काठमाडौं । मदिराको प्रवद्र्धन गर्नका लागि नेपाल नजान भारतीय सञ्चार माध्यमले वलिउडस्टार सलमान खानलाई दवाव दिएका छन् । भारतको चर्चित मिडिया हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डियाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले खानलाई नेपाल नआउन दवाव दिएको समाचारलाई प्राथमिकतासाथ प्रकाशित गरेका छन् ।

खानको फागुन २६ गते हुने द वङ टुर नेपाल कन्सर्ट भाड्ने घोषणा गरेको भन्दै ती मिडियाले सलमानलाई नेपालमा नजान सुझाएका हुन् ।
मंगलबार नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरी कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी दिएपछि भारतीय मिडियाले पनि सुरक्षाको कारण देखाउदै सलमान खानलाई नेपाल नजान भनेका छन् ।
आउदो २६ गते खान सहितका भारतीय कलाकारहरुले सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्दैछन् । उनको यो क्रियाकलापले नेपालको संस्कृतिमाथि हस्तक्षेप हुने कलाकर्मीको भनाई छ । बहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानी रहेको गोरखा ब्रुअरीले मदिराको बजार प्रवद्र्धनका लागि सलमानलाई नेपाल ल्याउन लागेको हो ।
नेपाली कलाकारको अवमूल्यन गरी मदिराको प्रवद्र्धन गर्न गोरखा ब्रुअरीले भारतीय कलाकार ल्याएर नेपालको संस्कृतिमाथि अतिक्रमण गरेको छ । गोरखा ब्रुअरी कर छलीको काण्डमा पर्दै आएको छ । द वाङ टुर नेपाल कार्यक्रममार्फत रक्सीको प्रवद्र्धनको लागि नेपाल आउने र प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट मूल्य राखिएको छ ।
यो कार्यक्रम ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो । खानका लागि नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात भएको र नेपाली कला संस्कृतिमा माथीको ठूलो अपमान समेत भएको बताइएको छ ।