काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले फागु पर्व (होली)मा अरुको इच्छा विपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाइएको छ । परिसरले पत्रकार सम्मेलनको आयोजना गरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार पारिएको बताए ।
कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका थिए । त्यस्ता व्यक्तिलाई मुद्दा चलाउने उनको भनाइ छ । होलीमा ट्राफिक नियम उलंघन गर्ने तथा सामाजिक आचरणका विपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने उनले बताएका छन् ।
परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ ।
अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने अपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने बताइएको छ ।
राजधानीको विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा कार्यरत करिब २ सय युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परिसर प्रमुख पोखरेलको भनाइ छ । अहिलेसम्म राजधानीमा ३७२ जना अभियुक्त फरार सूचीमा रहेको जानकारी दिँदै उनीहरुको खोजी तीव्र पारिने वरिष्ठ उपरीक्षक पोखरेलले बताए । आव २०७१/७२ मा ४ हजार ७७३, आव २०७२/७३ मा ४ हजार ९०२, आव २०७३/७४ ४ हजार ५८२ र चालु आव २०७४/७५ को हालसम्म ३ हजार ३४२ मुद्धा परिसरमा दर्ता भएको जनाइएको छ । रासस