काठमाडौँ । नेपालीले अब उर्जा क्षेत्रमा परनिर्भता घटाउँदै लैजाने जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले बताएका छन् । बुधबार व्यावसायीहरुसँगको भेटमा मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।
मन्त्रीसँगको भेटमा व्यावसायीहरुले संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रतिनिधिमण्डलले मन्त्री पण्डितलाई भेट गरी लघु जलविद्युत्, बायोग्यास, सौर्य विद्युत्, सौर्य तापीय ऊर्जा, बायोमास, प्रविधिबाट जनताको ऊर्जाको बढ्दो माग पूरा गराउन सम्बद्ध निकायबाट सशक्त कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकामा जोड दिएका हुन् ।
सो अवसरमा मन्त्री पण्डितले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरणका लागि नीति तथा कार्यक्रम सहज प्रक्रियाबाट कार्यान्वयन गरी वातावरणको अवस्था सुधारका लागि सरकार क्रियाशील हुने बताए ।
उनले वैकल्पिक ऊर्जाका कार्यक्रमबाट दुर्गम हिमाली, पहाडी जिल्लाका साथै तराईका बासिन्दामा ऊर्जाको पहुँच बढाउन सरकार, सहयोगी निकाय र निजी क्षेत्र एकजुट भई उर्जा क्षेत्रको परनिर्भरता घटाउने बताए ।रासस