विज्ञ अर्थमन्त्रीका काँधमा बामपन्थी सरकारका १७ महत्वकांक्षी योजना

<p>काठमाडौं । विज्ञ अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेका डा. युवराज खतिवडाका काँधमा बामपन्थी सरकारका १७ वटा महत्वकांक्षी योजना आईपरेका छन् । मन्त्री खतिवडाले कार्यभार सम्हाल्ने वित्तिकै आफ्नो कार्ययोजना पेश गर्दा पनि बामपन्थी घोषणा पत्रमा उल्लेख गरिएका प्रतिवद्धता पुरा गर्ने बताएका थिए । खतिवडा आफैंले तयार पारेको बामपन्थी घोषणा पत्रमा २३४५ किलोमिटर लामो रेलमार्ग बनाउने उल्लेख छ [&hellip;]</p>

काठमाडौं । विज्ञ अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेका डा. युवराज खतिवडाका काँधमा बामपन्थी सरकारका १७ वटा महत्वकांक्षी योजना आईपरेका छन् ।
मन्त्री खतिवडाले कार्यभार सम्हाल्ने वित्तिकै आफ्नो कार्ययोजना पेश गर्दा पनि बामपन्थी घोषणा पत्रमा उल्लेख गरिएका प्रतिवद्धता पुरा गर्ने बताएका थिए ।

खतिवडा आफैंले तयार पारेको बामपन्थी घोषणा पत्रमा २३४५ किलोमिटर लामो रेलमार्ग बनाउने उल्लेख छ । जसमा मेची–महाकली रेलमार्ग सम्पन्न गर्नेदेखि रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग पर्छन् । त्यति मात्रै नभएर उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने योजना पनि घोषणा पत्रमा खतिवडाकै विज्ञताले समावेश गराइएको थियो । समुद्रमा नेपाली ध्वजा बाहक पानी जहाज, मासिक पाँच हजार समाजिक सुरक्षा भत्ता, तीन बर्षभित्र उपत्यकामा विद्युतिय सवारी साधन मात्रै उपयोग गर्ने कार्ययोजना लागु जस्ता महत्वकांक्षी योजना पनि अब खतिवडाकै जिम्मेवारीमा परेका छन् ।

खतिवडाले २ बर्षभित्रै भैरहवा विमानस्थल र तीन बर्ष भित्र पोखरा विमानस्थल सञ्चालन तथा पाँच बर्षभित्र निजगढ विमानस्थल निर्माण सम्पन्न गर्न ठोस योजना तथा बजेट तर्जुमा गर्नुपर्नेछ । यस्ता महत्वकांक्षी योजना कार्यान्वयनका लागि संस्थागत क्षमता अभिवृद्धिका साथै वित्तिय श्रोत उपलब्ध गराउनु पनि खतिवडाका लागि कम चुनौती पुर्ण भने छैन् । यद्यपी खतिवडाले वैदेशिक सहयोग, निजी क्षेत्रको प्रोत्साहन, राज्यको अभिभावकिय भूमिका र कडा वित्तिय अनुशासनका माध्यमबाट बामपन्थी सरकारका पुर्व घोषित प्रतिवद्धता पुरा गराउने बताएका छन् ।

कार्यभार सम्हालेपछि आयोजीत स्वागत कार्यक्रममा राजश्व सचिव राजन खनाल र अर्थ सचिव शंकर कोइरालाले जर्जर अर्थतन्त्रको फेहरिस्ता सुनाईसकेपछि आफ्ना धारणा राखेका अर्थमन्त्री खतिवडाले भनेका थिए–‘संकटका बेलामा मानिसको क्षमताको पहिचान हुन्छ, जतिसुकै समस्या आएपछि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लाग्छ, अहिले देखिएका समस्या अल्पकालिन हुन, यीनलाई दिर्घकालिन बनाउनु हुन्न ।’

यी हुन खतिवडाका काँधमा आइपुगेका १७ महत्वकांक्षी योजना
१) सरकार बनेको पहिलो बर्षमै महेन्द्र राजमार्गको समानान्तर र रसुवागढी काठमाडौं बिरगञ्ज जोड्ने ७६५ केभि क्षमताको प्रसारण लाइन निर्माण आरम्भ गर्ने ।
२) २ बर्षभित्र खाद्यान्नमा आत्म निर्भर र पाँच बर्षभित्र निर्यात गर्ने अवस्थामा पुर्याउने
३) पाँच बर्षभित्र सबै जमिनमा आधुनिक सिँचाई प्रणाली उपलब्ध गराउने ।
४) फास्ट ट्रयाक चार बर्षभित्रै बनाउने,
५) पुर्व पश्चिम राजमार्गलाई पाँच बर्षभित्रै ६ लेन बनाउने, हुलाकी राजमार्ग राजमार्गलाई ४ लेन बनाउने ।
६) मध्यपहाडी लोकमार्गलाई ५ बर्षभित्रै ४ लेन बनाउने ।
७) मेची–महाकाली रेलमार्ग पाँच बर्षभित्रै सम्पन्न गर्ने ।
८) रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने
९) काठमाडौं–बिरगञ्ज रेलमार्ग निर्माण अघि बढाउने, उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने
१०) पाँच बर्षभित्रै निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गरिसक्ने ।
११) २ बर्षभित्रै भैरहवा र ३ बर्षभित्र पोखरा विमानस्थल सञ्चालन गरिसक्ने ।
१२) समुद्रमा नेपाली ध्वजा वाहक पानी जहाज सञ्चालन ।
१३) राजश्वबाट सरकारी खर्चको ८० प्रतिशत भन्दा बढि व्यहोर्न सक्ने गरि करको दायरा र प्रशासन सुदृढ गर्ने ।
१४) २ बर्ष भित्र ७० प्रतिशत व्यवसायिक र प्राबिधिक शिक्षा दिने र ३० प्रतिशत विद्यार्थीले मात्रै गैर प्राबिधिक शिक्षा हासिल गर्ने व्यवस्था मिलाउने ।
१५) १५ बर्ष मुनिका बालबालिका र ६५ बर्षमाथीका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा ।
१६) सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याउने ।
१७) तीन बर्षभित्र काठमाडौं उपत्यकामा विद्युतिय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागु गर्ने ।

Share News