बुटवल पावरको एफपीओमा ८ अण्डरराइटर फस्दै, ५४ करोड सकार्नुपर्ने वाध्यता

<p>काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) मा ८ वटा प्रत्याभूतिकर्ता (अण्डरराइटर) फस्ने भएका छन् । &nbsp; निष्कासन भएको मध्ये ५४ करोड रुपैयाँको एफपीओ बिक्री नभएपछि ८ वटा अण्डरराइटरले दामासाही रुपमा किन्नुपर्ने अवस्था आएको हो । मंगलबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको एफपीओ बिक्री भएको बीपीसी वित्त विभागका भाइसप्रेसिडेन्ट राधेश्याम [&hellip;]</p>

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) मा ८ वटा प्रत्याभूतिकर्ता (अण्डरराइटर) फस्ने भएका छन् ।

 

निष्कासन भएको मध्ये ५४ करोड रुपैयाँको एफपीओ बिक्री नभएपछि ८ वटा अण्डरराइटरले दामासाही रुपमा किन्नुपर्ने अवस्था आएको हो । मंगलबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको एफपीओ बिक्री भएको बीपीसी वित्त विभागका भाइसप्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए ।

एफपीओ निष्कासन मंगलबार बैंकिङ समयपछि सकिएको छ । बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो ।
बिक्री नभएको एफपीओ अण्डरराइटरले किन्ने गरी सम्झौता भएको श्रेष्ठले जानकारी दिए ।

बिक्री नभएको ५४ करोड रुपैयाँ एफपीओ ८ वटा अण्डरराइटरले किन्ने उनले स्पष्ट पारे । विकास न्युजसंग कुरा गर्दै उनले भने “उहाँहरु बाँकी एफपीओ किन्न तयार हुनुहुन्छ ।” बिक्री नभएको एफपीओ एनएमबी क्यापिटल लिमिटेड लगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्डले खरिद गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । संगठित संस्थाले पनि बीपीसीको एफपीओ खरिद गरेनन् । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो ।

बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ ।

२ वर्षपछि बीपीसीको नाफामा भारी गिरावट, लगानीकर्ताको लाभांश पनि घट्ने

आगामी सन् २०२० को जुलाईदेखि हिमाल पावर लिमिटेडले निर्माण गरेको ६० मेगावाट क्षमताको खिम्ती आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा आउनेछ । सन् २००० जुलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता छ । खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । बीपीसीको चालु आर्थिक वर्षको ६ महिनामा नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

हिमाल पावरबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेपछि नाफा बढेको हो । आधा स्वामित्व प्राधिकरणमा गएपछि ६० मेगावाटको २ वर्षपछि उसको हिमाल पावरबाट पाउने लाभांशमा भारी गिरावट आउने छ । त्यसपछि बीपीसीको अन्य आम्दानीको स्रोत बन्द भएपछि लगानीकर्ताले पाउने प्रतिफलमा पनि भारी गिरावट आउने देखिएको हो । बीपीसीले सार्वजनिक गरेको प्रक्षेपण प्रतिवेदनमा ३ वर्षपछि वित्तीय अवस्था उल्लेख गरेको छैन ।

आधा स्वामित्व हस्तान्तरणका अतिरित्त अमेरिकी डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि सोही मितिदेखि सकिने छ । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट १३ रुपैयाँमा खरिद गर्दै आएको छ । पुनः पीपीए हुने भएपछि खिम्ती आयोजनाको बिजुली सस्तो हुने छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधा÷आधा बाँडिने छ ।

विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ । खिम्ती आयोजनालाई मात्रै विद्युत प्राधिकरणले २७ लाख अमेरिकी डलर भुक्तानी गर्दे आएको छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।

Share News