एमाले र कांग्रेसको किल्लामा रास्वपाको झण्डा, ‘बैतडीका बालेन’ले रचे इतिहास

को हुन् हरिमोहन भण्डारी ?

काठमाडौं । भनिन्छ, ‘राजनीतिमा धैर्यता र समयको पहिचान सबैभन्दा ठूलो शक्ति हो ।’ बैतडीको पाटनमा जन्मिएका हरिमोहन भण्डारीको राजनीतिक जीवनलाई हेर्ने हो भने यो भनाइ ठ्याक्कै मेल खान्छ । 

४ दशक लामो राजनीतिक आरोह-अवरोह, विभिन्न दलको अनुभव र स्थानीय जनतासँगको निरन्तर सामिप्यताले उनलाई अन्ततः देशको सर्वोच्च नीति निर्माण तह ‘संसद्’ सम्म पु¥याएको छ ।

फागुन २१ गते बैतडीको राजनीतिक इतिहासमा एउटा नयाँ मोड आयो । वि.स. २०७० सालदेखि लगातार नेकपा एमालेले जित्दै आएको यो क्षेत्रमा यसपटक नयाँ शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो झण्डा गाड्यो । र, त्यो झण्डा बोक्ने सारथी बने ५७ वर्षीय हरिमोहन भण्डारी । उनले आफूलाई प्रचारप्रसारमा बैतडीको बालेन भन्दै आएका थिए । 

वि.स. २०२३ साल कात्तिक १५ गते जन्मिएका उनलाई राजनीतिमा लाग्न कतै टाढा जानु परेन । आफ्नै बुवा लक्ष्मणसिंह भण्डारीसँग उनले राजनीति सिके । जो तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सक्रिय थिए । बुबाकै प्रेरणाले हरिमोहन २०३५ सालमै राप्रपाबाट राजनीतिमा होमिए । स्नातक तहसम्मको अध्ययन सकेका भण्डारीमा युवावस्थादेखि नै समाज रूपान्तरणको हुटहुटी थियो ।

पञ्चायतकाल र त्यसपछिको बदलिँदो राजनीतिक परिवेशसँगै भण्डारी २०५८ सालमा नेपाली प्रजातान्त्रिक कांग्रेसको सदस्य बने । उनी नेपाली कांग्रेसको राजनीतिमा करिब २३ वर्ष सक्रिय रहे । यो अवधिमा उनी तीन पटकसम्म महासमिति सदस्य बनेर संगठन निर्माणमा खटिए । तर, उनको राजनीतिक यात्रा सधैं सहज रहेन । 

२०७४ को प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट टिकट पाए पनि उनी पराजित भए । २०७९ को निर्वाचनमा त उनलाई पार्टीले टिकट नै दिएन । तर, जनतामाझ लोकप्रिय रहेका भण्डारी रोकिने पक्षमा थिएनन् । उनले स्वतन्त्र उम्मेदवारी दिए । 

परिणाम रोचक आयो, उनले कांग्रेसका आधिकारिक उम्मेदवार वीरबहादुर विष्टले भन्दा बढी ११ हजार १८ मत प्राप्त गरे । यद्यपि, एमालेका सुरेन्द्रबहादुर पालसँग उनी झिनो अन्तरले पराजित भए । तर, त्यो चुनावले एउटा सन्देश दियो, बैतडीमा हरिमोहनको व्यक्तिगत प्रभाव दलभन्दा माथि छ ।

रास्वपामा प्रवेशसँगै ‘ब्रेक-थ्रु’

कांग्रेसभित्र आफ्नो मूल्यांकन नभएको महसुस गरेका भण्डारीले अन्ततः ‘पुरानो घर’ त्याग्ने निर्णय गरे । उनी देशव्यापी लहर सिर्जना गरिरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए । लामो राजनीतिक अनुभव, सामाजिक–सांस्कृतिक कार्यमा सक्रियता र पुराना दलप्रतिको वितृष्णालाई भण्डारीले आफ्नो शक्तिको रूपमा प्रयोग गरे ।

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा उनले एमाले र कांग्रेस जस्ता स्थापित शक्तिहरूलाई चुनौती मात्र दिएनन्, एमालेको बलियो मानिएको ‘किल्ला’ समेत ध्वस्त पारिदिए । यो जित केवल भण्डारीको मात्र थिएन, यो बैतडीमा परिवर्तन चाहने आम नागरिकको जित थियो ।

संसदीय यात्राको ढोका खुलेसँगै भण्डारीका काँधमा जिम्मेवारीको भारी थपिएको छ । चुनावी प्रचारका क्रममा उनले बैतडीका पीडा र अभावलाई केन्द्रसम्म पु¥याउने वाचा गरेका थिए ।

‘म केवल संसदमा कुर्सी ओगट्न मात्र आएको होइन,’ भण्डारीले भने, ‘बेरोजगारीको समस्याले थलिएको बैतडीका युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न र यहाँको सामाजिक–सांस्कृतिक उत्थानका लागि म भरमग्दुर प्रयास गर्नेछु ।’

एउटा अनुभवी राजनीतिज्ञ, जो राप्रपा र कांग्रेसको धारबाट खारिएर अहिले नयाँ विचार बोकेको रास्वपामा आइपुगेका छन्, उनको यो यात्रा कति फलदायी होला ? त्यो त भविष्यले बताउला । तर, बैतडीका जनताले एउटा आशलाग्दो ‘प्रतिनिधि’ पाएका छन्, जसले दशकौंदेखिको राजनीतिक एकाधिकारलाई तोड्दै नयाँ आशाको घण्टी बजाएको छ ।

Share News