता देखिएको हो । ‘हम तो मरेंगे सनम तुम्को भी साथ ले चलेंगे’ जस्तो भैरहेको छ । लगानीकर्ताले आत्तिनु पर्दैन, खतिवडाले बजार घटाएका होइनन् । यीनले अर्थतन्त्र सुधार नै गर्छन् । खतिवडासँग सेयर बजार डराउनु पर्दैन । खतिवडाले गर्ने कामहरुले सेयर बजारलाई दिर्घकालिन फाइदा नै गर्छ । पुर्वाधारमा लगानी बढ्यो भने रोजगारी बढ्ने आयात प्रतिस्थापन हुने अवस्था आउँछ जसले अर्थतन्त्रलाई फाइदा नै गर्छ । आज अर्थमन्त्रीलाई गाली गर्नेहरुले सेयर किन्दा खतिवडालाई सोधेर किनेको हो र ? अर्थमन्त्रीले स्टक एक्सचेञ्ज बन्द गर्न भनेका छन् र ?(दाहालसँग गरिएको कुराकानीमा आधारित)

Share News