किशुनजीको त्यो राजीनामा, कारुणिक दृष्यसहित संसदमा थियो ‘पिन ड्रप साइलेन्स’

भट्टराई प्रधानमन्त्री बनेको १० महिना नपुग्दै आफ्नै पार्टीका ६९ जना सांसदले उनीमाथि अविश्वासको प्रस्ताव ल्याएका थिए ।

चैत्र ३ नेपालको संसदीय इतिहासमा एउटा विशेष दिनका रूपमा दर्ज छ । २०५६ सालको आजको दिन संसदमा कारुणिक दृष्यसहित सन्नाटा छाएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्तव्यले सहभागीहरूका आँखा रसाएका थिए । प्रधानमन्त्री भएको वर्ष दिन नपुग्दै आफ्नै पार्टीको अविश्वास प्रस्तावका कारण उनले संसदमा मार्मिक सम्बोधन गर्दै राजीनामा दिएका थिए । खचाखच भरिएको हलले सास रोकेजस्तो संसदमा ‘पिन ड्रप साइलेन्स’ थियो । 

संसदीय व्यवस्था पुनःस्थापनाको आधा दशक पनि नपुग्दै २०५१ को मध्यावधि निर्वाचनपछि संसदीय व्यवस्था बदनाम भएको थियो । जनतामा नेताहरूको छवि नराम्ररी खस्किएको थियो । त्रिशंकु संसदका कारण छ महिनामा सरकार परिवर्तन हुनु, सांसदलाई भन्सार छुटमा पजेरो, प्राडोजस्ता विलासी मोटर दिनु, सांसदहरूको किनबेच हुनु, सांसदहरूलाई होटलमा थुन्नु, अश्लील सिनेमा देखाउनु, सांसदहरूलाई सुरासुन्दरीको व्यवस्था गर्नु जस्ता क्रियाकलापले संसदीय व्यवस्था र नेताहरूको बदनाम भएको थियो । मध्यावधिपछि पाँच वर्षमा ६ वटा सरकार बने । छैटौं सरकारका प्रधानमन्त्री नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला थिए । माओवादी झन्झन् द्वन्द्व चर्किँदै गएको थियो । सुरक्षा संवेदनशीलताका कारण २०५६ वैशाख २० र जेठ २० गरी दुई चरणमा निर्वाचन तोकिएको थियो । 

सत्ताको नेतृत्व गरिरहेको कांग्रेस आन्तरिक द्वन्द्वमा फसेको थियो । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सद्भावना पार्टी पनि फुटेर कमजोर अवस्थामा थिए । बहुमत प्राप्त दल कांग्रेसमा नेताहरूकै विग्रहले मुलुक ५१ को मध्यावधिमा गएको थियो र कांग्रेस हार्नुको कारण पनि कांग्रेस नै थियो । छत्तीसे र चौहत्तरेको विभाजित कांग्रेस नेताहरू आफू जित्नेभन्दा पनि एकले अर्कालाई हराउने होडमा थिए । 

यस्तो अन्यौलका बीचमा पनि कांग्रेसका दोस्रो पुस्ताका नेताहरू एकताको सुत्र खोजिरहेका थिए । यसैबेला कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाले प्रधानमन्त्री कोइरालासमक्ष सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’लाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने प्रस्ताव राखे । यसबारे पत्रकार तथा लेखक रामकृष्ण भण्डारीले आफ्नो पुस्तक ‘सत्ता संघर्ष’मा लेखेका छन्, बाँस्तोलाले कोइरालालाई भने, ‘तपाईं मान्नुहुन्छ भने मसँग अचुक उपाय छ ।’ कोइराला हौसिए, ‘के हो उपाय ?’ बाँस्तोलाले सुझाए, ‘किसुनजीलाई कांग्रेसको प्रधानमन्त्री घोषणा गरेर जाऊँ । कांग्रेस एकढिक्का हुन्छ । कम्युनिस्ट विभाजित छन्, कांग्रेसको बहुमत आउँछ ।’ 

कांग्रेसको आन्तरिक राजनीतिलाई नजिकबाट नियाल्ने लेखक तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. जगत नेपालका अनुसार त्यसपछि कोइरालाले निर्वाचनअघि जनकपुरमा आयोजित आमसभाबाट किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरे । अनि चुनावको मुखमा कांग्रेसको विवाद अन्त्य भयो । पुस १८, २०५६ मा कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा भट्टराईले भनेका थिए, ‘म एक पटक निर्वाचित प्रधानमन्त्री हुन चाहन्छु । निर्वाचन पूर्व नै प्रधानमन्त्री कोइरालाले मलाई भावी प्रधानमन्त्री मनोनीत गर्नु भएको छ ।’ 

त्यतिञ्जेल कोइराला चुनावी दौडाहामा लागिसकेका थिए । लेखक नेपालका अनुसार जनकपुरको बाह्र बिगाहमा आयोजित पहिलो आमसभामा उनले भनिदिए ‘नेपाली कांग्रेसका तर्फबाट अबको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुने छ ।’ 

यसरी २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा भट्टराईलाई अघि सारेर भोट मागेको थियो । प्रतिनिधि सभाका २०५ मध्ये १११ सिटमा जितेर कांग्रेसले स्पष्ट वहुमत पाएको थियो । भट्टराईले ‘पर्सा क्षेत्र नं १ बाट जितेर दोस्रोपल्ट प्रधानमन्त्री भए । निर्वाचन जितेपछि सभापति कोइरालाकै प्रस्तावमा किसुनजी सर्वसम्मत संसदीय दलको नेता चुनिए । उनी दोस्रोपल्ट देशको प्रधानमन्त्री बने । 

‘जेठ १३, २०५६ को साँझ राजदरबारमा प्रधानमन्त्री नियुक्त भएर हँसिलो मुहारसहित उत्साहित हुँदै फर्केका ७५ वर्षीय भट्टराईले पत्रकारसँग त्यसबेला भनेका थिए, ‘म पाँच वर्ष नै प्रधानमन्त्री रहन्छु ।’ पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ पुस्तकमा लेखिएको छ, ‘पछि किसुनजीका लागि त्यति सहज भएन । उनी प्रधानमन्त्री बनेको दुई महिना नपुग्दै पार्टीबाटै सरकारको आलोचना सुरु भयो । त्यो पनि अरू कसैबाट नभएर पार्टी सभापति कोइरालाबाटै । साउन ८ गते कांग्रेस संसदीय दलको बैठकमा कोइरालाले ‘काम गर्न नसकेको’ मात्रै भनेनन्, सरकारलाई ‘मृततुल्य’ भनेर कटाक्ष गरे ।’

आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर अभियान चलाइयो । 

त्यसबेला संसद् बैठक सिंहदरबारभित्र रहेको प्रतिनिधि सभा भवनमा बस्थ्यो । २०५६ को निर्वाचनपछि म नियमितजसो संसद बैठकमा रिपोर्टिङका लागि पुग्थें । खासगरी सांसदहरूसँग भेटघाटको थलो हुन्थ्यो त्यो । अन्तर्वार्ताका लागि सांसदसँग चिनजान गर्ने, सम्पर्क बढाउने, समय मिलाउने कामका लागि पनि बैठक जान फलदायी हुन्थ्यो । 

अहिलेजस्तो फेसबुक, अनलाइन मिडिया, टिभीको प्रयोग थिएन । पत्रिका पनि अधिकांश सादा खालका हुन्थे । भेटेर चिनजान नहुँदासम्म मानिसको अनुहार सम्झन गाह्रो हुन्थ्यो । करिअरको सुरुकै बेला भए पनि ०५६ का सांसदहरूमध्ये कोइराला, भट्टराई, सूर्यबहादुर थापाजस्ता शीर्ष नेताहरूबाहेक लगभग अधिकांश जसो नेतासँग मैले अन्तर्वार्ताको मौका पाएँ । त्यसबेला साप्ताहिक पत्रिकाको तेस्रो पृष्ठभरि अन्तर्वार्ता दिने चलन थियो । मैले जन्मभूमि, खबर कागज र राष्ट्रवाणी साप्ताहिकका लागि नियमित अन्तर्वार्ता गर्थें । अन्तर्वार्ता लिनु अघिको तयारी र लिनेबेलाको मेहनतभन्दा ज्यादा त त्यो उतार्न हुन्थ्यो । बाफ्रे नेताहरूको बोलीको ‘स्पीड’मा अन्तर्वार्तामा बोलेका कुरा उतार्दा डटपेन पग्लेर मसी हातभरि हुने र औंलामा दबाब हुँदा दाग बस्थ्यो । छिटोछिटो उतार्दा उतार्दै मेरा अक्षर बिग्रेर त्यसपछि कहिल्यै सुध्रेनन् । 

मासिक तलब १ हजार ५ सय हुँदा सायद बासँग पैसा मागेर र अरू ऋणजोहो गरी ७ हजार हालेर एउटा गियर भएको साइकल किनेको थिएँ । त्यसका प्याडल मार्दै खुब सिंहदरबार छिर्थें । त्यसबेला पश्चिम गेट मात्र थियो । सुरुसुरुमा विशाल सिंहदरबार परिसर भित्र जाँदा खुबै अलमलिन्थें । साइकल लिएर देशको प्रमुख प्रशासनिक अड्डा छिर्दा हल्का लाज पनि लाग्थ्यो । त्यसभन्दा बढी साइकल चोरी दिन्छन् कि भन्ने डर लाग्थ्यो । एक दिन डिल्लीबजार ओरालोमा राष्ट्रवाणीको कार्यालयमा अन्तर्वार्ता पुर्याउन गएको थिएँ । साँच्चिकै साइकल चोरी भयो । एक्कैछिन तल कोलियामा राखेको साइकल कसले हो खै टप्काएर लगिदियो । 

घट्टेकुलोमा बस्ने भएकाले पढ्ने रत्नराज्य क्याम्पस, कामका लागि सिंहदरबार र वरिपरी कार्यक्रम हुने ठाउँ प्रायः नजिकै पर्ने हुँदा धेरैजसो ठाउँ हिँडेरै पुगिन्थ्यो । टेम्पो, बसको रुट त्यति नमिल्ने, ट्याक्सीतिर आँखा लाउन नसकिने । पैदल हिँड्नु परे ११ नम्बर (दुईखुट्टा) जिन्दावाद भन्थ्यौं हामी त्यसबेला । पैसा नभएका बेला बस टेम्पोमा फाल्ने पैसाले बरु पोलेको मकै किनेर खाँदै हिँड्न खुब मज्जा हुन्थ्यो । 

२०५६ चैत्र ३ गतेको संसदको बैठकमा म गएको थिएँ । पार्टीका सभापति गिरिजाप्रसाद कोइराला पक्षको निरन्तर असहयोगका कारण भट्टराई सरकारले चाहेको काम गर्नुको साटो आन्तरिक किचलोमा अल्झिएको थियो । त्यस दिनको संसद बैठकमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रम थियो । संसदको हल खचाखच थियो । त्यसबेला विपक्षी नेताहरूको पहिलो लहरमा माधव नेपाल, भरतमोहन अधिकारीहरू बसेका थिए ।

अबेर सुरु भएको संसद बैठकमा प्रधानमन्त्री भट्टराईले सम्बोधन सुरु गरे । खल्तीबाट लिखित मन्तव्य निकालेर १५ मिनेटको छोटो तर मर्मस्पर्शी सम्बोधनमा उनले प्रश्न गरे, ‘जब–जब सरकारले यो देशको प्रगतिको बाधक भ्रष्टाचार र कमिसनतन्त्र माथि प्रहार गर्न सुरु गरेको हुन्छ, जब एयरपोर्टदेखिका तस्करहरू कमाउन नपाएर अत्तालिएका हुन्छन्, जब सरकार निमुखा जनतालाई न्याय दिने कार्यक्रमसाथ सुशासनको दिशामा अगाडि बढेको हुन्छ, जब प्रतिपक्षका साथ सौहार्दपूर्ण छलफल गरेर ‘यो देश सबैको साझा हो, त्यसैले सबै मिलेर बेथिती हटाऊँ, पारदर्शिता ल्याऊँ अनि हिंसा र आतंक रोकौं’ भनेर नयाँ–नयाँ पहल सुरु भएका हुन्छन्, तब–तब यहाँ अस्थिरताका ज्वारभाटा किन उठ्ने गर्छन् ? मैले बुझ्न सकेको छैन ।’

उनको सम्बोधन अवधिभर संसद् बैठकमा सन्नाटा छायो । त्यसबेला राजदरबारमा ‘पिनड्रप साइलेन्स’ अर्थात् पीन खसे पनि थाहा हुने शान्त माहौल हुन्छ भन्ने कहावत थियो । त्यस्तै शतप्रतिशत शान्ति संसदमा थियो त्यस दिन । खासगरी हँस्यौला र ठट्यौला नेता भट्टराईको भाषण सुन्दा जहिले सुन्नेले आनन्द र रोमाञ्च अनुभूति गर्थें म । उनको भाषण सुन्न त्यसै पनि सबै लालायित हुन्थे । श्लोक आदि जोडेर भट्टराईले सुनाउने कहावतले सुन्नेलाई मन्त्रमुग्ध बनाउँथ्यो । तर, त्यसदिन ठ्याक्कै उल्टो भयो । ठट्यौला नेता भट्टराईको सम्बोधनमा एकएक शब्द र वाक्य साह्रै गहुंगा अर्थ दिने थिए । चकमन्न जस्तो थियो संसद भवन । खचाखच सभाहलका मानिसले सास रोकेर प्रधानमन्त्री भट्टराईको मार्मिक मन्तव्य सुनिरहे जस्तो सुनसान माहोल थियो । 

प्रधानमन्त्री भट्टराईले त्यसबेला भनेका थिए,

‘देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विर्सजन र पारदर्शिताको प्रदर्शन हैन ? हामी नेपालीहरूले पचासौं वर्षदेखि राजनीतिलाई एउटा मर्यादाको सीमामा उभ्याउन र मूल्य एवं मान्यतामा आधारित गराउन प्रजातन्त्रको आराधना गरेका हौं । वास्तविक प्रजातन्त्र कायम नभएसम्म, हाम्रा आचरण र चरित्रमा प्रजातन्त्रका उदात्त गुणहरू सञ्चारित नभएसम्म राष्ट्र उँभो लाग्न र काँचुली फेर्न सक्दै सक्दैन । यो मेरो अटल विश्वास हो । यही विश्वासका खातिर मैले लगभग ६० वर्षदेखि अविराम संघर्ष गरेको छु । एउटा विशुद्ध प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटक पटक अनेक किसिमका घात–प्रतिघात र अन्तर्घात बेहोर्नु परेको छ । तर पनि म विचलित छैन । भविष्यका सन्ततिहरूलाई सत्मार्गतर्फ उन्मुख गराउने आफ्नो कर्तव्यको पालन म निरन्तर गरिरहन चाहन्छु । मेरो जीवन मूल्य भनेको नै आस्थाको राजनीति हो । यदि आस्था र निष्ठाको राजनीति, सिद्धान्त र आदर्शमा आधारित राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नुपर्छ, यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न।’

भट्टराई प्रधानमन्त्री बनेको १० महिना नपुग्दै आफ्नै पार्टीका ६९ जना सांसदले उनीमाथि अविश्वासको प्रस्ताव ल्याएका थिए । त्यसपछि कांग्रेसका संस्थापक नेतासमेत रहेका भट्टराईले संसद विघटन वा अरू विकल्पमा नलागी देश र जनताका लागि भन्दै खुरुक्क राजीनामा दिए । उक्त प्रस्तावमा छलफल हुनु अघिल्लो दिन नै संसद्को रोस्ट्रमबाट उनको राजीनामा घोषणा भयो । 

राजीनामा दिन उभिएका भट्टराईले भनेका थिए, ‘मैले जीवनभर मूल्यको राजनीति गरेको छु र प्रजातान्त्रिक मूल्य पद्धतिको रक्षाका लागि मेरो सेवा कति चाहिन्छ म त्यति गर्न अझै तयार छु । मेरा लागि मानिस कोही प्रिय वा अप्रिय छैनन् । तर, पनि मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ । यसका साथै प्रजातन्त्र प्रिय छ र मेरो आँखामा समुन्नत नेपालको सपना छ । सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो यो अन्तिम सम्बोधन हुनेछ । यस अवधिमा संसद्का सभामुख–अध्यक्ष र विपक्षी दलका नेताहरू र मेरा आफ्ना दलका सबै साथीहरू र समस्त नेपाली जनतालगायत सबै माननीय सदस्यहरूले मप्रति प्रकट गर्नुभएको सहृदय र सौहार्दपूर्ण सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछु र म आफ्नो पदबाट राजीनामा दिन अहिले नै श्री ५ महाराजाधिराजसमक्ष प्रस्तुत हुन गइरहेको कुरा माननीय सदस्यहरूलाई यही रोस्ट्रमबाट जानकारी गराउँछु ।’ 

२० वर्षको कलिलो उमेर, पत्रकारिताको आलो विद्यार्थी म त आँखा टिलपिल भरिएर रुन थालें । सिनेमा हेर्दा धरधरी आँशु बग्ने र हुँक्कहुँक्क हुने कमलो मन भएको मेरो मुटु त्यसैत्यसै भरिएर आयो । त्यसै पनि हँसिला र सादगी नेता भट्टराई मलाई औधी मन पर्थ्यो । यो मन्तव्यले कताकता छोयो कुन्नि, त्यसैत्यसै मन भक्कानिएर आंशु झर्यो । वरिपरिकाले देखेकी भन्दै लाजले हत्तपत्त आँशु पुछेर सामान्य बने जस्तो गरेर म डेरा फर्कें । बेलुका टीभीमा समाचार हेर्दा त त्यसबेलाका उपसभामुख चित्रलेखा यादवलगायत धेरै जना रोएको खबर हेर्दा झन् विरक्त लाग्यो । त्यस दिन संसदमा रहेका धेरैका आँखा रसाएका थिए । सत्तारूढ दलतिर भट्टराई निकट मात्र होइन, विपक्षतिरका नेता÷सांसद समेत भावुक बनेका थिए । प्रधानमन्त्रीले राजीनामा दिँदा प्रतिपक्षी दल बेजोड खुसी हुने परम्परा रहेकोमा त्यो दिनको दृश्य निकै फरक देखियो । 

त्यो दिन, बिहान ११ बजे प्रतिनिधिसभाको बैठक डाकिएको थियो । तर, ४ बजेसम्म पनि बैठक बस्ने गरी घन्टी नबजेपछि के हुन्छ ? भन्ने अन्यौल थियो । अन्यौलबीच सदनमै उनको राजीनामा आयो ।

‘मेरो प्रधानमन्त्रित्वमा संसदीय दलको गणित मात्र होइन, जनमत पनि अभिव्यक्त भएको हुँदा म नेपाली जनताप्रति पनि सोझै उत्तरदायी छु,’ प्रधानमन्त्री भट्टराईले भनेका थिए, ‘चुनावमा भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेर मत मागिएको हुँदा म आज ठूलो नैतिक बन्धनमा परेको छु । कांग्रेस संसदीय दलको गणित आफ्नो ठाउँमा महत्त्वपूर्ण छ तर कांग्रेसलाई मत दिने जनतालाई मैले के जवाफ दिने ? यो प्रश्न मेरा सामु उपस्थित भएकाले म आज निर्णायक उत्तर खोजिरहेको छु ।’

भट्टराईको भाषण सकिँदै गर्दा मन्त्रीहरू र भट्टराई निकट सांसदहरूले आँखा टिलपिल पार्दै ताली बजाएका थिए । पार्टी सभापति कोइरालाले सदनमै उपस्थित रहेर आफूविरुद्ध आएका भट्टराईका मार्मिक प्रहार सुने । त्यो दिन शेरबहादुर देउवा सदनमा देखिएनन् । सदन प्रवेश गर्दा भट्टराई उस्तै सौम्य देखिएका थिए । उनको अनुहारमा उस्तै शान्तभाव देखिन्थ्यो । सदाबहारको उही हँसिलो मुद्रामै सदन प्रवेश गरेका थिए । भाषण सकेर फर्कँदा तत्कालै प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल, उपनेता केपी शर्मा ओली भट्टराईसँग हात मिलाउन पुगेका थिए । प्रधानमन्त्रीले राजीनामा दिँदा विपक्षी दल खुसी हुने गर्थे, तर त्यो दिन विपक्षी नेताहरू गम्भीर मुद्रामा देखिए । 

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण भट्टराई पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । उनले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एक वर्ष प्रधानमन्त्री निवास, बालुवाटारमा बसेर डेरामा फर्किँदा उनीसँग एउटा छाता, माटाको एउटा सुराही र टिनको एउटा बाकस थियो ।

२०४७ सालयताका मुलुकका प्रधानमन्त्रीहरूको समीक्षा गर्ने हो भने प्रायःजसोले आफ्नो पद धरापमा पर्नासाथ प्रतिनिधि सभाको अवसान गराए । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले सुरु गरेको प्रतिनिधिसभा विघटनको यो सिलसिला २०५२ सालमा मनमोहन अधिकारी हुँदै २०५९ सालमा शेरबहादुर देउवासम्म पुग्दा लोकतन्त्र नै समाप्त भयो । २०७४ सालको आमनिर्वाचनमा वाम गठबन्धनले झण्डै दुईतिहाइ सिट जित्यो । पछि एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो पद सुरक्षित गर्न दुई पटक प्रतिनिधिसभा विघटनको सिफारिस गरे ।

भट्टराई यी सबैभन्दा भिन्न रहे । उनले आफ्नो पदभन्दा माथि प्रजातन्त्र र देशलाई राखे । त्यसबेला आफू निकटहरूले तयारको पारेको प्रतिनिधि सभा विघटनको विकल्प ठाडै अस्वीकार गर्दै उनले भनेका थिए, ‘मैले आफ्नो हातबाट प्रतिनिधिसभाको हत्या गरें भने इतिहासले मलाई पनि गिरिजाबाबुकै श्रेणीमा राख्छ, संसद भनेको प्रजातन्त्रको मुटु हो, आफ्नो पद पाँचसात महिना लम्ब्याउन प्रजातन्त्रकै हत्या गर्ने विकृतिले कुनै पनि हालतमा निरन्तरता पाउनुहुन्न ।’ 

अनि भट्टराईले संसदमा मार्मिक सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिए । भट्टराईको उक्त सम्बोधनमाथि प्रतिक्रिया दिँदै कांग्रेस नेता शेरबहादुर देउवाले भनेका थिए, ‘किशुनजीको आजको भाषण नेपाली राजनीतिको गीता हो, सबैले अनुशरण गर्नुपर्छ ।’ देउवा भट्टराईका अनुयायी मानिन्थे । तर, त्यसपछि पहिलो उल्लंघनकर्ता उनै देउवा नै भए । भट्टराईले धेरै अपमान सहेर जोगाएको प्रतिनिधि सभा देउवाले २०५९ मा विघटन गराइदिए । भट्टराई यसपछि राजनीतिमा सक्रिय रहेनन् ।

Share News