काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि आइतबार भारी गिरावट आएको छ । अर्थमन्त्री खतिवडाले बीबीसीसँगको अन्तरवार्तामा सेयर बजार र घरजग्गा अनुत्पादक रहेको र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने अभिव्यक्ति दिएपछि यसको असर आइतबारको सेयर बजारमा देखिएको हो । आइतबार बजार घटेर राताम्यै भएको छ ।
बैंकको महंगो ब्याजदर र बढी आपूर्तिले सेयर बजार घटिरहेका बेला अर्थमन्त्रीको अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्तिले आइतबार बजार घटेको लगानीकर्ताको भनाई छ ।
सेयर बजारप्रति अर्थमन्त्री खतिवडा सकारात्मक नभएपछि आइतबारको नेप्से परिसूचक वर्षकै न्यूनतम बिन्दुमा पुगेको छ । एकै दिन बजारमा परिसूचक ४१ अंकले घटेर १३०४.४३ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै न्यूनतम बिन्दु हो । एक वर्षअघि अर्थात २०७३ फागुन २२ गते परिसूचक १३५४ अंकमा रहेको थियो ।

एक वर्षअघिकाे नेप्से परिसूचक
एकैदिनको बजार तीब्र गतिमा घटेर ४१ अंकले ओरालो लागेपछि बजारका लगानीकर्ता निरास र त्रसित भएका छन् । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएकोमा आइतबार भारी गिरावट आउदा बिक्रेता अतालिएका छन् ।
वामपन्थी सरकार सेयर बजारमैत्री नभएको आरोप लागिरहेका बेला अर्थमन्त्रीको भनाईले लगानीकर्तालाई हत्तोसाहित बनाएको ब्रोकरहरुको भनाई छ । साधारण सेयर (आईपीओ) हकप्रद, थप निष्कासन(एफपीओ) र सामुहिक लगानी कोष (म्युचअल फण्ड) को बढी आपूर्ति भएपछि बजार माथि जान नसकेको लगानीकर्ता बताउछन् ।
यस्तै बैंकको महंगो ब्याजदरले ठुला लगानीकर्ताको बजारमा प्रवेश नभएपछि खरिदकर्ताको कमी र आपूर्ति बढी भएपछि बजार निरन्तर घट्दै गएको छ । बैंकबाट १४ प्रतिशत ब्याजमा ऋण लिएर ६ प्रतिशत भन्दा कम प्रतिफल आउने भएपछि ठुला लगानीकर्ता अहिले बजारबाट बाहिरिएका छन् ।
बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २८६ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् ।
त्यस्तै, आइतबार कारोबारमा आएका १५१ कम्पनी मध्ये १४९ कम्पनीको सेयर सेयर मूल्यमा गिरावट आएको छ । बाँकी दुई कम्पनी सूर्योदय र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने क्रमशः ३.९३ र १.८६ प्रतिशतले बढेको छ ।