काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ७० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर खरिदका लागि कर्मचारी संचय कोषले मोलमोलाइ (बार्गिनिङ) गर्न थालेको छ ।

संचय कोषले एनसीसीको बुक भ्यालु प्रतिकित्ता १५४ रुपैयाँमा सेयर किन्ने प्रस्ताव गरेको छ । यो बुकभ्यालु गत असारसम्मको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको बुकभ्यालु बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ । बैंकले नाफा ४ सय प्रतिशत बढाएपछि बुकभ्यालु बढेको हो ।
बैंकबाट लिएको ऋण तिर्नका लागि एनबी समूहले संस्थापक सेयर बिक्री गर्न लागेको हो । बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता २१० रुपैयाँ न्युनतम मूल्य राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको थियो ।
प्रतिकित्ता २१० रुपैयाँमा ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ । संचय कोषले प्रस्ताव गरेको दरमा एनबी समूहको कर्जा तिर्नलाई रकम पुग्दैन् । एनबी समूहले हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडको नाममा लिएको ऋणको सावाँ र ब्याज गरी ९० करोड रुपैयाँ र अन्य बैंकको ६० करोड रुपैयाँ कर्जा रहेको छ ।
नागरिक लगानी कोषले बैंकको संस्थापक सेयर खरिदका लागि कुरा गरेकोमा संचय कोषले अझ घट्ने भन्दै उसलाई किन्नलाई रोकेको छ । संचय कोषले अहिले बार्गिनिङ गरेर बुकभ्यालुमै एनसीसीको संस्थापक सेयर हत्याउन लागेको हो । यसअघि संचय कोषले १५८ रुपैयाँ बुकभ्यालु भएको बैंक अफ काठमाण्डु लिमिटेडको ६२ लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता २५१ रुपैयाँमा खरिद गरेको थियो ।
तर कोषले अहिले बुकभ्यालुमा सेयर दिन माग गरिरहेको छ । आवेदन नपरेपछि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले फागुन ३० गतेसम्म संस्थापक सेयर खरिदका लागि म्याद थप गरेको छ ।एनसीसीको ५० प्रतिशत हकप्रद सेयर आउन बाँकी छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
हालसम्म व्यक्ति तथा संस्था कसैको पनि आवेदन नपरेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । संचय कोष, लगानी कोष र एक बैंककरले खरिदका लागि चासो देखाएको उनले बताए । यसअघि सीबीआईएलले संस्थापक सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ३ लाई तोकेको थियो । निर्धारित समयमा कसैको पनि खरिदका लागि आवेदन नपरेपछि म्याद थप गरिएको दाहालको भनाई छ ।
एनबी समूहले सेयर बिक्री गरेर कर्जा तिर्ने भएपछि चालु आवमा एनसीसीको नाफा बढ्नुका साथै खराब कर्जा पनि घट्ने छ । सबैभन्दा ठुलो कर्जा असुली भएपछि बैंकको नाफा बढ्ने देखिएको हो ।
यस्तै एनसीसीको नाफा ४०० प्रतिशतले बढेको छ । २०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँको भने राइट ब्याकको हिस्सा रहेको छ ।
बैंकले ६ महिनामा ५८ अर्ब निक्षेप संकलन गरेर ५१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ ।
बैंकले ३ अर्ब ९ करोड रुपैंयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ५१ करोड ब्याज खर्च गरेको देखिन्छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ ।