काठमाडौं । प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ५० करोड रुपैयाँ भन्दा बढीको थप निष्कासन (एफपीओ) किन्नु पर्ने भएको छ ।
फपीओ बिक्री खुला ३ दिनमात्र बाँकी रहदा अझै ५४ करोड रुपैयाँ बढीको बिक्री हुँन बाँकी भएपछि बाँकी हुने एफपीओ अण्डरराइटरले सकार्नुपर्ने अवस्था देखिएको हो । यद्यपी ३ दिन समय बाँकी रहेकाले सबै बिक्री हुने संभावना पनि छ ।
हालसम्म बीपीसीको १ अर्ब ५० करोड रुपैयाँको एफपीओ बिक्री भएको बीपीसी वित्त विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अझै ५४ करोड रुपैयाँको बिक्री हुन बाँकी छ ।
निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले मंगलबार बैंकिङ समयसम्म मात्र एफपीओका लागि आवेदन दिन सक्ने जानकारी दिएको छ । बिक्री नभएको एफपीओ एनएमबीलगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्ड गरी ८ संस्थाले खरिद गर्नुपर्ने छ ।
बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो ।
संगठित संस्थाले पनि बीपीसीको एफपीओ खरिद गरेनन् । सबैमा १० कित्ताको मनोवैज्ञानिक असर देखिएको एनएमबीले जनाएको छ । झण्डै ८५ हजार भन्दा बढी आवेदन परेपनि १० कित्ता मात्र पर्ने मनोवैज्ञानिक प्रभावले पर्याप्त बिक्री नभएको एनएमबीको भनाई छ ।
बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो ।
आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो ।
बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ ।
गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।