काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका तीन कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किमी सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ ।
चैतसम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।
केन्द्रका आठ प्रशोधन केन्द्रमध्ये हालसम्म तीन केन्द्र परीक्षणमा सफल भएको छ । मेलम्चीको पानी आउन सुरुङको काम डेढ किमी बाँकी भएकाले वाग्मतीको पानी लगी परीक्षण गरिएको हो । दैनिक ७ करोड लिटर वाग्मतीको पानी केन्द्रमा लगेर परीक्षण भइरहेको समितिले जनाएको छ । वाग्मतीको पानी परीक्षणपछि पुरानै सञ्जालबाट उपत्यकामा वितरण भइरहेको छ । रासस