काठमाडौं । राजधानीमा आउदो चैत १७ गते १७ वटा ठुला बस आइपुग्ने भएका छन् । दिगो सहरी यातायात प्रालिले २०७५ वैशाख १ गतेदेखि सञ्चालनमा आउने गरि ठुला बसहरु ल्याउने तयारी गरेकाे हाे ।

सञ्चालनमा आउने ठूला बसबाट ४० जनालाई रोजगारीको अवसर सिर्जना भएको छ । प्रालिले रोजगारीका लागि महिलाहरुलाई अवसर दिने जनाएको छ । ‘१७ बस सञ्चालनका लागि २० चालक र २० सहचालक आवश्यक छ, यदि ४० जना नै महिला चालक र सहचालक भेटियो भने हामी सबै सेवा महिलाबाट नै प्रदान गर्छौ’ आयोजनाका प्रमुख लालप्रसाद गुरागाइले बताए ।
‘अहिले बस ड्राइभिङ गर्ने कर्मचारी पाउन गाह्रो छ, हामीले सरकारसँग पनि राय मागिरहेका छौं, विशेषगरी महिला चालक र सहचालकबाट हामीले सेवा दिन खोजेका हौं” उनले भने “यसले सवारी साधनमा हुने महिला हिंसामा पनि कमि आउँछ ’
अहिले यातायातले बसमा सामाजिक सचेतनाका लागि कस्ता किसिमको स्टीकर टाँस्ने भन्ने विषयमा छलफल भैरहेको जनाएको छ । सञ्चालनमा आउने १७ वटा बस पार्किङका लागि अहिले एसियाली विकास बैंक (एडिबी)ले ‘डिपो’ निर्माण गरिरहेको छ ।
बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ ।
प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ ।
बसमा यस्तो सुविधा हुनेछ
५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् ।
बस गुड्ने रुट
५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ ।
पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् ।
विवाद मिलिसक्यो
सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो सञ्चालकबिच विवाद मिलिसकेको प्रालिले जनाएको छ । ती माइक्रो तथा टेम्पोलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको सी ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ ।
यस्तो छ प्रालिले पहिचान गरेको रुट
एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सडक लाई बी ग्रेडमा राखिएको छ ।
६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।