संसदीय दलको नेता बन्न कांग्रेसभित्र शक्ति संघर्ष सुरु, यी हुन् थापा र देउवा पक्षले रोजेका सांसद

केसी र आङदम्बेबीच प्रतिस्पर्धा

काठमाडाैं । नेपाली कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेताका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । पछिल्लो राजनीतिक समीकरणअनुसार पार्टीभित्रका दुई प्रमुख धारहरु सभापति गगन थापा पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबीच नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । दुवै पक्षले आ–आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरिरहँदा केही सांसदहरू भने मौन रहेका छन् । जसका कारण संसदीय दलको नेता चयन प्रक्रिया रोचक मात्र नभई तटस्थ सांसदहरू निर्णायक बन्ने देखिन्छ ।

दुई हेभिवेटको चर्चा

सभापति थापा पक्षले पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीलाई संसदीय दलको नेतामा अघि सार्ने तयारी गरेको छ । लामो समयदेखि पार्टीभित्र संगठनात्मक पकड बनाएका केसीलाई अनुभवी र सन्तुलित नेताका रूपमा हेरिन्छ । उनी पार्टीभित्र मध्यमार्गी छवि भएका नेता मानिन्छन् । केसीले विभिन्न गुटबीच समन्वय गर्न सक्ने क्षमताका कारण उनी थापा पक्षको रोजाइमा परेका हुन् ।

देउवा पक्षले निवर्तमान सहमहामन्त्री भिष्मराज आङदम्बेलाई अगाडि सार्ने तयारी गरेको देउवा निकट एक नेताले जानकारी दिए । आङदम्वे पार्टीभित्र संगठन निर्माण र क्षेत्रीय सन्तुलनका हिसाबले प्रभावशाली मानिन्छन् । विशेषगरी पूर्वी नेपालमा प्रभाव बलियो रहेका उनलाई देउवा र कोइराला धारको समर्थन प्राप्त हुने नेताहरुले बताएका छन् ।

किन महत्वपूर्ण छ संसदीय दलको नेता ?

प्रतिनिधिसभामा नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने स्पष्ट भइसकेको छ । त्यसैले संसदीय दलको नेता स्वतः मुख्य विपक्षी दलको नेता बन्नेछन् । संसदीय अभ्यासमा मुख्य विपक्षी दलको नेतालाई छाया प्रधानमन्त्रीका रूपमा पनि हेरिन्छ । जसले सरकारका गतिविधिमाथि निगरानी राख्ने, वैकल्पिक नीति प्रस्तुत गर्ने र संसदभित्र सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी वहन गर्नु पर्दछ ।

यस कारण पनि संसदीय दलको नेता चयन केवल आन्तरिक पद बाँडफाँड नभई कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारणसँग जोडिएको विषय बनेको छ ।

हाल कांग्रेससँग प्रतिनिधिसभामा कुल ३८ सांसद छन् । कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सदस्यलाई प्रतिनिधि सभामा पठाउन सफल भएको छ । यिनै सांसदहरूको समर्थनका आधारमा संसदीय दलको नेता चयन हुनेछ ।

कांग्रेस नेताहरुले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूबीचको प्रारम्भिक विभाजनमा थापा पक्षमा ८ जना सांसद देखिएका छन् । देउवा पक्षमा ५ जना सांसद रहेको एक देउवा पक्षिय नेताले बताए । ती नेताका अनुसार अनिर्णीत र पर्ख र हेरको अवस्थामा २ जना सांसद रहेका छन् ।

मोहन आचार्य र गगन थापाबीचको व्यक्तिगत सम्बन्ध पनि पछिल्लो समीकरणमा महत्वपूर्ण बन्ने देखिएको छ । दुवै जना सिद्धार्थ बनस्थली विद्यालयका पूर्व विद्यार्थी भएकाले आचार्य थापा पक्षतर्फ झुक्न सक्ने आँकलन देउवा निकट नेताहरूले गरेका छन् । आचार्य यसअघि देउवाको पक्षमा थिए । त्यसैगरी मुस्ताङका योगेश गौचन पनि देउवा समूहबाट टाढिने संकेत देखाएको स्रोतहरूको दाबी छ । यसरी हेर्दा थापाको पक्षमा १० जना सांसद रहेको देखिन्छ ।

पाल्पाका सन्दिप राना र तेह्रथुमका सन्तोष सुब्बा अझै खुलेका छैनन् । यी दुवै सांसदले अन्तिम समयमा निर्णय गर्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

समानुपातिकतर्फ भने देउवा समूह बलियो देखिएको छ । देउवा निकट नेताहरूका अनुसार समानुपातिकतर्फ १२ जना सांसद उनीहरूको पक्षमा छन् । बाँकी ७ जना सांसद थापा पक्षतर्फ झुक्न सक्ने अनुमान गरिएको देउवा निकट एक नेताले बताए । एकजना सांसद कतै नखुलेको एक नेताले बताए ।

यदि यो दाबी सही ठहरियो भने देउवा पक्षमा ५ प्रत्यक्ष र १२ समानुपातिक गरी . १७ सांसद रहनेछन् । यस्तै, थापा पक्षमा १० प्रत्यक्ष ं७ समानुपातिक सहित १७ सांसद रहनेछन् । तीन जना अनिर्णीत सांसद रहनेछन् । 

संसदिय दलमा निर्वाचन भयो भने यिनै अनिर्णीत समूहको भूमिका यहाँ निर्णायक बन्ने देखिन्छ । 

क्रस सपोर्टको सम्भावना

कांग्रेसको राजनीतिक वृत्तमा अर्को रोचक सम्भावना पनि चर्चामा रहेको छ । सभापति थापा निकट एक नेता भन्छन्, ‘थापाले नै भिष्मराज आङदम्वेलाई समर्थन गरे भने पनि अनौठौ नमान्दा हुन्छ ।’ थापा निकट केही नेताहरूका अनुसार पार्टीभित्र नयाँ सन्देश दिन र गुटीय राजनीति कमजोर बनाउन यस्तो क्रस सपोर्ट पनि सम्भव छ ।

‘यदि यस्तो भयो भने समीकरण एकाएक बदलिन सक्छ । यसले पार्टीभित्र नयाँ शक्ति सन्तुलन सिर्जना गर्न सक्छ,’ ती नेताले भने ।

उसो त कांग्रेस सभापति थापाले सभापति पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनले राजीनामा दिएको चर्चा भए पनि आधिकारिक पत्र भने बाहिरिएको छैन । कांग्रेसकै कतिपय नेताले उनको राजीनामालाई संशय र मिडिया ट्रायलको रुपमा पनि बुझेका छन् । 

Share News