काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशका विभिन्न दुर्गम क्षेत्रमा हवाइसेवा सञ्चालन गर्न ८ वटा नयाँ विमानस्थल निर्माण गर्ने भएको छ । प्राधिकरणले साना र ठुला गरी ८ वटा विमानस्थल निर्माण गर्न लागेको हो ।
प्राधिकरणले सोलुखुम्बुको गुदेल, हुम्लाको भदनाखोल, पाँचथरको चिहान डाँडा, उदयपुरको जोगी डाँडा, धनकुटाको बेलहारा, धरानको गोपाल डाँडा, तेह्रथुम र अर्घाखाँचीमा विमानस्थल निर्माण गर्न लागेको हो ।
अधिकांश स्थलमा साना ‘स्टोल’ एयरपोर्ट बन्ने एरोड्रम इन्जिनियरिङ विभागका उपप्रबन्धक नलविक्रम थापाले बताए । स्टोल एयरपोर्टमा तीन वटाम्म विमान अट्न सक्छन् । बन्ने नयाँ विमास्थलमा १६ देखि १८ सिट क्षमताको टिविनेटर, ड्रोन सञ्चालन गर्न सकिने थापाले जानकारी दिए ।
धरानको गोपाल डाँडामा ठुलो विमानस्थल बन्नेछ । यसमा ३५ देखि ४२ जना क्षमताको विमान अवतरण गर्न सक्नेछ । ‘नयाँ विमानस्थल निर्माण गर्ने कुराले स्थानीय वासिन्दा हर्सित भएका छन्, कतिपय स्थानमा जनताहरु आफैंले विमानस्थल निर्माण गर्न र जग्गा समेतको प्रबन्ध गर्ने गरेका छन्’ इन्जिनियर थापाले विकासन्यूजसँग भने ।
नयाँ निर्माण हुने विमानस्थलको धमाधम काम अगाडी बढिरहेको छ । केही विमानस्थलको वातावरणिय प्रभाव मूल्याङ्कन भैसकेका छन् भने केही यसको प्रक्रियामा रहेका छन् ।
प्रधिकरणले साना विमानस्थल निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि बोलपत्र नगरिकन परामर्श दातालाई सिधै छनोट गर्न सक्छ । यसैगरी नेपालको सबैभन्दा धेरै विमानस्थल रहेको सोलुखुम्बु जिल्लामा बन्ने गुदेल माहाकुलुङ विमानस्थलको निर्माण कार्य अघि बढेको छ ।
प्रधिकरणले सो स्थानमा निर्माण हुने विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनको लागि स्थानीय वासिन्दालाई फागुन १९ गते सार्वजनिक सुनुवाई कार्यक्रम राखेको छ ।
यस्तो बन्नेछ गुदेल माहाकुलुङ विमानस्थल
गुदेल विमानस्थल सोलुखुम्बु जिल्लाको माहाकुलुङ गाँउपालिका वडा नम्बर ४ मा रहनेछ । विमानस्थल समुन्द्र सतहदेखि २०६० मिटरमा अवस्थित रहनेछ । सो स्थलको लम्बाई ७५० मिटर लम्बाई र चौडाई १०० मिटरको हुनेछ ।
यस विमानस्थलको निर्माण सम्पन्न गर्न १ अर्ब १६ करोड रुपैंया खर्च लाग्नेछ । यस विमानस्थलमा ३ वटा विमान अट्ने क्षमता राख्दछ । यस विमानस्थल ६० हेक्टर जमिनमा फैलनेछ । सोलुखुम्बुमा हाल ५ वटा विमानस्थल रहेका छन् ।