नुवाकोटका जनता पैसामा बिक्दैनन्, २५ लाख खर्च नगरी चुनाव जित्छुः नारायण खतिवडा

<p>चुनावी तयारी कस्तो चल्दैछ ? चुनावी तयार साह्रै राम्रो छ । मुलुकका दुई वटा ठुला बामपन्थी दलहरु मिलेकोमा मतदाताहरुमा ठुलो उत्साह छ । एमाले एक्लै पनि यहाँ प्रमुख प्रतिष्पर्धी थियो । अहिले माओवादी समेत जोडिएपछि नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा हाम्रो विजय सुनिश्चित देखेका छौं । मतदाताहरुले तपाईलाई किन रोज्ने, किन मत दिने ? [&hellip;]</p>

नारायण प्रसाद खतिवडा, बाम गठबन्धनका प्रतिनिधी सभा उम्मेदवार, नुवाकोट २

चुनावी तयारी कस्तो चल्दैछ ?

चुनावी तयार साह्रै राम्रो छ । मुलुकका दुई वटा ठुला बामपन्थी दलहरु मिलेकोमा मतदाताहरुमा ठुलो उत्साह छ । एमाले एक्लै पनि यहाँ प्रमुख प्रतिष्पर्धी थियो । अहिले माओवादी समेत जोडिएपछि नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा हाम्रो विजय सुनिश्चित देखेका छौं ।

मतदाताहरुले तपाईलाई किन रोज्ने, किन मत दिने ?

हामी संयुक्त बाम घोषणा पत्र लिएर चुनावी अभियानमा जुटेका छौं । राज्यले नागरिकका अधिकार राम्रोसँग सुनिश्चित गर्न नसक्दा विकास र समृद्धिको यात्राले गति लिन सकेन । नागरिकले आफु शासक भएको अनुभूति गर्न पाएनन् । राज्यको विभेदकारी चरित्रकै कारण जनताका पक्षमा निती निर्माण भएन । त्यसैले हामी बामपन्थीहरु एक जुट भएर निर्वाचनमा होमिएका हौं ।

हामीले स्थिर सरकार, समानतासहितको समृद्धिका लागि मत मागेका छौं । हामीले विगतमा पनि जनप्रतिनीधी भएर जनताका पक्षमा धेरै काम गरेका थियौं । त्यसैले पनि मतदाताहरु बामपन्थी गठबन्धनलाई मतदान गर्न उत्साहित भएका छन् । नुवाकोटलाई स्वदेश तथा विदेशमा परिचित गराउन, विकास र समृद्धिको उचाईमा पुर्याउन पनि हामीलाई नागरिकहरुलाई मत दिनुहुनेछ । हामी स्पष्ट योजनासहित मत मागिरहेका छौं । स्थानीय तहको भन्दा पनि राम्रो मत ल्याएर नुवाकोटमा बाम गठबन्धन विजयी हुनेछ ।

जिल्लामा तपाईका चुनावी एजेण्डा के के छन् ?

म हिजो २०६४ सालमा स्थानीय निकायको निर्वाचित जन प्रतिनिधी थिएँ । त्यतिबेला मैले गरेका विकास निर्माणका कामबारे नागरिक जानकार छन् । अहिलेको निर्वाचन क्षेत्र नम्बर २ मा पहिले पनि धेरै काम गरेको छु । पहिले देखि नै जनताका सुख, दुःखमा सधै साथमै थिएँ र छुु पनि । अब कुरा रह्यो भावी विकास निर्माणका योजनाको । मुलुकलाई व्यक्तिले भन्दा पनि नीतिले अघि बढाउने हो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले अघि सारेका कुनै पनि जनपक्षिय कार्यक्रम त्यसपछिको अरु पार्टीका सरकारले खारेज गर्न सकेनन् । हामीले फेरी पनि त्यसरी नै योजना र काम गर्न चाहान्छौं ।

नुवाकोट भनेको सम्भावनै सम्भावना भएको जिल्ला हो । त्रिदेशिय राजमार्ग, जलविद्युतको ठुलो सम्भावना, कृषि र पर्यटनका थुप्रै केन्द्रहरु समेत रहेका छन् । त्रिदेशिय रेलमार्ग जोड्ने ठाउँ समेत रहेकाले पनि नुवाकोटको विकासमा हाम्रो ठुलो सपना छ । नुवाकोटे जनतालाई नुवाकोट भित्रै रोजगारी दिने हाम्रो योजना हो । आगामी पाँच बर्षभित्र हामी सबै नुवाकोटे नागरिकलाई रोजगारी दिन्छौं । नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने छौं । त्यसको आवाज उठाउने पहिलो व्यक्ति पनि मै हुँ ।

चुनाव भड्किलो र खर्चिलो भयो भन्ने आरोप छ, तपाईले कति खर्च गर्दैहुनुहुन्छ ?

म त पैसा कमाउने व्यवसाय नगरेको मान्छे परेँ । सधै भरी जिल्लामै बसेर नागरिकका सुख, दुःखमा सहभागी भएको, समाजिक काम गरेको मान्छे हुँ । निर्वाचन आयोगले प्रतिनिधी सभाका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने भनेको छ । म त त्यति पनि खर्च नगरी निर्वाचन जित्दैछु । केहि मान्छेहरु जीवनभरी ठेकेदारी गर्छन्, विदेशीको दलाली गर्छन् । उनीहरु मत खरिद बिक्रिमा लागेको भन्ने हल्ला चलेको छ । स्वाभिमानी नुवाकोटका जनता पैसामा बिक्दैनन् । नागरिकले न्यायका पक्षमा मत जाहेर गर्छन् र बामपन्थी उम्मेदवारहरुलाई भारी मतले विजयी गराएर देश बनाउने अभियानमा योगदान दिनेछन् ।

प्रतिष्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ ?

मेरा प्रतिष्पर्धीलाई जनताले सांसदका रुपमा धेरै पटक परिक्षण गरिसकेका छन् । पटक पटक मन्त्री भएका उनले नुवाकोटका लागि कुनै पनि काम गरेनन् ।

कैयौँ पटक चुनाव जितेका र कैंयौँ पटक हारेका एक जना वृद्ध मान्छे मेरो प्रतिष्पर्धामा छन् । यो देशमा नेपाली काँग्रेसको नीति नै फेल भैसकेको छ । नीति नै फेल भएको काँग्रेस पार्टीका वृद्ध नेतासँग मेरो प्रतिष्पर्धा नै हुँदैन । पटक पटक बहुमत ल्याएर पनि देश राम्रोसँग सञ्चालन गर्न नसकेको काँग्रेस र पटक पटक चुनाव जितेर पनि नुवाकोट विकासमा कुनै योगदान नदिएका नेताबाट नागरिकले यसपाली मुक्ति पाउनेछन् ।

यसपाली नुवाकोटका मतदाताले त्यस्ता उम्मेदवारहरुलाई पराजित गराउनेछन् । आफ्ना बाल बच्चाहरुको भविष्य सुनिश्चित गर्न पनि नागरिक उत्साहित भएर बाम गठबन्धनका पक्षमा अभिमत जाहेर गर्नेछन् ।

Share News