नेपालमै बन्न थाले बाइक, बस र कार

अटोमा आत्मनिर्भर बन्ने लाइनमा नेपाल

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्र विस्तारै विकासको नयाँ चरणमा प्रवेश गरिरहेको छ । केही वर्षअघिसम्म पूर्ण रूपमा आयातमा निर्भर रहेको अटो बजारमा पछिल्लो समय नेपालमै उत्पादन गरेर बिक्री गरिरहेको छ । 

विदेशी ब्रान्डका सवारी साधनसँगै नेपालमै एसेम्बल भएका सवारी साधनहरू सडकमा गुड्न थालेपछि अटो क्षेत्रमा मात्र होइन देशको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने विश्लेषण हुन थालेको छ । 

स्वदेशमै सवारी साधन उत्पादन हुन थालेपछि व्यवसायी र उपभोक्ताको ध्यान पनि स्वदेशी उत्पादनमा गइरहेको छ । नेपालमै बनेका सवारी साधनमा उपभोक्ताको पनि चासो बढ्न थालेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार मोटरसाइकल, कार र बस पनि नेपालमै उत्पादन हुन थालेपछि उपभोक्ताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । 

हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले अहिले नेपालमै कार एसेम्बल गरिरहेको छ भने बजाज, टीभीएस, होण्डा यामाहा, रोयल इन्फिल्डलगायतले नेपालमा दुईपाँग्रे सवारीसाधन अर्थात् मोटरसाइकल र स्कुटर एसेम्बल गरिरहेका छन् । 

रोचक कुरा त के छ भने पछिल्लो समय सुन्दर यातायातअन्तर्गतको सुन्दर अटो इन्जिनियरिङ प्रालिले पनि नेपालमै बस उत्पादन सुरु गरेको छ । यो कम्पनीले ४० प्रतिशत विदेशी पाटपुर्जा र ६० प्रतिशत पाटपुर्जा नेपालमै बनाएर बस उत्पादन गरिरहेको छ । यस कम्पनीले ५० वटा विद्युतीय बस उत्पादन गरेर सफल परीक्षण पनि गरिसकेको छ । अहिले उत्पादन भएको बस दर्ताको प्रक्रियाको चरणमा रहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । 

सुन्दर अटो इन्जिनियरिङ कम्पनीका अनुसार बुटवलमा १४ सिटे ५० वटा विद्युतीय बस उत्पादन गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

सुन्दर यातायातले आफ्नै देशमा गाडी उत्पादन गरेर सयौंलाई रोजगारी दिने र नयाँ प्रविधि भित्र्याउने लक्ष्य राखेको छ । सरकारको साथ भएमा ७ दिनभित्र ५० वटा र एक महिनाभित्र ५०० वटा गाडी सडकमा गुडाउन सक्ने दाबी थापाको छ । 

सुन्दर यातायातले अहिले ‘युरो-६’ को मापदण्डलाई पछ्याउँदै गुणस्तरीय गाडी उत्पादन गरिरहेको थापाको भनाइ छ । स्वदेशी उद्यमीलाई हौसला प्रदान गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन यो परियोजना कोशेढुङ्गा सावित हुने विश्वास थापाको छ । 

नेपालमा ईभी कार एसेम्बल गर्ने पहिलो व्यावसायिक घराना लक्ष्मी ग्रुप हो भने बाइक एसेम्बल गर्ने पहिलो व्यावसायिक घराना गोल्छा ग्रुप हो । 

नवलपरासीको रामग्राममा सञ्चालित हुण्डाई गाडीको एसेम्बल प्लान्टमा हालसम्म २ हजारभन्दा बढी ‘मेड इन नेपाल’ हुण्डाई गाडीहरू नेपाली सडकमा गुडिसकेका छन् । सन् २०२४ बाट औपचारिक उत्पादन सुरु गरेको यस उद्योगले अहिले ‘भेन्यू’ र ‘क्रेटा’ जस्ता लोकप्रिय मोडेलका गाडीहरू नेपालमै एसेम्बल गर्छ । 

नेपालमा हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार हाल दैनिक ८ घण्टाको एउटै सिफ्टमा ८ वटा गाडी उत्पादन भइरहेका छन् । 

उद्योगको वार्षिक उत्पादन क्षमता ५ हजार युनिटसम्म रहेको कम्पनीका महाप्रबन्धक दीपक थपलियाले जानकारी दिए । थपलियाले विकासन्युजसँग भने, ‘हामीले अहिले भेन्यू र क्रेटा आईस (डिजेल/पेट्रोलबाट चल्ने)  गाडी नेपालमै उत्पादन गरिरहेका छौं । नेपाली बजारमा स्वदेशमै एसेम्बल गरेका भेन्यू र क्रेटा छन् ।’

null

‘एसेम्बली प्लान्टबाट गाडी निकाल्नुअघि क्लिनिक ट्रायल अनिवार्य हुन्छ । पहिला हामीले पाइलट प्रोडक्सन गर्छौं । त्यसपछि गुणस्तर, सुरक्षा, प्रदर्शन र समग्र उत्पादन क्षमतासम्बन्धी सबै परीक्षण सफलतापूर्वक पूरा भएपछि मात्र मोडेललाई आधिकारिक उत्पादनको रूपमा पास गर्ने गरेका छौं,’ उनले थपे ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुण्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात सुरु गरेको थियो ।

नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको यो प्लान्टमा ५ हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरूको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीको छ । लक्ष्मी ग्रुपले आधुनिक पूर्वाधारसहित स्थापना गरेको यो उद्योग १० बिघा क्षेत्रफल (६८ हजार वर्ग मिटर) मा फैलिएको छ भने एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ । 

कुल २ अर्ब ६५ करोड लगानीमा स्थापना गरिएको यस परियोजनाले औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको लक्ष्मी ग्रुपले दाबी गरेको छ । 

महाप्रबन्धक थपलियाका अनुसार यस प्लान्टको सबैभन्दा गर्विलो पक्ष भनेको यहाँ कार्यरत जनशक्ति हो । सुरुवाती चरणमा तालिम र सेटअपका लागि कोरियाली प्राविधिकहरू आए पनि अहिले प्लान्टमा सतप्रतिशत नेपाली इन्जिनियर र प्राविधिकहरूले नै गाडी एसेम्बल गरिरहेका छन् । 

प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ३ सय नेपालीले यस उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा कुल कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढी नवलपरासी क्षेत्रका स्थानीय बासिन्दा रहेका छन्, जसले स्थानीय समुदायको आर्थिक सशक्तिकरणमा प्रत्यक्ष योगदान दिएको छ ।

ग्राहकलाई ९ लाखसम्म फाइदा

नेपालमै गाडी एसेम्बल हुँदा यसको प्रत्यक्ष फाइदा ग्राहकलाई पुगेको छ । आयातित गाडीको तुलनामा नेपालमा बनेको हुन्डाई ‘भेन्यू’ ४ देखि ५ लाख रुपैयाँ र ‘क्रेटा’ ९ लाख रुपैयाँसम्म सस्तो मूल्यमा उपलब्ध भइरहेको महाप्रबन्धक थपलियाले विकासन्युजलाई जानकारी दिए ।

सस्तो मूल्य भए पनि गुणस्तरमा भने कुनै सम्झौता नगरिएको उनको दाबी छ ।  उनका अनुसार हुन्डाईको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै हरेक गाडीको ‘रिगोरस टेस्टिङ’ पछि मात्र सडकमा पठाइने गरिन्छ । 

null

५ वर्षभित्र स्वदेशी पाटपुर्जा प्रयोग गर्ने लक्ष्य

हाल भारत र कोरियाबाट कच्चा पदार्थ आयात भइरहे पनि उद्योगले आगामी ५ वर्षभित्र टायर, ब्याट्री, लुब्रिकेन्ट र प्लास्टिकका सामानहरू नेपालमै बनेका प्रयोग गर्ने लक्ष्य राखेको छ । यसले गर्दा नेपालको औद्योगिक क्षेत्रमा थप टेवा पुग्ने र गाडी अझ सस्तो हुन सक्ने थपलियाको भनाइ छ । 

उद्योगले सरकारलाई अटोमोबाइल क्षेत्रलाई केवल व्यापारको रूपमा मात्र नहेरी उत्पादनमूलक उद्योगको रूपमा हेर्न आग्रह गरेको छ । स्वदेशी उत्पादनलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकता दिनुपर्ने र विद्युतीय गाडी ईभी एसेम्बलका लागि पनि लगानीमैत्री नीति ल्याउनुपर्नेमा उद्योगको जोड छ ।

हालको कर प्रणालीले तयारी गाडी आयात गर्दा र नेपालमै एसेम्बल गर्दाको लागतमा खासै ठूलो अन्तर नहुँदा ईभी एसेम्बलीमा केही चुनौती देखिएको उनको भनाइ छ । यद्यपि हुण्डाईको यो सफलताले नेपालमा अन्य ठूला ब्रान्डका गाडीहरू पनि एसेम्बल हुने ढोका खोलेको लक्ष्मी ग्रुपको दाबी छ । 

बाइक र स्कुटरमा एसेम्बलको लहर

उपभोक्ताले निकै रुचाइएका बजाज, टीभीएस, यामाहा, सुजुकी, हिरो, होन्डा, रोयल इनफिल्डलगायत ब्रान्डका दुईपाँग्रे सवारी साधनको एसेम्बल अहिले नेपालमै भइरहेको छ । व्यवसायीहरुका अनुसार यी सबै ब्रान्डका सवारीसाधनका पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गरिन्छ । 
 
बजाजले नवलपरासी रामग्राममै मोटसाइकल एसेम्बल गरिरहेको छ । गोल्छा ग्रुपअन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनीका अनुसार पछिल्लो समय बजाज ब्राण्डका नयाँ जति पनि मोटरसाइकल नेपाली सडकमा गुडिरहेका छन्, ती नेपालमै एसेम्बल भइरहेका हुन् । 

नेपाली उपभोक्ताले सर्वाधिक रुचाइएको बाइकमध्येमा पर्छ पल्सर । सो मोटरसाइकल पनि नेपालमै उत्पादन हुन्छ । बजाजकै डोमिनार, एभेन्जर, डिस्कभर, र प्लाटिनाजस्ता विभिन्न मोडलहरू पनि नेपालमै एसेम्बल हुन्छन् । त्यस्तै केटीएम डुक पनि नेपालमै एसेम्बल हुन थालेको छ । 

null

नेपाली बजारमा बाइकको माग बढ्दै गएपछि कम्पनीले त्यही मागलाई मध्यनजर गर्दै नेपालमै एसेम्बल सुरु गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार २०७१ सालमा उद्योग विभागमा दर्ता भएको यो उद्योगले आवश्यक पूर्वाधार र प्रविधि तयार गरी २०७५ सालदेखि एसेम्बलिङ सुरु गरेको थियो । 

सुरुवाती लगानी २४ करोड रुपैयाँ रहेकोमा हाल एक अर्बभन्दा बढी लगानी भइसकेको कम्पनीको भनाइ छ । यस उद्योगमा २ सय बढी कर्मचारीहरूले काम गरिरहेका छन् । अहिले प्रत्येक दिन १ सय वटा बाइकहरू एसेम्बल भइरहेका छन् भने यसको उत्पादन क्षमता ३ सय रहेको छ ।

कम्पनीका अनुसार पल्सरको ब्रान्ड स्वदेशमै एसेम्बल हुन थालेपछि उपभोक्ताले सहज उपलब्धता, तुलनात्मक रूपमा प्रतिस्पर्धी मूल्य र छिटो सेवा-सुविधाको लाभ लिन थालेका छन् । गोल्छा ग्रुपको अटोमोटिभ रिटेल नेटवर्कमा नेपालका ७५ जिल्लाहरूमा १०९ बजाज शोरूम, १४ केटीएम शोरूम र ३० व्यावसायिक सवारी साधन शोरूमहरू छन् । 

यस्तै, नवलपरासीकै रामग्राममा सञ्चालित यामाहाको प्लान्टले पनि बाइकको एसेम्बल गरिरहेको छ । एमएडब्लु वृद्धि ग्रुपअन्तर्गत एमएडब्लू इन्टरप्राइजेजका अनुसार करिब ८० करोडको लगानी र २ बिघा क्षेत्रफलमा फैलिएको यो प्लान्टले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको बाइक स्वदेशमै उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अनुसार यस एसेम्बली प्लान्टको वार्षिक उत्पादन क्षमता ६० हजार युनिट रहेको छ । बजारको मागअनुसार उद्योगले दैनिक १०० देखि २०० वटासम्म बाइकहरू तयार गरिरहेको एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक दीपक अग्रवालले जानकारी दिए ।

null

उनका अनुसार हाल यस उद्योगले ८० भन्दा बढी नेपाली जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ भने केही उच्च तहका प्राविधिकहरू मात्र विदेशी रहेका छन् । आयातित बाइकको तुलनामा नेपालमै एसेम्बल भएका यामाहा बाइकहरू करिब १५ देखि २० प्रतिशतसम्म सस्तो हुने उनको दाबी छ । 

पछिल्लो समय कच्चा पदार्थको मूल्यमा वृद्धि भए पनि स्वदेशमै एसेम्बल हुने भएकाले मूल्य समायोजन गर्न सहज भएको र यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई पुगेको कम्पनीको दाबी छ ।

नेपालमा बनेको हुनाले गुणस्तरमा कमी आउने हो कि भन्ने आशंकालाई चिर्दै कम्पनीले उत्पादित बाइकहरू जापानमा उत्पादित बाइकहरू जत्तिकै सुरक्षित र भरपर्दो रहेको बताएको छ । 

अग्रवालका अनुसार यामाहा जापानको प्राविधिक सहकार्यमा सञ्चालित यस प्लान्टमा १०० प्रतिशत पार्टपूर्जाहरू विदेशबाट नै आयात गरिन्छ । गुणस्तर सुनिश्चित गर्नका लागि जापानी प्राविधिकहरूले नियमित रूपमा प्लान्टको अडिट गर्ने र कडाइका साथ गुणस्तर मापदण्ड पालना गर्ने गरिएको उनले जानकारी दिए ।

कम्पनीले यो व्यापार मात्र नभई उत्पादनमूलक क्षेत्रमा भएको यो लगानीले देशको अर्थतन्त्रमा टेवा पुर्याउनुका साथै रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ । आगामी दिनमा नयाँ मोडेलहरू पनि नेपालमै एसेम्बल गर्ने कम्पनीको योजना छ ।

यस्तै, शंकर समूह ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले पनि बाराको सिमराबाट टीभीएस ब्रान्डका मोटरसाइकल, स्कुटर र तीनपाँग्रे टेम्पो एसेम्बल गरिरहेको छ । कम्पनीका अनुसार वि.सं २०७५ सालमा २४ करोड ५५ लाख रुपैयाँ लगानीमा जगदम्बा अटो ग्रुप उद्योग सुरु गरेको थियो । दर्ता भएको १ वर्षपछि एसेम्बल सुरु गरेको जनाएको छ ।

यस उद्योगले पनि वार्षिक एक लाख मोटरसाइकल तथा स्कुटर र १० हजार तीन पाँग्रे टेम्पो उत्पादन गर्ने क्षमता राख्छ । उद्योगको कुल लगानी करिब १ अर्ब रुपैयाँ कम्पनीको दाबी छ । यस उद्योगले स्वदेशमै उत्पादन बढाउँदै रोजगारी सिर्जना गर्नुका साथै आयातमा निर्भरता घटाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको कम्पनीको भनाइ छ । 

यस्तै, विशाल ग्रुप समूहअन्तर्गतको भिजी अटोमोबाइल्सले सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटर पर्साको विन्ध्यवासिनीमा एसेम्बल गरिरहेको छ । कम्पनीले विसं २०७८ मा ग्लोबल अटोमोबाइल्स उद्योग दर्ता गरी एसेम्बल सुरु गरेको थियो । कम्पनीका अनुसार उद्योगमा ४६ करोड ४५ लाख रुपैयाँ लगानी भइसकेको छ ।

सुजुकीका मोटरसाइकल तथा स्कुटरका सबै मोडलहरू स्वदेशमै उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । होन्डा बाइकको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ अन्तर्गतको हिमाल मोटो प्रालिले पनि रुपन्देहीको रोहिणीमा होन्डा ब्राण्डका बाइकहरू एसेम्बल गरिरहेको छ । कम्पनीले १० बिघा जमिनमा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट तयार पारेर एसेम्बल गरिरहेको छ । 

उद्योगको वार्षिक २५ हजार बाइक र ७५ हजार स्कुटर उत्पादन गर्न सक्ने क्षमता छ  । एसेम्बल उद्योगमा २ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

होन्डा बाइकको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ अन्तर्गतको हिमाल मोटो प्रालिले पनि रुपन्देहीको रोहिणीबाट होन्ड ब्रान्डका बाइकहरू एसेम्बल गरिरहेको छ । कम्पनीले १० बिघा जमिनमा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट तयार पारेर एसेम्बल गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले वार्षिक २५ हजार बाइक र ७५ हजार स्कुटर उत्पादन गर्न सक्ने क्षमता रहेको छ  । एसेम्बल उद्योगमा २ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

त्यस्तै, विगत ४ वर्षदेखि त्रिवेणी ग्रुपअन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्ड ब्राण्डका मोटसाइकल वीरगञ्जमा एसेम्बल गरिरहेको छ । कम्पनीसँग वार्षिक २० हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमता छ । यो एसेम्बल प्लान्ट १ लाख वर्गफिटमा फैलिएको छ । उक्त एसेम्बल उद्योग ५० करोड लगानीमा सुरु गरिएको थियो ।

यो पनि पढ्नूहोस् : अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास

Share News