नेपालमै बन्यो विद्युतीय बस, ५ दिनमै तयार

मासिक ५०० उत्पादन गर्ने लक्ष्य

काठमाडौं । स्वदेशी सीप र प्रविधिको प्रयोग गर्दै नेपालमै पहिलो पटक विद्युतीय बस उत्पादन गरिएको छ । सुन्दर अटो इन्जिनियरिङ प्रालिले देशमै पहिलो विद्युतीय बस उत्पादन गरेको हो । कम्पनीले बुटवलमा १४ सिटे ५० वटा विद्युतीय बस उत्पादन गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । थापाका अनुसार बस उत्पादन गरेर गत सोमबार परीक्षण पनि गरिसकेको छ । 

कम्पनीका अनुसार बसको ६० प्रतिशत पाटपुर्जा नेपालमै बनेका हुन् भने ४० प्रतिशत पाटपुर्जा भारत र चीनबाट आयात गरिएको हो ।  

अध्यक्ष थापाले काठमाडौंका मुख्य क्षेत्रहरू चक्रपथ, लाजिम्पाट, रत्नपार्क, त्रिपुरेश्वर, कलंकी, कोटेश्वर र गौशाला लगायतका रुटहरूमा परीक्षण गरेर सञ्चालन गर्ने तयारी गरेको बताए ।

उनका अनुसार परीक्षणका क्रममा गाडीको पफर्मेन्स सोचेभन्दा उत्कृष्ट पाइएको हो । उनले केही पाटपुर्जा विदेशबाट र नेपालमा खरिद गरेपछि बस बनाउन पाँच दिनको समय लागेको जानकारी दिए ।

‘हामीले ५ दिनमै सबै काम सकेर सडकमा ल्याउन सफल भयौं,’ थापाले विकासन्युजसँग भने, ‘यो गाडीले एक पटकको फुल चार्जमा १५० किलोमिटरको रेन्ज दिनेछ ।’

null

महिनामै ५०० गाडी उत्पादनको लक्ष्य 

सुन्दर यातायातले आफ्नै देशमा गाडी उत्पादन गरेर सयौंलाई रोजगारी दिने र नयाँ प्रविधि भित्र्याउने लक्ष्य राखेको छ । तर, नीतिगत असहयोग र कर्मचारीतन्त्रको झन्झटले भने समस्या सिर्जना गरेको कम्पनीको गुनासो छ ।

कम्पनीका अध्यक्ष थापा भन्छन्, ‘बाहिरबाट ४०/५० लाखमा गाडी आयात गर्दा यातायात विभागले सजिलै पास गर्छ । तर, आफ्नै देशमा बनाउँदा मापदण्डको नाममा अल्झाउने काम गरिन्छ ।’

नेपाल सरकारले दृढ इच्छाशक्ति देखाउने हो भने ७ दिनभित्र ५० वटा र एक महिनाभित्र ५०० वटा गाडी सडकमा उतार्न सकिने दाबी कम्पनीले गरेको छ । सुन्दर यातायातले अहिले ‘युरो-६’ को मापदण्डलाई पछ्याउँदै गुणस्तरीय गाडी उत्पादन गरिरहेको उनको भनाइ छ । 

स्वदेशी उद्यमीलाई हौसला प्रदान गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन यो प्रोजेक्ट कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । अब केवल सरकारले नेपालमै बनेको सामानलाई प्राथमिकता दिएर दर्ता र लाइसेन्सको प्रक्रिया सहज बनाइ दिनुपर्ने कम्पनीको माग छ ।

null

नेपालमै गाडी एसेम्बल हुँदा देशको पुँजी विदेशिनबाट जोगिने मात्र होइन, नेपाली युवाहरूले स्वदेशमै अत्याधुनिक प्रविधि सिक्ने अवसर समेत पाउने थापाको भनाइ छ । कम्पनीले अहिले चिनियाँ कम्पनी बीएकेको प्राविधिक सहयोगमा गाडी उत्पादन गरिरहेको छ । 

अध्यक्ष थापाले स्वदेशी प्रविधि र श्रम प्रयोग गरी तयार गरिएको उक्त सवारीलाई अब यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रियामा लैजाने बताए । गाडीको प्रारम्भिक डिजाइन भारतमा तयार गरिए पनि बडी डिजाइन, वायरिङ तथा अधिकांश संरचना नेपालमै निर्माण गरिएको कम्पनीको दाबी छ । प्रयोग गरिएका सबै सामग्री नेपाल गुणस्तर चिह्न प्राप्त रहेको थापाले दाबी गरे । 

null

१४ जना यात्रु बोकेर १७ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता रहेको छ । पहिलो चरणमा काठमाडौं, चितवन र बुटवलमा सञ्चालन गर्ने योजना कम्पनीको छ । त्यसपछि क्रमशः देशका अन्य सहर क्षेत्रमा विस्तार गरिने योजना कम्पनीको छ । बजारको मागअनुसार उत्पादन बढाइने अध्यक्ष थापाको भनाइ छ ।

null

Share News