ठूला दलको ऐतिहासिक पतन

एमालेले गुमायो ८२ प्रतिशत सिट, कांग्रेस ७० प्रतिशतमा खुम्चिँदा नेकपाको ७५ प्रतिशत घट्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक हुने क्रम चलिरहँदा नेपालका स्थापित राजनीतिक दलहरूले अभूतपूर्व गिरावट बेहोरेका छन् । दशकौंदेखि संसदीय राजनीतिमा निर्णायक प्रभाव राख्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र विभिन्न कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यस पटक प्रत्यक्ष निर्वाचनमा ठूलो पराजयको सामना गरे।

तथ्यांकहरूका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक प्रत्यक्षतर्फ प्रमुख दलहरूको सिट संख्या नाटकीय रूपमा घटेको छ । विशेष गरी नेकपा एमालेले सबैभन्दा ठूलो क्षति बेहोरेको देखिन्छ । अघिल्लो निर्वाचनमा बलियो उपस्थिति बनाएको एमाले अहिले प्रत्यक्षतर्फ करिब समाप्तप्रायः अवस्थामा पुगेको विश्लेषकहरूको टिप्पणी छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेर दोस्रो ठूलो शक्ति बनेको थियो । त्यो परिणामले एमालेलाई संसदीय राजनीतिमा बलियो शक्ति बनाएको थियो । तर अहिलेको निर्वाचन परिणामले भने एमालेको राजनीतिक आधार कमजोर बन्दै गएको स्पष्ट संकेत दिएको छ ।

हालसम्म सार्वजनिक भएको परिणामअनुसार एमालेले प्रत्यक्षतर्फ जम्मा ८ सिट मात्रै जित्न सकेको छ । यसरी हेर्दा एमालेले अघिल्लो निर्वाचनको तुलनामा ३६ सिट गुमाएको छ ।

प्रतिशतका आधारमा हेर्ने हो भने एमालेले प्रत्यक्षतर्फ करिब ८२ प्रतिशत सिट गुमाएको देखिन्छ । संसदीय इतिहासमा स्थापित कुनै ठूलो दलले यति ठूलो पराजय बेहोरेको घटना दुर्लभ मानिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार एमालेको यो गिरावट केवल निर्वाचन परिणामको अंकगणित मात्र होइन, पार्टीभित्रको आन्तरिक संकट, नेतृत्वप्रति बढ्दो असन्तुष्टि र बदलिँदो राजनीतिक परिवेशको संयुक्त परिणाम पनि हो ।

पछिल्लो समयमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, नेतृत्वको शैलीबारे उठेका प्रश्न तथा युवापुस्तामा घट्दो आकर्षणले पनि एमालेको जनाधार कमजोर बनाएको विश्लेषण गरिन्छ ।

कांग्रेस पनि सुरक्षित रहन सकेन

यस पटकको निर्वाचनले नेपाली कांग्रेसलाई पनि ठूलो झट्का दिएको छ । २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको दल कांग्रेस थियो । त्यतिबेला कांग्रेसले ५७ सिट जित्दै संसदको सबैभन्दा ठूलो दल बन्ने आधार तय गरेको थियो ।

तर अहिलेको निर्वाचन परिणामले कांग्रेसको त्यो बलियो स्थिति निकै कमजोर भएको देखाएको छ । हालसम्मको परिणामअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट मात्रै जित्न सकेको छ । यसरी कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा ४० सिट गुमाएको छ । प्रतिशतका आधारमा हेर्दा कांग्रेसले करिब ७० प्रतिशत सिट गुमाएको देखिन्छ ।

यो परिणामले कांग्रेसको पारम्परिक जनाधारमा ठूलो क्षय भएको संकेत गरेको विश्लेषकहरू बताउँछन् । विशेषगरी सहरी क्षेत्रमा नयाँ राजनीतिक शक्तिहरूको उदय, स्वतन्त्र उम्मेदवारहरूको प्रभाव तथा युवा मतदातामा देखिएको परिवर्तनको चाहनाले काँग्रेसलाई ठूलो क्षति पुर्याएको विश्लेषण गरिएको छ ।

कांग्रेसभित्र लामो समयदेखि नेतृत्व पुस्तान्तरणको बहस चलिरहेको थियो । जसलाई दोस्रो विशेष महाधिवेशनले सम्बोधन गरेको नेपाली कांग्रेसका नेताहरूले बताएका थिए । नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा ‘बदल्यौं कांग्रेस बदल्छौं देश’ भन्ने नारासहित निर्वाचनमा होमिएको थियो । त्यसका बाबजुद कांग्रेस सभापति थापाले समेत निर्वाचनमा पराजय बेहोरे ।

कम्युनिस्ट शक्तिको एकीकरण पनि सफल भएन

यस पटकको निर्वाचनमा कम्युनिस्ट शक्तिको पुनर्गठन पनि मतदातालाई आकर्षित गर्न असफल भएको देखिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ संयुक्त रूपमा २८ सिट जितेका थिए । त्यतिबेला माओवादी केन्द्रले १८ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका थिए ।

पछिल्लो समय यी दुई दलसहित अन्य २१ कम्युनिस्ट घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । उक्त एकीकरणलाई कम्युनिस्ट शक्तिको नयाँ पुनरुत्थानका रूपमा प्रस्तुत गरिएको थियो । तर निर्वाचन परिणामले भने त्यो प्रयास अपेक्षित रूपमा सफल हुन नसकेको देखाएको छ ।

हालसम्मको परिणाम अनुसार नेकपा प्रत्यक्षतर्फ जम्मा ७ सिटमा सीमित भएको छ । यसरी हेर्दा अघिल्लो निर्वाचनको तुलनामा नेकपाले २१ सिट गुमाएको छ । प्रतिशतका आधारमा उक्त दलले करिब ७५ प्रतिशत सिट गुमाएको देखिन्छ ।

मतदातामा परिवर्तनको चाहना

यस पटकको निर्वाचन परिणामले नेपाली मतदातामा परिवर्तनको चाहना बलियो रूपमा देखा परेको विश्लेषण गरिएको छ । पछिल्ला केही वर्षमा नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको छ । विशेषगरी युवापुस्तामा परम्परागत दलप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ । भ्रष्टाचारका मुद्दा, राजनीतिक अस्थिरता, विकास निर्माणमा देखिएको सुस्तता र नेतृत्वप्रति घट्दो विश्वासका कारण मतदाताले नयाँ विकल्प खोज्न थालेको विश्लेषण गरिन्छ ।

प्रत्यक्षतर्फ ठूला दलहरूको यस्तो गिरावटले संसदमा शक्ति सन्तुलनमा ठूलो परिवर्तन आउने देखिएको छ । अघिल्ला निर्वाचनहरूमा संसदको मुख्य शक्ति बनेका दलहरू यस पटक कमजोर देखिएका छन् ।

पुराना दलका लागि चुनाैती

राजनीतिक विश्लेषक टीकाबहादुर कुँवरका अनुसार यस पटकको निर्वाचन परिणाम स्थापित दलहरूका लागि गम्भीर चुनाैती पनि हो । दशकौंदेखि देशको राजनीतिमा निर्णायक भूमिका खेलेका दलहरूले यदि समयमै आत्मसमीक्षा गर्न सकेनन् भने आगामी निर्वाचनहरूमा अझ ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने विश्लेषण कुँवरको छ ।

दलभित्र लोकतान्त्रिक अभ्यासको अभाव, नेतृत्वको केन्द्रीकरण, युवापुस्तालाई अवसर नदिनु र नीतिगत स्पष्टताको कमी जस्ता कारणहरूले मतदाताको विश्वास कमजोर बनाएको टिप्पणी कुँवरको छ ।

Share News