काठमाडौं । एसियाली विकास बैंक(एडिबी)ले नेपाललमा २ खर्ब ३९ अर्ब लागतका ३५ वटा परियोजनाहरुमा लगानी गरिरहेको छ । एडिबीले मंगलबार राजधानीमा आयोजना गरेको लगानी समिक्षा बैठकमा कृषि, पुर्वाधार, उर्जा लगायतका ३५ परियोजनामा २ खर्ब ३९ अर्ब(२.३ बिलियन अमेरिकी डलर) लगानी रहेको जानकारी दिएको हो ।
कार्यक्रममा एडिबीका नेपाल प्रमुख मुख्तोर खामाधानोभले एडिबीको लगानीमा नेपाल प्राथमिकतामा रहेको बताएका थिए । त्यस्तै, एडिबीका डेपुटी डिरेक्टर जनरल दिवेश शरणले एडिबीले नेपाललाई गर्ने सहयोगको मात्रा बढाउँदै लगेको र नेपालले पनि त्यसबाट लाभ लिन सक्नुपर्ने धारणा राखेका थिए ।
यी हुन सुस्त विकासका नेपाली कारण
१) आयोजनामा कार्यरत कर्मचारीहरुको सिघ्र सरुवा
२) जग्गा खरिद, वातावरणिय मूल्यांकन प्रस्ताव पारित गर्न ढिलाई
३) कमजोर कार्यान्वयन ईकाई
एडिबीले नेपालमा सञ्चालन गरिरहेका आयोजनामध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौतम वुद्ध विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम साह्रै ढिलो गतिमा अघि बढेको निष्कर्ष पनि निकालको छ । एडिबीले सन २०१७ मा आफ्नो योजनाका ४९ प्रतिशत अर्थात जम्मा ५३३ मिलियन अमेरिकी डलर बराबरको मात्रै सम्झौता सम्पन्न भएको जनाएको छ । सम्झौता भएको रकममध्ये पनि ५२ प्रतिशत अर्थात ३३९ मिलियन अमेरिकी डलर मात्रै भुक्तानी गरिएको जानकारी पनि दिएको छ ।
एडिबीले लक्ष्य अनुसारको बार्षिक प्रगति हासिल गर्न सरकार र एडिबीले संयुक्त रुपमा पहल कदमी लिनुपर्ने धारणा पनि राखेको छ । कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारीले एडिबीसँगको सहयात्राले नेपालको विकासमा नयाँ आयाम थपिरहेको बताएका थिए । उनले एडिबीको सहयोगबाट अधिकतम लाभ लिन नेपालले प्रयास गरिहेको दावी पनि गरेका थिए ।