आउँदोे सिजनमा रासायनिक मलको हाहाकार हुदै, यस्तो छ कारण

<p>काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले आपूर्तिको तयारी नगर्दा आउदो सिजनमा रासायनिक मलको हाहाकार हुने भएको छ । सरकारले रासयनिक मल आपूर्तिका लागि चासो नदेखाएकोले यसको प्रत्यक्ष असर आगामी सिजनमा पर्ने भएको हो । विगतदेखि सरकारको अनुदानबाट मल खरिदबिक्री गर्दै आएको कृषि सामाग्रीले आगामी साउन भदौमा ल्याउन पर्ने मलको लागि फागुनमै टेण्डरको काम थाल्नु पर्नेमा [&hellip;]</p>

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले आपूर्तिको तयारी नगर्दा आउदो सिजनमा रासायनिक मलको हाहाकार हुने भएको छ ।
सरकारले रासयनिक मल आपूर्तिका लागि चासो नदेखाएकोले यसको प्रत्यक्ष असर आगामी सिजनमा पर्ने भएको हो ।

विगतदेखि सरकारको अनुदानबाट मल खरिदबिक्री गर्दै आएको कृषि सामाग्रीले आगामी साउन भदौमा ल्याउन पर्ने मलको लागि फागुनमै टेण्डरको काम थाल्नु पर्नेमा अहिलेसम्म यसको सुरसार नै छैन् । कम्पनीका प्रबन्धक सञ्चालक अम्मरराज खैरले कृषि विकास मन्त्रालयले मल आपूर्तिका लागि अनुदान नदिदा आपूर्तिमा ढिलाइ हुने अवस्था आएको बताए ।

‘हामीले पटक–पटक मत्रालयलमा लिखित तथा मौखिक निवेदन दिएका छौं’ उनले भने ‘यद्यपि अहिलेसम्म त्यसको सुनुवाई भएको छैन ।’ समय घर्किरहेको छ । उक्त सिजनको लागि रासायनिक मल ल्याउने÷नल्याउने टुङ्गो लागेको छैन ।  रासायनिक मल कम्पनीसम्म आइपुग्न ५/६ महिना लाग्ने गरेको उनको भनाइ छ । त्यसबीचमा सूचना प्रकाशित, टेण्डर लगायत विभिन्न लामो प्रक्रियाहरु अपनाउन पर्ने हुन्छ ।

चालु अर्थिक वर्षका लागि कम्पनीलाई प्राप्त हुनुपर्ने १ अर्ब रुपैयाँभन्दा बढी अनुदान सरकारबाट अहिलेसम्म नपाएको उनले गुनासो गरे । यो अनुदान रकम तराइका बाढी पीडितको लागि मन्त्रालयले खर्च गरेको उनको भनाइ छ ।‘दोस्रो चौमासिकमै आउन पर्ने अनुदान रकम हालसम्म आएको छैन,’ उनले भने ‘तेस्रौ चौमासिक आउने बेला भइसक्यो । यसले मल आपूर्तिमा असर गर्ने छ ।’

किसानको लागि रासायनिक मल अत्यावश्यक भएको कारण हालसम्म कम्पनीले विभिन्न बैंकहरुबाट चर्को ब्याजमा कर्जा लिएर गर्जो टादै आएको उनले सुनाए । ‘अब भने हामीलाई समस्या परिसकेको छ,’ उनले भने ‘बैंक तरलताको कारण देखाउदै कर्जा दिन मानिरहेका छैनन्,’ उनले भने ‘मन्त्रालयले दिने रकम कहिले पाउने टुङ्गो छैन । कम्पनीको ऋणमा डुब्दै गइरहेको छ ।’

कम्पनीसंग मौज्दात रहेको र भित्रिने अवस्थमा रहेको रासायनिक मलले धान रोपाईको सुरुवाती अवस्थामा पुगेता पनि गहुँलाई पुग्दैन । उक्त भित्रिदै गरेको डीएपी र युरिया मलको लागि कम्पनीले करिब ३ अर्ब रुपैयाँ जुटाउन पर्ने कम्पनीका प्रबन्धक सञ्चालक खैरले बताए । उनका अनुसार करिब ६ महिनाअघि टेण्डर गरिएका भारत, दक्षिण कोरिया, सिंगापुरका कम्पनीहरुले ८५ हजार टन युरिया मल भित्र्याउने क्रममा कलकत्तामा ल्याइपु¥याएका छन् । केही भित्रिरहेको छन् । जसमा २५ हजार टन डीएपी छ ।

कम्पनीको प्रवत्ता नारायण मरासिनीले कोलकोतामा ल्याइसकिएको उल्लेखित मलहरुमध्ये कम्पनीमा करिब १५ हजार टन डीएपी, २० हजार टन युरिया भित्रिसकेको बताए । बाँकी आउने क्रममा रहेको छ । त्योबाहेक कम्पनीको स्टकमा हालसम्म डीएपी १० हजार टन, पोटास ४ हजार टन छ । युरिया छैन ।

ती सम्पूर्ण मल आइपुगे पनि बाँकी अर्को टेण्डर नभएको खण्डमा आगामी वर्षको धानको प्रारम्भिक रोपाईसम्म रासायनिक मलले पुग्ने प्रवत्ता मरासिनीले बताए । ‘गहुँलाई पुग्दैन,’ उनले भने । उनको अनुसार युरियाले धानलाई साउनसम्म मात्र पुग्छ ।
उनको अनुसार आगमी वर्ष धान र गहुँलाई रासायनिक मल पुर्याउनका लागि कम्पनीलाई न्युनतम् पनि ३० हजार टन युरिया, २५ हजार टन डीएपी र ५ हजार टन पोटासको आवश्यकता रहेको छ ।

कृषि विकास मन्त्रलयको अनुसार अहिले मुलुकभर ५ लाख टन रासायनिक मलको माग छ । यद्यपि त्यसको करिब ५५ प्रतिशतमात्र आपूर्ति हुदै आएको छ । जस अनुसार करिब २ लाख ७० हजार टनको हाराहारीमा रासायनिक मल आयात हुने गरेको देखिन्छ । मुलुकभर करिब ३ लाख टन युरिया, १ लाख ७४ हजार टन डीएपी र २६ हजार टन पोटासको वार्षिक माग रहेको मन्त्रालयले जनाएको छ ।

Share News