काठमाडौं । करोडौं कर नर्तिने ३०१ ठेकेदार कम्पनीलाई करदाता सेवा कार्यलय बत्तिसपुतलीले १५ दिनभित्र कर तिर्न चेतावनी दिएको छ । कर तिर्न कार्यलयले पटक–पटक ‘ताकेता गर्दा पनि कम्पनीले वेवास्था गरेपछि कार्यलयले १५ दिनको अल्टिमेटम दिएको हो ।

कर तिर्न आउन कार्यलयले टेलिफोन, चिठ्ठी पठाउदा समेत कुनै प्रतिक्रिया नआएपछि अल्टिमेटम दिएको करदाता सेवा कार्यलय बत्तिसपुतलीका कर अधिकृत ढुण्डीराज दाहालले बताए ।
‘आयकर तर्फ ५० हजार र मूल्य अभिवृद्धि कर तर्फ १ लाख भन्दा बढी भनिए पनि ठेकेदार कम्पनीको बक्यौता कर करोड नागिसकेको छ, नियम अनुसार नचल्ने केहि ठेकेदार कम्पनीको खाता समेत बन्द गरिसकेका छौं,’ अधिकृत दाहालले विकासन्यूजसँग भने ।
कम्पनीहरुले २०६९/०७० देखि हालसम्म बक्यौत कर तिरेका छैनन् । यसरी नतिरेको रकममा बर्षेनी सरकारी नियम अनुसार ब्याज समेत थपिदै जाने अधिकृत दाहालले जानकारी दिए । समयसिमा दिएको मितीभित्र कम्पनीले बक्यौता कर नतिरेमा आयकर २०५८ परिच्छेद २० तथा मूल्य अभिवृद्धि कर ऐन २०५१ को दफा २१ बमोजिम कारबाहि प्रक्रिया अघि बढ्नेछ । यदि कमपनीले कर तिर्न नपर्ने भएमा सोको प्रमाणपत्र समेत कर कार्यलयमा बुझाउनु पर्नेछ ।
सुरुमा राजस्व कार्यलयले ठेकेदार कम्पनीको खाता बन्द गरेको छ । यसबाट पनि कर असुली गर्न नसकिएको खण्डमा कम्पनीको नाममा रहेका जिन्सी सामाग्री तथा जग्गा समेत लिलामी हुनेछ ।
कर नतिर्ने ठेकेदार कम्पनीहरुमा सिचौनडांफे सुनौला खिम्ती, कान्छाराम देब एण्ड सायर जेभी लगायत ३ सय १ वटा कम्पनी रहेका छन् ।
यसैगरी आन्तरिक राजस्व कार्यलय दाङले पनि बक्यौता कर नतिर्ने विभिन्न ४१ वटा ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।