काठमाडौं । कोटेश्वरका वृद्धवृद्धाहरुले पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाललाइृ अझै राम्रो काम गर्दै जान आशिर्वाद दिएका छन् । कोटेश्वरको महादेवस्थान आसपासका मतदातासँग भेटघाट गर्दै घर दैलो कार्यक्रममा हिडेका नेता नेपाललाई वृद्ध वृद्धाहरुले जनताका पक्षमा अझै राम्रा काम गर्नु भनि आशिर्वाद दिएका हुन् ।
तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारको हर्ताकर्ताका रुपमा वृद्ध भत्ता जस्तो असल कामको सुरुवात गराएको भन्दै वृद्ध वृद्धाहरुले नेता नेपाललाई जितको शुभकामना दिँदै थप राम्रा काम गर्न सुझाव दिएका थिए । ‘मनमोहन अधिकारीको सरकारले हामीलाई वृद्ध भत्ता दियो, यस्तै राम्रा कामहरु ऋझै धेरै गर्दै जानु, तपाईलाई जितको शुभकामना छ, हामी सधै तपाईकै साथमा छौं’, नेता नेपाललाई टिका लगाएर आशिर्वाद दिँदै एक वृद्ध महिलाले भनिन् ।
नेता नेपालले पनि आफु जनताको सुख, दुःखको साथी भएको बताउँदै देशको सेवाकै लागि सम्पुर्ण जिवन बिताउन चाहेको बताए । उनको घर दैलो कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको पनि सहभागीता रहेको थियो । महानगरपालिकाको ३२ नम्बर वडाका एमाले कार्यकर्ता, सुभेच्छुकहरुको बिशाल जुलुस लिएर नेता नेपालले घर दैलो कार्यक्रम अघि बढाएका थिए ।
हजारौं मतदाताहरुलाई लिएर घर दैलो अभियानमा निस्केका नेता नेपालले आफ्नो जित सुनिश्चित भएको बताएका थिए ।