काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी योेग्य पुँजी अभावका बारेमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताएका छन् । डा. खतिवडालाई बधाई दिन अर्थमन्त्रालय पुगेको नेपाल उद्योग बाणिज्य महासंघको टोलीसँग कुरा गर्दै अर्थमन्त्रीले भने–लगानी योग्य पुँजीको अभावबारे म पुर्ण जानकार छु, यसबारेमा केन्द्रिय बैंकसँग कुरा गर्छु । डा. खतिवडाले लगानी योग्य पुँजी अभावको समस्याले आफुलाई नेपाल राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म नछोडेको पनि बताए । ‘लगानी योग्य पुँजी अभावको समस्याले मलाई अर्थमन्त्रालयसम्म पछ्याईरहेको छ, गभर्नर हुँदा पनि यस्तै समस्या आएको थियो र मैले त्यसको समाधान गरेको थिएँ’, डा. खतिवडाले भने ।

उनै खतिवडाले गभर्नर हुँदा घर जग्गा कारोबारमा गरिएको अनधिकृत लगानीलाई रोकेर अर्थतन्त्रलाई जोखिमबाट जोगाएका थिए । अर्थमन्त्री खतिवडालाई नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानी योग्य पुँजी अभावको समस्या समाधानमा ठोस कदम चाल्न अनुरोध गरेका थिए ।
त्यस्तै महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि बैंकहरु नाफको पछि दौडेकाले लगानी योग्य पुँजीको अभाव भएको बताएका थिए । ‘सुर्यका अगाडी के बत्ति बालौं र ? तर पनि बैंकहरुले नाफा मात्रै हेर्दा हामी उद्योगीले ऋण पाउनै छाड्यौं, लगानी योग्य पुँजीको अभावबारे केहि कदम चालिओस’, महासंघका उपाध्यक्ष श्रेष्ठले भने । महासंघका कोषाध्यष ज्ञानेन्द्र लाल प्रधानले पनि लगानी योग्य पुँजीको अभावले जल विद्युत आयोजनाहरुका लागि लगानी जुटाउन नसकिएकोले गाँठो फुकाइदिन अनुरोध गरेका थिए ।
पुस मसान्तसम्ममा बैंकहरुको निक्षेप संकलन एक खर्ब ६० अर्ब १६ करोेडले थियो भने कर्जा लगानी २ खर्ब २२ अर्ब ६२ करोडले बढेको थियो । सो अवधीमा बैंकहरुको निक्षेप संकलन दर जम्मा १३.७ प्रतिशतले बढेको थियो । तर बैंकहरुले कर्जा लगानी भने १७.२ प्रतिशत बढाएका थिए । बैंकहरुले निक्षेपको वृद्धिदर भन्दा कर्जा लगानी बढि गरेपछि बैंकहरु थप लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । यतिबेला अधिकांश बैंकहरुको सिडी रेसियो ७८ प्रतिशत नाघिसकेको छ । हाल वित्तिय क्षेत्रमा २५ अर्बको तरलता रहेको छ ।