पर्यटनको सिजनमै ५० प्रतिशत बुकिङ रद्द, सातामा दुई दिन बिदा दिन सुझाव

अहिले पर्यटकहरूलाई चीन र भारत हुँदै काठमाडौं मार्ग प्रयोग गरेर ल्याउने प्रयास भइरहेको छ ।

काठमाडौं । मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वको प्रत्यक्ष असर नेपालका पर्यटन क्षेत्रमा देखिन थालेको छ । द्वन्द्वकै कारण वर्षकै मुख्य ट्रेकिङ सिजनमा करिब ५० प्रतिशतसम्म टिकट तथा ट्रेकिङ बुकिङ रद्द भएको व्यवसायीहरू बताउँछन् ।

पर्यटन व्यवसायीहरूका अनुसार चैत- बैशाखमा पर्ने बसन्तकालीन सिजनमा नेपाल आउने पर्यटकको संख्या उच्च हुने भए पनि यस वर्ष भने अपेक्षाअनुसार आगमन हुन सकेको छैन । विशेषगरी युरोप, अमेरिका तथा अन्य मुलुकबाट आउने पर्यटकहरू मध्यपूर्वका ट्रान्जिट हब हुँदै नेपाल आउने भएकाले त्यहाँको अस्थिरताले प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ ।

पर्यटन व्यवसायीहरूका अनुसार हवाई उडानमा अवरोध, फ्लाइट रद्द बढ्नुका साथै यात्रुहरूमा असुरक्षाको भावना बढ्दा धेरैले बुकिङ गरिसकेको टिकट रद्द गरेका छन् । पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरूका अनुसार दैनिक पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ । कोभिड–१९ पछि विस्तारै सुधारोन्मुख अवस्थामा रहेको पर्यटन क्षेत्र फेरि अनिश्चिततामा धकेलिएको उनीहरूको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पुगेको छ । शेर्पाले भने, ‘यो अवस्था कोभिडको समयजस्तो पूर्ण रूपमा ठप्प भने छैन, तर असर परेको छ, किनभने वसन्त ऋतु पर्वतारोहणको मुख्य सिजन हो ।’ 

उनले द्वन्द्वकै कारण सामान्य पदयात्रा (ट्रेकिङ) र टुरहरूमा ५० प्रतिशतभन्दा बढी बुकिङ रद्द भइसकेको जानकारी दिए ।

शेर्पाले मुख्य रूपमा युरोप र अमेरिकाबाट आउने पर्यटकहरू प्रभावित भएको बताए । ‘यी पर्यटकहरूले मध्यपूर्वको हवाई मार्ग प्रयोग गर्नुपर्ने भएकाले उडानमा समस्या देखिएको छ,’ शेर्पा भन्छन्, ‘अमेरिकी सरकारले आफ्ना नागरिकहरूलाई युद्धको समयमा सुरक्षित नहुन सक्ने भन्दै भ्रमण नगर्न वा विदेशमा भए फर्कन सुझाव दिएको छ, यसले पनि आगमनमा कमी ल्याएको छ ।’

उनका अनुसार अप्रत्याशित परिस्थितिहरूले ट्रेकिङ कम्पनी, गाइड र होटल व्यवसायमा आर्थिक दबाब सिर्जना गरिरहेको छ । उनले वैकल्पिक मार्ग खोज्ने र सुरक्षा उपाय सुनिश्चित गर्ने पहलहरू तत्काल आवश्यक रहेको औंल्याउँछन् ।

होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले पनि मध्यपूर्वमा जारी द्वन्द्व र हवाई उडान संख्यामा आएको कमीले नेपालको पर्यटन क्षेत्र र पर्यटक आगमनमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गरे । 

‘पर्यटकहरूको संख्या घटेको छ, धेरैजसो उडानहरू वैदेशिक रोजगारमा जाने नेपालीका लागि हुने भए पनि पर्यटकहरूले अहिले वैकल्पिक मार्गहरू- भारत, थाइल्याण्ड, मलेसिया, चीन, हङकङ, कोरिया जस्ता देशमार्ग प्रयोग गरिरहेका छन्,’ अध्यक्ष शाहले भने, ‘तर टर्किश एयर जस्ता केही उडानहरूले अझै पनि नियमित रूपमा निश्चित पर्यटकहरू ल्याइरहेका छन् ।’

यस्तो परिस्थितिमा सरकारी निकाय र विदेशमा रहेका नेपाली दूतावासको भूमिका महत्त्वपूर्ण हुनुपर्ने उनले बताए । उनले भने, ‘विदेशमा रहेका ३१–३४ वटा नेपाली दूतावासहरू अझ सक्रिय हुनुपर्ने आवश्यकता छ ।’ 

शाहका अनुसार उनीहरूले नेपाल आउन चाहेका तर अन्योलमा परेका पर्यटकहरूलाई सहज रूपमा मार्गदर्शन र सहायता उपलब्ध गराउनुपर्छ । त्यसैगरी, पर्यटन बोर्डले नेपालको वर्तमान अवस्था र तयारीका बारेमा निरन्तर जानकारी गराउनुपर्ने अध्यक्ष शाहले बताए । जसले अन्तर्राष्ट्रिय जगतमा नेपालको इमेजमा विश्वास कायम राख्न सहयोग पुग्ने उनको भनाइ छ ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिजका वरिष्ठ उपाध्यक्ष सुकबहादुर लामाले हाल मध्यपूर्वमा भएको द्वन्द्वको कारण राप्टिङ व्यवसाय गम्भीर रूपमा प्रभावित भएको बताउँछन् । लामाले भने, ‘अहिले व्यवसाय एकदमै डाउन छ, राम्रोसँग चलिरहेको छैन ।’ 

र्याप्टिङमा आउने पर्यटकहरू प्रायः आन्तरिकभन्दा बाह्य पर्यटक नै हुने भएकाले उनीहरूको संख्या घट्दा सिधै असर परेको उनको भनाइ छ ।

उनका अनुसार यसअघि गत भदौमा देखिएको ‘जेनजी आन्दोलन’ का कारण पनि ठूलो संख्यामा बुकिङ रद्द भएका थिए । ‘त्यसको प्रभावबाट उकासिन नपाउँदै अहिले मध्यपूर्व द्वन्द्वका कारण फेरि पर्यटक आगमन घटेको छ,’ उनले भने । 

‘पर्यटकको संख्या घटेपछि र्याफ्टिङमा पनि असर परेको छ । अहिले फाट्टफुट्ट—एउटा–दुईटा समूह मात्र आइरहेका छन्, ’ लामाले थपे ।

उनका अनुसार अहिले राप्टिङको मुख्य सिजन सुरु भइसकेको भए पनि अपेक्षाअनुसार व्यवसाय हुन सकेको छैन । पिक सिजनमा पनि व्यवसाय डाउन हुँदा यो व्यवसायमा आबद्ध सबै व्यवसायीहरू चिन्तित रहेको उनले जानकारी दिए ।

आरोहणमा न्यून असर

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वले पदयात्रा (ट्रेकिङ) र टुर क्षेत्रमा ठूलो असर पारे पनि हिमाल आरोहण (एक्स्पिडिसन) मा भने खासै प्रभाव परेको छैन । 

शेर्पाले भने, ‘पदयात्राको तुलनामा हिमाल आरोहणमा आउने पर्यटकहरू लामो समय (करिब तीन महिना) नेपाल बस्ने गर्छन् र उनीहरूले ५० देखि ६० हजार डलरसम्म खर्च गर्छन्, त्यसैले उनीहरूले अन्तिम समयमा कार्यक्रम रद्द गर्दैनन् ।’

उनका अनुसार पर्वतारोहण धेरैका लागि जीवनमा एकपटक पूरा गर्ने सपना हुने भएकाले पनि बुकिङ रद्द हुने सम्भावना कम हुन्छ । ‘धेरैले एजेन्टलाई अग्रिम भुक्तानी गरिसकेका हुन्छन्, त्यसैले उनीहरू आउने नै गर्छन्,’ उनले भने । 

तर, समग्र पर्यटन गतिविधिमा भने उल्लेखनीय गिरावट देखिएको उनले बताए । ‘मुख्य सिजनमै पनि पोखरा र चितवनजस्ता प्रमुख पर्यटकीय गन्तव्यहरू लगभग खालीजस्तै छन्,’ उनले उल्लेख गरे ।

शेर्पाका अनुसार मुस्ताङ, अन्नपूर्ण, लुम्बिनी जाने पर्यटकहरूको संख्या घटेको छ भने धार्मिक तथा लक्जरियस टुरमा समेत व्यापक कमी आएको छ । ‘आरोहणमा आउने पर्यटकहरू प्रायः हिमालको आधार शिविर क्षेत्रमा नै व्यस्त हुने भएकाले उनीहरूले पोखरा वा चितवनजस्ता सहरको पर्यटन व्यवसायमा खासै योगदान पु¥याउँदैनन्,’ उनले थपे ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले युरोप र अमेरिकाबाट आउने अधिकांश पर्यटकहरू मध्यपूर्व भएर आउने भएकाले यसले पर्यटनमा लगभग सतप्रतिशत असर पारेको बताएका छन् । उनका अनुसार अहिले पर्यटकहरूलाई चीन र भारत हुँदै काठमाडौं मार्ग प्रयोग गरेर ल्याउने प्रयास भइरहेको छ । तर, यी वैकल्पिक मार्गहरू प्रयोग गर्दा हवाई भाडा महँगो भएको छ, जसका कारण मार्च महिनामा केही गिरावट देखिएको छ,’ उनले बताए ।

ऐरले आन्तरिक राजनीतिक गतिविधिजस्तै निर्वाचनका कारण पनि सामान्य पर्यटक आगमनमा केही कमी आएको जानकारी दिए । तर साहसिक पर्यटनमा भने प्रभाव कम देखिएको उनले बताए । 

‘पर्वतारोहण र र्याफ्टिङजस्ता गतिविधिमा आउने पर्यटकहरू रोकिएका छैनन्, उदाहरणका रूपमा सेती र कर्णालीमा भइरहेको अन्तर्राष्ट्रिय एङ्कलिङ महोत्सव । यसमा २० जना विदेशी सहभागी भइसकेका छन्,’ उनले उल्लेख गरे । 

ऐरले आगामी रणनीतिमा परिवर्तन आवश्यक रहेको औंल्याए । ‘अब हाम्रो ध्यान छिमेकी राष्ट्रहरू भारत र चीनतर्फ बढी केन्द्रित हुनुपर्ने देखिन्छ,’ उनले भने ।

पूर्वमा सेल्स मिसन सञ्चालन गर्ने र क्षेत्रीय बजारमा ध्यान दिने योजना रहेको उनले जानकारी दिए । मार्च महिनामा कक्षा १० र १२ को परीक्षाका कारण पर्यटक आगमन केही सुस्त भए पनि अप्रिलदेखि भारतीय पर्यटकहरूको संख्या बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

दुई दिन बिदाको प्रस्ताव

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका कारण महँगी बढेको छ, जसले गर्दा ट्राभलिङ क्षेत्रमा ठुलो असर परेको छ । इन्धनको खपत घटाउन र आन्तरिक पर्यटनलाई बढावा दिन सरकारले हप्तामा दुई दिन बिदा दिनुपर्ने वरिष्ठ निर्देशक ऐरले सरकारलाई सुझाव दिएका छन् । श्रीलंका र भारतजस्ता देशहरूले पनि यस्तो अभ्यास गरिसकेका उदाहरण दिँदै सरकारले पनि यो कदम चाल्नुपर्ने उनले बताए ।
 
दुई दिन बिदा दिँदा मानिसहरू बाहिर निस्कने र खर्च गर्ने हुँदा त्यसबाट उठ्ने भ्याटमार्फत पैसा अन्ततः सरकारकै ढुकुटीमा जाने उनको तर्क छ ।

नयाँ सरकार गठनसँगै अवस्था र मौसम राम्रो हुँदै गएकाले आगामी दिनमा पर्यटन क्षेत्र फेरि लयमा फर्किने विश्वास व्यवसायीहरूले गरेका छन् ।

Share News