बिक्नै छाडे १ सय रुपैयाँका हकप्रद सेयर, किन पत्याएनन् लगानीकर्ताले ?

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री हुन छाडेको छ । चालु आर्थिक वर्ष शुरु भएयता धितोपत्र बोर्डले ३४ कम्पनीलाई १९ अर्ब २२ करोड ५३ लाख रुपैयाँ बराबरको १९ करोड २२ लाख ५३ हजार कित्ता हकप्रद निष्कासन अनुमति दिएको छ । यी मध्ये अधिकांश कम्पनीको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिएको छ । [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री हुन छाडेको छ । चालु आर्थिक वर्ष शुरु भएयता धितोपत्र बोर्डले ३४ कम्पनीलाई १९ अर्ब २२ करोड ५३ लाख रुपैयाँ बराबरको १९ करोड २२ लाख ५३ हजार कित्ता हकप्रद निष्कासन अनुमति दिएको छ । यी मध्ये अधिकांश कम्पनीको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिएको छ ।

सूचना नपाएर साधारण हकप्रद बिक्री नभएपनि संस्थापक हकप्रद सेयर पनि बिक्री हुन छाडेको छ । देशभरबाट हकप्रद सेयर भर्न पाउने व्यवस्था नहुनु, पर्याप्त सूचना नपुग्नु र विदेशमा रहनाले पनि हकप्रद सेयर लिलामीसम्म पुगेको लगानीकर्ताका भनाई छ ।

चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गरेकोमा अधिकांशको बिक्री नभएपछि लिलामी गरिएको छ । पछिल्लो समयमा सिभिल बैंकको ४२ करोड ३८ लाख रुपैयाँ बराबरको ४२ लाख ३८ हजार कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको छ । सर्वसाधारणका अतिरिक्त संस्थापकले समेत हकप्रद सेयर किन्न छाडेका छन् ।

बैंकबाट कर्जा नपाएपछि यसको असर हकप्रद सेयरमा परेको सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बताउँछन् । “संस्थापक लगानीकर्ताले आफ्नो खल्तिबाट लाखौ रुपैयाँ कसैले लगानी गर्दैन” उनले भने “बैंकले लगानीयोग्य पुँजी नभएको भन्दै कर्जा नदिएपछि यसको असर परेको हो ।” हकप्रद सेयर खरिदमा कम्पनीको प्रतिफल पनि मूल कारण रहेको उनको भनाई छ । “राम्रो प्रतिफल दिइरहेको कम्पनीको हकप्रद खरिद भइरहेकै छ । तर कम दिनको नभएको हो” उनले भने ।

सेयर मूल्य सस्तिएर राम्रो प्रतिफल नपाउने देखिएपछि संस्थापक र सर्वसधारणले हकप्रद सेयर खरिद गर्न छाडेका एक ब्रोेकर बताउँछन् । अहिले बजारमा लगानीयोग्य पुँजीको अभाव भएपछि यसको असर हकप्रद सेयरमा परेको उनको तर्क छ । संस्थापकले नै खरिद गर्न छाडेपछि अब आउने कुनै पनि हकप्रद सेयर बिक्री नहुने देखिएको उनको भनाई छ ।

राम्रा भनिएका बैंकहरुको हकप्रद सेयर पनि नबिकेर लिलामी गरिएको छ । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिएको थियो । मेगा बैंकको पनि हकप्रद सबै बिक्री नभएपछि १८ लाख ४० हजार कित्ता लिलामी गरिएको थियो ।

माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२, एभरेष्ट बैंकले ३५ हजार ८४१, सिद्धार्थ बैंकको २ लाख ५३ हजार ९२२ र नेपाल एसबिआई बैंक ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गरेका छन ।

यस्तै, ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार कित्ता, सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख ४६ हजार कित्ता हकप्रद बिक्री नभएपछि लिलामी गरिएको थियो । चालु आवमा कावेली विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड जेविल्स फाइनान्स लिमिटेड, माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी गरिएका छन् ।
मञ्जुश्री फाइनान्स लिमिटेडको ६५ प्रतिशत संस्थापक हकप्रद बिक्री नभएपछि लिलामी गरिएको थियो ।

चालु आवमा सिन्धु विकास बैंक, एनआईसी एसिया बैंक, भागर्व विकास बैंक, कुमारी बैंक, हाम्रो विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, सिटिजन्स बैंक, कञ्चन डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलाम गरिएको थियो ।

यस्तै हाल प्रभु बैंकको पनि ४० प्रतिशत हकप्रद सेयर निष्कासन भइरहेको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न गरेके हो । निर्धारित समयमा सेयर बिक्री नभएपछि बैंकले हकप्रद बिक्रीको समय थपेर फागुन २३ गतेसम्म पुर्याएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि हकप्रद सेयर निष्कासन गरेको छ ।

अझै बैंक तथा वित्त, जलविद्युत र सुगर मिल्ससमेत गरी १६ कम्पनीले १० अर्ब ५८ करोड १० लाख रुपैयाँ बराबरको १० करोड ५८ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । यीनले बोर्डबाट स्वीकृति पाउन बाँकी छ ।
यी बैंकहरुको एक सय रुपैंयामा खरिद गर्न पाइने हकप्रद सेयरमा समेत लगानीकर्ताको आकर्षण देखिएन । सेयर बजार कानुनका जानकारी ज्योति दाहाल लगानीकर्तासंग पैसा नभएर हकप्रद बिक्री नभएको बताउछन् ।

 

Share News