तिमीले केवल आफ्नो मन खोलेकी थियौ,
संविधानप्रदत्त अधिकार बोलेकी थियौ,
तर बदलामा के पायौ ?
गाली, दुर्वाच्य र हप्की ।
के चाहिँ सहनुपरेन तिम्ले ?
दर्दनाक साइबर हिंसाको घाउ,
तुच्छ गाली, आक्षेप, लाञ्छना,
बाआमासँग जोडिएका अश्रवणीय वृष्टि,
आफूले कहिल्यै कसैलाई नबोलेको क्षुद्र बोली
आफ्नै लागि सुन्नुपरो, सहनुपरो ।
मलाई माफ गर नानी,
मैले तिम्रा लागि केही गर्न सकिनँ,
निर्मला पन्तसँग जोडेर तिमीलाई डर देखाउँदा पनि,
निर्मलाको दर्दनाक घटनामाथि मजाक बनाउँदा पनि,
आमा–बहिनीको गाली दिँदा पनि,
चुत्थो शब्दका वृष्टि हुँदा पनि,
‘बलात्कार त यसको पो हुनुपर्छ !’
भनेर खुलमखुल्ला भन्दा पनि,
मैले केही गर्न सकिनँ,
माफ गर नानी,
तिम्रो यो असह्य पीडामा,
तिम्रो यो दादाले तिम्रो आँसु पुछ्न सकेन,
तिम्रो अस्मितामाथि औंला उठाउने
हातहरू रोक्न सकेन ।
यद्यपि म मौन बसेको छैन नानी,
तिम्रो पक्षमा शब्दहरू उभ्याएकै हुँ मैले,
तर ती शब्दहरूले केवल मलाई होइन,
मेरो घरका कोठासम्म गालीको वृष्टि ल्याइदिए ।
हिजो महिला हिंसाको वकालत गर्नेहरू
आज तिम्रो वेदनापूर्ण घाउलाई
‘झोले हिंसा’भन्दै पीडालाई सस्तो बनाउँछन् !
हिजो निर्मला जस्ता पीडादायी, मर्माहित
घटनामा सडक तताउनेहरू,
आज बलात्कारजस्तो क्रुर पीडालाई
‘झापडजस्तै हो’ भन्दै गिज्याउँछन् !
आज उनीहरू पीडा होइन मुद्दा रोज्छन्,
शोभा पाठक मात्र देख्छन्,
बलात्कारकै भाष्य फेर्छन् !
हिजो ‘बोल्न दे सरकार’ भन्नेहरू
आज ‘किन बोल्न दिने झोलेलाई’ भन्छन् !
हिजो गलत प्रवृत्तिको विरोध गर्नेहरू नै
‘तिमुरूले गरेथ्यो, अब हामीले किन नगर्ने’ भन्छन् !
मान्छे मर्दा आँसु झार्ने आँखाहरू
आज रङ्ग, ब्राण्ड र झण्डा हेरेर मात्र रुन्छन्,
र निर्दयी हाँसोसहित भन्छन्–
‘ए, मान्छे भनेको त
झोले पो मरेको रैछ...’ !
आश्चर्य ! घोर आश्चर्य !!
यो के हो ?
मास हिप्नोटिजम् ? या मास रिफ्याक्टिब एरर् ?
या बोर्डरलाइन पर्सनालिटी डिस्अर्डर ?
सियर्ड साइकोसिस् ? या फ्यान्टिसिजम् ?
मेसियानिजम् ? या स्प्लिटिङ?/बाइनरी थिङ्किग ?
हो, सोच सबैको एउटै कहाँ हुन्छ र !
तर फरक सोचको सजाय
यतिसम्म कठोर किन हुन्छ नानी ?
गन्तव्य एकै भएता पनि बाटो फरक हुन सक्छन्,
तर बाटो फरक हुँदैमा
किन यति बिघ्न घृणाको आगो सल्किन्छ नानी ?
किन आवाजको मूल्य र
नारीको अस्मिता पनि
रङ्ग र झण्डाले नापिन्छ नानी ?
भैगो नानी, अब कसैलाई गाली नगरौं,
यो अन्धकारमा हामी प्रेमको दियो बालौं
मसँग सत्ता छैन, शक्ति छैन, पद र पैसा छैन,
तर बहिनीहरूका लागि लड्ने
दादासँग एउटा अटल साधना छ,
जुन कहिल्यै पछि हट्ने छैन ।
फेरि कुनै नेपाली चेलीले
यस्तो साइबर नर्क भोग्नु नपरोस्,
नेपाली नारीको साहस कहिल्यै कम नहोस् ।
माफ गरिदेऊ अमिशा नानी,
तिम्रो दादाले तिम्रो लागि
केही गर्न सकेन,
मलाई माफ गर ....