नगरकोट । भक्तपुरका उद्योगी व्यवसायीले मजदूर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता भएको बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले गरेको बधाई ज्ञापन कार्यक्रममा उद्योगी व्यवसायीले मजदूर समस्याले गर्दा वर्षौंदेखि गर्दै आएको उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
मजदूर समस्याले घरेलु तथा साना उद्योग झन ठूलो समस्यामा रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित रामप्रसाद प्रजापतिले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान गर्न सम्पूर्ण उद्योगी व्यवसायी एकजुट भई अघि बढ्नुपर्ने बताए ।
उनले देशका उद्योग व्यवसायमा मजदूर समस्या समाधान गर्न सरकारले रोजगारीकै लागि विदेश जाने युवालाई निरुत्साहित गर्नुपर्ने माग गरे ।
त्यस्तै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले संघले विभिन्न तालीम दिए पनि युवा उद्योग व्यवसायमा काम गर्न उत्साहित नदेखिएकोले समस्य बढ्दै गएको बताए । विदेश जाने युवालाई देशमै काम गर्ने वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघको २७ औँ र महिला उद्यमी समितिको २५ औँ वार्षिक साधारणसभाको सिहावलोकन समेत गरिएको थियो ।-रासस