काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्ड ऐन पुनरावलोकन गरिने बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसंग शुक्रबार भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले लगानी बोर्ड ऐन समय सापेक्ष नहुदा अन्तरमन्त्रालय समन्वयको समस्याले अपेक्षित परिणाम देखाउन नसकेको भन्दै वोर्ड ऐन समेत पुनरावलोकन गरिने बताएका हुन् ।
निजी क्षेत्रको लगानी आकर्षित गर्न लगानीसँग सम्बन्धित ऐन नियमको पुनरावलोकन गर्न र अनावश्यक झण्झटीलो र अप्रतिस्पर्धी ऐन नियम खारेज गर्नेतर्फ सरकारको दृढ संकल्प रहेको जानकारी दिएका थिए ।
सार्वजनिक निजी साझेदारी समेत सफल कार्यान्वयन नभएको कटु यथार्थ बताउँदै उनले लागू गर्ने निकाय, सञ्चालन गर्ने तौर तरिका र संभाव्यता जोखिमको पूर्ति व्यवस्था प्रभावकारी रुपमा गरिने उनले बताए ।
आयोजनाको सफल कार्यान्वयन नभएको अवस्थामा कार्यान्वयन इकाई र निरीक्षण इकाई समेत प्रभावकारी बनाइने, सुशासन सम्बन्धमा विदेशी लगानी सम्बन्धी फाइल ट्रयाकिङ्ग व्यवस्था लागू गर्ने विदेशी स्वदेशी लगानी आर्कषित गरी तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका उद्योग र निकासी प्रवद्र्धन गर्ने उद्योगहरुको लागि विशेष व्यवस्था गर्न सरकारले विशेष कार्यक्रम ल्याउने र निर्यातमा दिइने सुविधा उत्पादन तहदेखि निकासीबजार तहसम्म दिदा बढी ध्यान उत्पादन, पूर्वाधार र बजारीकरणलाई दिनु पर्नेमा सरकारले जोड दिने बताए ।
परिसंघका अध्यक्ष अध्यक्ष हरिभक्त शर्माले हाल तरलताको समस्या, औद्योगिक अनुकूल वातावरणको अभाव र आवश्यक ऐन, नियम र नियमनकारी निकायमा सुदृढीकरणको आवश्यकता रहेको बताए । यी समस्या सम्बोधन गर्न सरकारले उपयुक्त रणनीतिसँगै आर्थिक, उद्योगसम्बन्धी कानून र नीतिगत सुधार गरी लगानीयोग्य वातावरण प्रत्याभूतहुने गरी कार्य गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।