काठमाडौं । यातायात व्यवसायीले मोलमोलाइ (बार्गेनिङ) मा लागेर दशैका लागि टिकट नखुलाएपछि सरकारले हस्तक्षेप गरेको छ ।
यातायात व्यवस्थापन विभागका महानिर्देशक र ट्राफिक प्रहरीको प्रतिनिधीसहितको अनुगमन टोलीले मंगलबार गरेको अनुगमनमा महेन्द्रनगर, बाग्लुङ, पोखरा र सल्यानका लागि टिकट बुकिङ खुलाएको छ ।

व्यवसायीले आइतबारदेखि नै बाग्लुङ, महेन्द्रनगर, पोखरा र सल्यानको लागि अग्रिम टिकट बुकिङ खुलाएको बताए । चौधरीले पूर्वका लागि टिकट बुझ्दा केहि दिन मै खुलाउने व्यवसायीले बताए । ’महासंघले त अहिले नखुलाउने भनेको छ, तपाईंहरुले त खुलाउनु भएको रहेछ ? उनले सोधेका थिए । विकासु न्यूज सँग कुरा गर्दै उनले भने, ’उनिहरुले महासंघले भन्दैमा आफ्नो लगानी खेर नफाल्ने बताए ।’
दसैंको मुखमा भाडा बढाउन यातायात व्यवसायीले अनेक प्रपञ्च गरिरहेको चौधरीले बताए । उनले भने, ’भाडा बढाउने र व्यवसायीसँग बार्गे्निङ गर्ने काम गर्दिन । बरु अनुमनलाई चुस्त राख्न प्रयत्न गर्नेछु ।’
भाडादर नबढाए टिकट बुकिङ खुल्दैन महासंघ
यातायात व्यवसायी राष्ट्रिय महासंघले भने भाडा नबढाए र छतमा झिटीगुन्टा सम्म टिकट बुकिङ नखोल्ने अडान कायम राखेका छन् । महासंघका महासचिव सरोज सिटौलाले टिकट बुकिङ खुलाएको बारे जानकारी नभएको बताएका छन् ।
उनले भने, ’हामीले भाडादर समायोजन, छतमा झिटीगुन्टा राख्ने लगायतका माग राख्दै टिकट बुकिङ नखुलाउने अडान राखेका छौं । अब जसले बुकिङ खुलाएको हो, ती आफै जिम्मेवार हुनुपर्छ ।’टिकट बुकिङ खुलाउने वा नखुलाउने विषयमा बुधबार बैठक बस्ने उनले जानकारी दिए ।
३० वटा सवारीसाधन कारबाही
मंगलबार विभागका महानिर्देशकको नेतृत्वमा यातायात व्यवस्थापन कार्यालयका प्रमुख बसन्त अधिकारी र ट्राफिक प्रहरी सहितको टोलीले रिङरोड अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा ३० वटा सवारीसाधन कारबाहीमा परेको चौधरीले जानकारी दिए । ३० वटा सवारी मध्ये कर चुक्ता नगरेको, बढी भाडा लिएको, रुट ईजाजत लिएको, सवारीसाधन सम्बन्धी कागजपत्र नभएको पाइएको र ती सबै सवारीसाधनलाई कारबाही चलाइएको उनले जानकारी दिए ।