काठमाडौं । देशभरको निर्वाचनको प्रत्यक्षतर्फका सबै १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको मतगणना पनि सम्पन्न भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाईको जनमत पाउँदा अब प्रधानमन्त्री को बन्छ भन्ने विषयले पनि चर्चा पाइरहेको छ । चुनावी प्रचारप्रसारको क्रममा रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवार बनाए पनि अहिले रवि प्रधानमन्त्री बन्ने कि बालेन भन्ने विषयले चर्चा पाइरहेको हो ।
यसले मुलुकको राजनीतिक वृत्त मात्र होइन, आम नागरिकको मनस्थितिमा पनि एउटा ठूलो हलचल पैदा भएको छ । वर्षौंदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना राजनीतिक दलहरू र तिनका नेताहरूप्रति जनतामा जुन निराशा थियो, त्यसको प्रस्फुटन यसपटकको मतपरिणाममा प्रस्ट देखिएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्राप्त गरेको चुनावी सफलतालाई धेरैले परिवर्तनको संकेत मानेका छन् । दोलखाबाट काठमाडौं आएर बसेका कृष्णबहादुर खड्काका अनुसार नेपाली जनताको दिमागमा भ्रष्टाचारको जुन ह्याङओभर थियो, त्यसलाई घण्टीले चिरिदिएको छ । उनी भन्छन्, ‘हामीले हालेको भोट खेर गएन, जनताले युद्ध जितेका छन् । ’
उनका अनुसार जनताले बालेनलाई पहिले नै आफ्नो मनमा चुनिसकेका छन् । पुराना पार्टीहरूले मासुभात र पेट्रोल-डिजेलको प्रलोभन देखाएर जनतालाई झुक्याउने दिन अब सकिसकेको उनको बुझाइ छ ।
कांग्रेस र एमालेजस्ता पुराना पार्टीहरूप्रति सबैको आशा भरोसा सकिएको उनी बताउँछन् । यस्तै, कालीकोटबाट आएर काठमाडौंमा बस्दै आएकी कविता शाहीको बुझाइ पनि उस्तै छ । पुराना नेताहरूले केही नगरेकोले यसपटक (रास्वपा) बाट केही हुनेमा उनी आशावादी छिन् ।
उनी भन्छिन्, ‘पानी, बत्ती र शिक्षा जस्ता आधारभूत कुरामा सुधार हुनुपर्छ । यदि यिनीहरूले पनि पुरानै शैली अपनाए भने अर्कोपटक जनताले भोट दिने छैनन् ।’
रोजाइमा बालेन
हालसम्मको निर्वाचनको नतिजाअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ । समानुपातिकतर्फ जारी मतगणनामा पनि रास्वपाले करिब ५२ लाख मत प्राप्त गरेको छ । यस आधारमा समानुपातिकबाट थप करिब ५८ सिट रास्वपाको खातामा जाने देखिएको छ । यसले प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत निश्चित भएको छ ।
यो नतिजासँगै अब धेरैको ध्यान प्रधानमन्त्री को बन्छन् भन्नेमा छ । अहिले रास्वपा संसदीय दलको नेता कसलाई बनाउने भन्ने तयारीमा जुटेको छ । निर्वाचन अघिकै सर्तअनुसार वरिष्ठ नेता बालेनलाई नै बनाइने लगभग निश्चित जस्तै छ । रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।
अधिकांश युवाहरूको रोजाइमा पनि काठमाडौं महानगरका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने परेका छन् । रोचक कुरा के छ भने, बालेन मेयर भए पनि धेरैले उनलाई देशकै कार्यकारी प्रमुखको भूमिकामा देख्न चाहेका छन् ।
बझाङकी सुस्मिता खड्का भन्छिन्, ‘बालेनले जे बोल्छन्, त्यो गरेर देखाउँछन् । अरू जस्तो गफ मात्र लगाउँदैनन् । ’ उनको बुझाइमा बालेन अन्य नेताहरू भन्दा धेरै फरक छन् । बालेनले कम बोल्ने तर काम धेरै गर्ने नेताका रुपमा उनले हेरेकी छन् ।
त्यस्तै, गोरखाका रामबहादुर रोका मगरको नजरमा पनि प्रधानमन्त्रीका लागि बालेन नै उपयुक्त पात्र हुन् । ‘यो ढुङ्गुर कुहिएको सहरलाई बालेनले सफा गरेर देखाए, उनले देश पनि बनाउन सक्छन्,’ उनले भने । उनका अनुसार काठमाडौं पहिला धेरै फोहोर सहर थियो तर बालेन मेयर भएपछि सफा भएको छ ।
रोकाले भने, ‘यो देश बनाउने अब बालेन मात्रै हो । बाँकी सबै नेताको काम देखियो । यसपटक जनताले घण्टी बजाएका छन् । अब नयाँ लहर आएको छ । हेरौं यो लहरले कति विकास गर्छ । यदि यिनीहरू पनि पुरानै नेता जस्तै भए भने सबैतिर निराशा छाउँछ ।’
युवा विद्यार्थी विवेक सेन्चुरी युवा नेतृत्वको उदयबाट निकै उत्साहित देखिन्छन् । उनी रवि र बालेन दुवैलाई समान रूपमा हेर्छन् । उनी भन्छन्, ‘हामीले धेरैलाई जिताएर हेर्यौं, अब पालो युवाको हो । देशमै रोजगारी सिर्जना होस् र युवाहरू विदेशिनु नपरोस् भन्ने हाम्रो चाहना हो । ’
जनतामा अब दलभन्दा पनि कामको खोजी बढी छ । कैलाली घर भएकी निलम थापा भन्छिन्, ‘जसले जिते पनि देशको विकास गर्नुपर्यो । काठमाडौं जस्तै अरू सहर पनि बनाउनुपर्यो । हामी विद्यार्थीका लागि त जसले प्रगति गर्छ, उही राम्रो ।’
यी नागरिकको साझा धारणा के छ भने जनता अब पुराना आश्वासनबाट थाकिसकेका छन् । उनीहरूलाई थोरै बोल्ने र धेरै काम गर्ने नेता चाहिएको छ । दोलखाका खड्का भन्छन्, ‘हाम्रो देशको पानी फिल्टर गरेर खाडी मुलुकमा बेच्न सके मात्र पनि देशको कायापलट हुन्छ ।’
नेपाली जनताको यो उत्साह र नयाँ अनुहारप्रतिको भरोसा एउटा ठूलो जिम्मेवारी पनि हो । रवि लामिछाने र बालेन शाहजस्ता पात्रहरूमाथि थुप्रिएको यो आशाको भारीलाई उनीहरूले कसरी सम्बोधन गर्छन्, त्यो त भविष्यले नै बताउला ।
तर, एउटा कुरा निश्चित छ, नेपाली जनता अब सधैं एउटै गल्ती दोहोर्याउन तयार छैनन् । यदि नयाँ आएकाहरूले पनि काम गरेर देखाएनन् भने ५ वर्षपछि फेरि जनताको लाठी अर्थात् मतले उनीहरूलाई पनि विस्थापित गरिदिनेछ ।