वैशाखदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाइने

<p>काठमाडौं । तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ । तर त्यसका लागि आफनो व्यवसायीक योजना पेश गर्नुपर्ने छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा आउदो बैशाखदेखि उद्यम गर्न ऋण दिने भएको छ । नेपाल युवा तथा [&hellip;]</p>

काठमाडौं । तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ ।

तर त्यसका लागि आफनो व्यवसायीक योजना पेश गर्नुपर्ने छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा आउदो बैशाखदेखि उद्यम गर्न ऋण दिने भएको छ । नेपाल युवा तथा खेलकुद मन्त्रालय, नेपाल युवा परिषदले शैक्षिक प्रमाण पत्रको आधारमा उद्यम खोल्नलाई ऋण दिने अन्तिम तयारी गरेका छन् ।

 

स्वदेशमै स्थानीय स्रोत तथा साधनको प्रयोग गरी विदेशिनबाट युवाहरुलाई रोक्न विगतनै सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा उद्योग खोल्न ऋण दिने घोषणा गरेको थियो । त्यसलाई मूर्तरुप दिन लागेको परिषदले बताएको छ ।

परिषदको प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले फागुनभित्रै उक्त कार्यक्रमको लागि कार्यविधि तयार हुने बताए । उनका अनुसार वैशाखदेखि कार्यक्रम सुरु गरिनेछ । यसवर्ष ‘पाईलट प्रोगाम’को रुपमा कार्यक्रम सञ्चालन गरिनेछ ।

‘वैशाखमै उद्यम खोल्न प्रस्तावनाको लागि ३५ दिने सूचाना निकाल्ने तयारी गरिहेका छौं’, उनले भने ‘त्यसपछि आएको प्रस्तावलाई छनौट गरि ३५ जनालाई ऋण उपलब्ध गराउनेछौं ।’

विशेषज्ञहरुको सिफारिस र राष्ट्रिय कार्यकारी समिति रहेको छनौट समितिले मुलुकभरबाट आएको प्रस्ताव, शैक्षिक प्रमाण पत्र, सम्भावना लगायतको मूल्याङ्कन गरेर उद्योगको छनौट गर्ने उनको भनाइ छ । स्थानिय स्रोत साधान उपयोग गरिएको उद्योगहरुलाई प्राथमिकतामा राखिनेछ ।

‘छनौटमा परेका युवालाई उद्योग सञ्चालनको लागि १ देखि ३ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ,’ उनले भने ‘ऋणमा ब्याज लाग्दैन । किस्तामार्फत क्रण तिर्नु पर्ने व्यवस्था छ ।’ सुरु हुन लागेको कार्यक्रमको आधारमा आगामी वर्षहरुमा उक्त कार्यक्रमलाई विस्तार गर्दै लैजाने सरकारको योजना रहेको उनले जानकारी दिए ।

परिषदको अनुसार सञ्चालन गर्न लागिएको यस कार्यक्रमको लागि चालु आर्थिक वर्ष ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
प्रदान गरिएको ऋणबाट युवाहरुले कृषि तथा पशुपन्छी, वन तथा जडिबुटी, पर्यटन, निर्माण, कला संस्किृति लागायतका उद्योगहरु सञ्चालनमा आउने विश्वास गरिएको छ ।

Share News