काठमाडौं । ओमदेवी मल्ल राष्ट्रिय सहकारी महासंघ लिमिटेडमा अध्यक्ष बन्दा धेरैले उनको प्रशंसा गरे । महासंघको करिब तीन दशकको अवधिमा पहिलो महिला अध्यक्ष बनेको भन्दै उनलाई बधाई र शुभकामना दिन आउने सहकारी अभियानकर्मीहरुको महासंघमा भीड लाग्यो ।
२०८० पुस महिनामा महासंघको अध्यक्ष बन्दै गर्दा उनीमाथि ठूलो आशा र अपेक्षा गरिएको थियो । अवसरसँगै चुनौतीका चाङ पनि प्रशस्त थिए उनीमाथि । उनलाई बधाई र शुभकामना दिनेहरुसँग केही शंका र जिज्ञासाहरु पनि थिए– नेकपा एमालेको भातृ संस्थाझै व्यवहार र कार्यशैली गर्ने महासंघलाई उनले कसरी अगाडि बढाउलिन् ? उसो त उनी पनि एमाले निकट नेतृ भएकोले धेरैले उनलाई काम गर्न असहज नहुने तर्क पनि गरिरहेका थिए ।
अर्को ठूलो आशंका थियो- व्यवस्थापन समूहसँगको समन्वय । महासंघमा लामो समयदेखि महाप्रबन्धकको रुपमा कार्यरत थिइन् चित्रा कुमारी थाम्सुहाङ सुब्बा । यता सञ्चालक समितिको नेतृत्व पनि महिला र उता व्यवस्थापन समितिको नेतृत्व पनि महिला । महिला-महिलाबीचको समन्वय कस्तो र कसरी हुन्छ भन्ने चासो धेरैको थियो ।
विडम्बना, चित्रा कुमारीले बीचमै महासंघ छोड्नु पर्यो ओमदेखि अध्यक्ष बनेको एक वर्षमै चित्रा कुमारीले महाप्रबन्धकबाट राजीनामा दिइन् । अध्यक्ष र महाप्रबन्धक बीचको समन्वय प्रभावकारी रुपमा नभएको र एकले अर्कालाई असहयोग गरेकै कारण उनी बाहिरिनु परेको चर्चा महासंघ र समग्र अभियानभित्र भएको थियो ।
चित्रा कुमारीले महाप्रबन्धक पद छोडेको एक वर्षमै ओमदेवीले अध्यक्ष पद छाडेकी छन् । अस्वस्थताको कारण देखाउँदै विगत ६ महिनादेखि अमेरिकामा रहेकी मल्लले पदबाट राजीनामा दिएपछि अहिले यो विषयमा सहकारी अभियान र सहकारीका स्टेक होल्डरबीच चौतर्फी बहस र तरंग सिर्जना भइरहेको छ ।
उनले आफू अस्वस्थ रहेको र विगत ६ महिनादेखि अमेरिकामा रहेको उल्लेख गर्दै यो बीचमा नेपाल फर्किने सोच भए पनि स्वास्थ्य अवस्था र सञ्चालक समितिको असहयोगले त्यो सम्भव नभएको राजीनामा पत्रमा उल्लेख गरेकी छन् । उनले पार्टी नेतृत्व र सञ्चालक समितिले राजीनामा दिन गरेको दबाबकै कारण आफू अप्रत्यासित बाहिरिनु परेको दुःखेसो राजीनामा पत्रमा पोखेकी छन् ।
मल्लले महासंघकै सञ्चालकहरूले काम गर्न साथ नदिएको, हरेक निर्णयहरू पार्टीकै हितमा गर्नुपर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण नबनेपछि राजीनामा दिएको संघीन आरोप छोडेर महासंघबाट बिदा भएकी छन् ।
राजीनामामा पत्रमा उनले लेखेकी छन् ‘अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रूपमा सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भए पनि महासंघका हरेक बैठक पूर्व अनिवार्य रूपमा पार्टीको विभागीय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरू पार्टी हित अनुकूल हुनुपर्ने जस्ता दबाबको कारण मैले स्वःस्फूर्त रूपमा योजनाअनुसार काम गर्न सकिनँ ।’
मल्लले पत्रमा महाप्रबन्धक नियुक्तिदेखि अन्य कार्यालयका महत्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसाबले काम गर्ने वातावरण नबनेको गुनासो व्यक्त गरेकी छन् । उनले पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएको राजीनामा पत्रमा लेखेकी छन् ।
‘महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरें । एउटै पार्टीका साथीहरू रहेको बोर्डबाट पनि असहयोग भयो । आफ्नै साथीहरूको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएँ,’ राजीनामा पत्रमा ओमदेवीले आफ्नो दुःखेसो पोखेकी छन् ।
राजीनामा पत्रसँगै उनले उल्लेख गरेका महत्वपूर्ण आरोपसहितका विषयहरूले महासंघभित्र मात्र नभई अभियानमै ठूलो प्रश्न खडा गरेको छ । विगतमा राजनीतिक भातृ संस्थाको छवि बनाएको महासंघलाई आफ्नै अध्यक्षको संघीन आरोपले संस्थालाई थप धुमिल बनाएको छ । सिंगो महासंघको नेतृत्वमाथि थप प्रश्नहरु तेर्सिएका छन् ।
लामो समय महासंघमा रहेर काम गरेकी पूर्व महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले पत्रमा उल्लेख गरेजस्तो महासंघभित्र कामै गर्ने वातावरण नभएको भन्ने कुरा सत्य हुन नसक्ने बताइन् ।
पूर्व महाप्रबन्धक सुब्बाले मल्लले आफूले काम गर्न नसकेपछि राजीनामा दिएर अर्कालाई दोष दिने काम मात्रै गरेको आरोप लगाइन् । साथै उनका अनुसार मल्लले अध्यक्ष भइसकेपछि राम्रो नेतृत्व निभाउन नसकेको बताइन् ।
‘उहाँले सुरुदेखि नै कसरी जाने, कसरी नेतृत्व गर्ने भन्ने कुरा नै जान्नु भएन, त्यसैले गर्दा अहिले समस्या आयो,’ उनले भनिन्, ‘काम गर्न नसकेकै अवस्थाका बीचमा उहाँ अमेरिका जानुभयो, उतैबाट राजीनामा दिनुभयो ।’
नेतृत्वमा पुगेको महिलाले बीचैमा राजीनामा दिने विषय सुखद नभएको उनले बताइन् । ‘महिलाले नेतृत्व गरेको संस्थामा यस्तो हुनु राम्रो कुरा होइन । तर, उहाँले जसरी जुन कुरा उल्लेख गरेर राजीनामा दिनु भयो, त्यो चाहीँ सत्य होइन,’ आफ्नो विगतको अनुभव स्मरण गर्दै उनले भनिन् ।
सुब्बाका अनुसार अध्यक्षले गरेको निर्णयमा अरूले असहमति जनाउने अभ्यास महासंघभित्र खासै छैन । असहमति हुने कुरामा पनि कसरी सबैको सहमतिमा मिलाएर जाने हो भन्ने भूमिका अध्यक्षकै हातमा हुने बुझाइ उनको छ ।
महासंघभित्र पनि पार्टीका समर्थक तथा शुभेच्छुकलाई सचेत गराउन नसक्नु पनि मल्लकै कमजोरी रहेको सुब्बाले स्पष्ट पारिन् । व्यवस्थापन समितिसँग मिलाएर काम गरेको भए यो अवस्था नै नआउने उनको तर्क छ ।
मल्ल अमेरिका गएदेखि नै महासंघमा कार्यवाहक अध्यक्षका रुपमा वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले जिम्मेवारी सम्हालिरहेका छन् । पोखरेलले आफूले नेतृत्व सम्हालेसँगै महासंघका नियमित रुपमा हुने कुनै पनि गतिविधिहरू प्रभावित नभएको बताएका छन् ।
पोखरेलले पनि अध्यक्ष मल्लले पत्रमा उल्लेख गरेअनुसार महासंघभित्र काम गर्न दबाब नभएको बताएका छन् । मल्लले ६ महिना अगाडि नै अस्वस्थ भएको कारण आफूलाई जिम्मेवारी सुम्पिएर अमेरिका पुगेको उल्लेख गर्दै संस्थागत कारण भन्दा पनि व्यक्तिगत कारणले राजीनामा दिएको उनको भनाइ छ ।
पोखरेलका अनुसार महासंघले आन्तरिक चुनौतीबीच पनि आफ्ना कार्यक्रमहरूलाई निरन्तरता दिँदै सहकारी क्षेत्रको सुदृढीकरणमा ध्यान केन्द्रित गरिरहेको छ ।
मल्लले राजीना पत्रमा उल्लेख गरेको आरोपका विषयमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्सकुन) का अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि चिन्तित छन् । उनले यसलाई महासंघको अध्यक्षले समझदारी पूर्वक नयाँ नेतृत्वलाई हस्तान्तरण गरेको बुझेका छन् ।
उनले सहकारीभित्र राजनीतिक गन्ध आउन नहुने र कुनै राजनीतिक दलको दम्भ प्रस्तुत गर्न नहुने कुरामा जोड दिए । राजनीतिलाई संस्थाको नीति र कर्म बलियो बनाउन ‘साधक’ को रूपमा मात्र प्रयोग गर्नुपर्ने र पदको मर्यादा र धर्मलाई सम्मान गर्दै काम गर्नुपर्ने उनको सुझाव छ ।
कतिपय सहकारी अभियानकर्मीहरुले भने मल्लको राजीनामालाई राजनीतिक र व्यक्तिगत बठ्याईंका रुपमा लिएका छन् । अहिले महासंघका बहुसंख्यक सञ्चालक नेकपा एमाले निकट छन् । उसो त मल्ल पनि एमाले निकट नै हुन् ।
प्रतिनिधिसभाको निर्वाचनमा एमालेले नराम्रो पराजय भोगेपछि त्यसको प्रभाव सहकारी क्षेत्रमा पनि परेको छ । निर्वाचनमार्फत करिब दुई तिहाई जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको तयारी गरिरहेको छ । रास्वपाले आफ्नो वाचापत्रमा १०० दिनभित्र सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने र एक हजार दिनभित्र सहकारी क्षेत्रको समस्या समाधान गर्ने घोषणा गरेको छ ।
अब रास्वपाको सरकार बन्ने भएसँगै सहकारीका सञ्चालकहरुमा ठूलो तरंग सिर्जना भएको छ । विगतमा पार्टीकै संरक्षणमा उन्मुक्ति पाएका केही सहकारी सञ्चालकहरु अब कानुनी कठघरामा आउने निश्चित भएको सन्देश सहकारी अभियानकर्मीमाझ पुगिसकेको छ ।
यही समयमा महासंघको नेतृत्वमा बस्दा धेरै कानुनी अल्झन तथा धेरैसँग समन्वय गर्नुपर्ने दबाब हुन सक्ने आँकलन गर्दै मल्लले सरकार बन्नु अगावै राजीनामा दिएर स्वतन्त्र ढंगले बस्ने योजना बनाएको हुन सक्ने महासंघका एक सञ्चालकले बताए । ती सञ्चालकले विकासन्युजसँग भने, ‘महासंघको अध्यक्ष भइसकेपछि नयाँ सरकारसँग सहकारी सञ्चालकको तर्फबाट लबिङ गर्नुपर्ने हुन्छ । नैतिक रुपमा ठूलो संकट सिर्जना हुन्छ, त्यो सबै चुनौतीहरुबाट छुटकारा पाउन उहाँले अहिले नै बाटो ‘क्लियर’ गरेको हुन सक्छ, यसलाई व्यक्तिगत बठ्याईंको रुपमा बुझ्न सकिन्छ ।’
सम्बन्धित सामग्री : अमेरिकाबाट अध्यक्षको राजीनामा, पार्टी र सञ्चालकमाथि संघीन आरोप