सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालको आर्थिक सामाजिक रुपान्तरणले मूर्तरुप पाउने बताएकी छिन् । ऐतिहासिक सिन्धुली गढीको २५० औँ विजय उत्सवको अवसरमा ठूलो गढीमा झण्डोत्तोलनपछि राष्ट्रपति भण्डारीले अबको प्रतिनिधिसभा र प्रदेशसभाको सफल निर्वाचनपछि आर्थिक सामाजिक रुपान्तरणले मूर्तरुप पाउने बताइन् ।
संविधानले निर्दिष्ट गरेअनुरुप संघीय संसद र प्रदेशस्तरमा निकट भविष्यमा हुन लागेको निर्वाचनमा सवैको उत्साहपूर्वक सहभागिता र सक्रिय सहयोगको आफूले अपेक्षा गरेको उनले बताइन् । निर्वाचनको सफल सञ्चालनले देशमा राजनीतिक स्थायित्व सुदृढ पार्नुका साथै आम जनताको जीवनस्तर दु्रतगतिमा अघि बढ्ने विश्वास लिएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
उनले नेपालको गौरव गाथालाई माथि उठाउन सिन्धुलीगढीले निर्वाह गरेको भूमिकालाई मध्यनजर गर्दै पुरातात्विक उत्खनन, संरक्षण, ऐतिहासिक दरवारको भग्नावशेषको संरक्षण तथा सम्वद्र्धन गरेर पूर्वाधार विकास गरी गढीको पर्यटन विकासमा यथोचित ध्यान पु¥याउनुपर्ने आवश्यकता भएको बताइन् । सिन्धुलीगढीको विकास र विस्तारका लागि महत्व दिएर विजयोत्सव आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यसको निरन्तरताका लागि राष्ट्रपति भण्डारीले शुभकामना समेत दिइन् ।
साँस्कृतिक सम्पदाको विविधताबीच एकताको सुदृढ जगमा उभिएको नेपाली समाजको प्रतिविम्ब सुन्दर सिन्धुली जिल्ला भएको पनि राष्ट्रपतिले उल्लेख गरिन् । सिन्धुली जिल्लाको मौलिक संस्कृतिको जगेर्ना गर्दै सिन्धुलीलाई आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रका रुपमा विकास गर्न सकिने राष्ट्रपतिको भनाइ थियो ।
सिन्धुलीमा कृषि व्यवसायको आधुनिकीकरण गर्दै बजार प्रवद्र्धन गर्नसके फलफूल, जडिबुटी, अम्रिसो, दुग्धजन्य पदार्थ, वेसार, अदुवालगायतका माध्यमबाट जिल्लाका नागरिकको आयस्तर माथि उकास्न मद्दत पु¥याउने राष्ट्रपति भण्डारीले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख शंकर बर्माले सिन्धुलीका सिन्धुलीगढी, हरिहरपुर गढी तथा अन्य पर्यटकीय क्षेत्रहरूको व्यवस्थापन र पुनःनिर्माणका साथै संरक्षणमा उचित ध्यान दिन आग्रह गरेका िथए ।
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको पुनःनिर्माणमा लागिपरेको बताए। आफ्नो नेतृत्वको नगरपालिकाले सिन्धुलीगढीमा जीर्ण रुपमा रहेको सिन्धुलीगढी दरबारको पुनःनिर्माण, युद्ध तथा योद्धाहरूको स्मारक, गढी क्षेत्रको जैविक विविधताको रक्षा, युद्ध संग्रहालय, अंग्रेजसँग खोसिएको तोपको पुनःस्थापना, पौवा गढीको ऐतिहासिक ढोका निर्माण, भ्यू टावर निर्माण, गढी क्षेत्रमा खानेपानीको व्यवस्था लगायत थुपै्र कार्य गर्नुपर्ने बताए ।
विश्वमा आफ्नो साम्राज्य कायम गर्दै हिँडेका अंग्रेज सेनालाई पहिलो पटक विसं १८२४ कात्तिक २४ गतेका दिन कहिल्यै नफर्कने गरी हार चखाएको स्मरणमा विगत आठ वर्षदेखि यसदिन सिन्धुलीगढीमा विजय उत्सव मनाउँदै आइएको छ ।
कप्तान किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई विसं १८२४ को मध्यमा यही स्थलमा गोर्खाली फौजले बहादुरीपूर्वक लडेर परास्त गरेका थिए । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजको नेतृत्व श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङको टोलीले अंग्रेज फौजलाई सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख भएको सिन्धुलीगढीका अन्वेषणकर्ताको भनाइ छ ।
यसैबीच, सिन्धुलीगढीको प्रचारप्रसार गर्न र संरक्षण गर्ने उद्देश्यले काठमाडाैदेखि ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको साइकलयात्रा सम्पन्न भएको छ । विश्व साइकलयात्री पुस्कर शाहको नेतृत्वमा सिन्धुलीगढीसम्मको साइकल यात्रामा सहभागी २५० जना साइकलयात्रीलाई सिन्धुलीगढीमा आज स्वागत गरियो ।
सिन्धुलीगढी विजय उत्सवको २५० वर्ष पुगेको अवसरमा २५० जनाको साइकल यात्राको आयोजना गरिएको समृद्ध सिन्धुलीका अभियन्ता लिलानाथ घिमिरेले बताए । विजय उत्सव समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी तथा जिल्लावासीको ठूलो उपस्थिति थियो । रासस