काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले कतिवटा मत हाल्न पाउँछन भन्ने जानकारी अझैसम्म मतदातासम्म पुगिसकेको छैन। आफूलाई सचेत ठान्ने मतदाताहरु नै कति वटा मत क-कसलाई दिन पाइन्छ भन्नेबारे अन्यौलमै देखिन्छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि करोडौं रकम खर्च गरिरहेको छ यद्यपी नागरिकमा भने त्यसको खासै प्रभाव पर्न सकिरहेको छैन् ।
राजनीतिक दलहरुले पहिलो चरणमा हुने ३२ जिल्लाको निर्वाचनका लागि मनोनयन दर्ता गरेर प्रचार प्रसारलाई तीव्र बनाईरहेका छन् । दलहरुले केन्द्र र सात वटा प्रदेशको समानुपातिक तर्फको बन्द सूचि पनि पेश गरिसकेका छन् ।
कति वटा हाल्ने मत ?
निर्वाचन आयोगका सूचना अधिकृत सुर्यप्रसाद शर्माका अनुसार एक जना मतदाताले ४ वटा मत हाल्न पाउँछन् । हाल आयोगले छापिरहेको मत पत्र अनुसार प्रत्यक्षतर्फ केन्द्र र प्रदेशका उम्मेदवारलाई एउटै मतपत्रमा मतदान गर्न पाइन्छ । त्यसका लागि एउटै मतपत्रको पहिलो पृष्ठ(क) मा केन्द्रिय संसद र (ख) पृष्ठमा प्रदेश संसदलाई भोट दिन पाइन्छ ।
त्यस्तै, समानुपातिक तर्फ पनि केन्द्र र प्रदेश तर्फ एउटै मतपत्रमा दुई वटा मत दिन पाइने व्यवस्था गरिएको छ । यसमा पनि मतपत्रको पहिलो पृष्ठ (क) मा केन्द्रको समानुपातिक र पृष्ठ (ख) मा प्रदेशको समानुपातिक उम्मेदवारलाई मतदान गर्न पाइन्छ । तर सर्वाेच्च अदालतले फरक फरक मत पत्र छाप्नेबारेको प्रगति विवरण मागेपछि भने निर्वाचन आयोग पनि झस्किएको छ ।
‘अहिलेसम्म २ वटा पत्र पत्रमा ४ वटा भोट दिने गरि मत पत्र छपाईको काम अघि बढेको छ, अदालतको आदेशले यसलाई रोकेन भने नागरिकले नागरिकले प्रत्यक्ष तर्फको दुई मत एउटा मतपत्रमा र समानुपातिक तर्फको २ वटा मत अर्काे मत पत्रमा हाल्नु पर्छ’, निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद शर्माले विकासन्युजसँग भने ।
नयाँ संबिधानका अनुसार २७५सदस्यीय हुने केन्द्रिय प्रतिनिधि सभामा १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक प्रतिनिधित्वबाट चयन हुनेछन् । ५५० सदस्यीय प्रदेश सभामा भने ३३० जना प्रत्यक्ष निर्वाचन प्रणाली र २२० सदस्य समानुपातिक प्रतिनिधित्वका आधारमा चयन हुनेछन् ।