काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आसन्न निर्वाचन दुई महिना पछि धकेलिने सम्भावना देखिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागू भएको आचारसंहिताका कारण महासंघको निर्वाचन तत्कालका लागि स्थगित हुने देखिएको हो ।
महासंघ अध्यक्षका प्रत्यासी तथा वर्तमान वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा (एडी) का अनुसार निर्वाचन आयोगले आचारसंहिता लागू भएको समयमा संघसंस्थाका कुनै पनि साधारण सभा तथा निर्वाचन गर्न नदिने मौखिक जानकारी गराएपछि निर्वाचन सर्ने अवस्था देखिएको छ ।
यस विषयमा अन्तिम निर्णय गर्न निर्वाचन आयोगका आयुक्तहरूको बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्ने भएको छ । सोही बैठकले संघसंस्थाहरूलाई साधारण सभा गर्न छुट दिने वा हाललाई रोक्ने भन्नेबारे टुङ्गो लगाउनेछ ।
महासंघका एक पदाधिकारीका अनुसार आयोगले धेरै संस्थाहरूलाई पत्र पठाई कार्यक्रम नगर्न भनिसकेको छ । ‘आयोगको पत्र आइसकेको छ, तर धेरै संस्थाहरूको साधारण सभा रोकिँदा ठूलो समस्या उत्पन्न हुने भएपछि आयुक्तहरूले भोलि बसेर यसबारे थप छलफल र निर्णय गर्ने जानकारी आएको छ,’ उनले भने ।
यदि आयोगले कार्यक्रमहरू रोक्ने निर्णय गरेमा ती संस्थाहरूको साधारण सभा कम्तीमा दुई महिना पछि धकेलिने सम्भावना छ । तर, यदि आयोगले संघसंस्थाहरूको समस्यालाई मध्यनजर गर्दै छुट दिने निर्णय गरेमा पूर्वनिर्धारित कार्यक्रमहरू समयमै सम्पन्न हुनेछन् ।
‘हामीले निर्वाचन आयोगमा सोधपुछ गरेका थियौं,’ उनले विकासन्युजसँग भने, ‘ हामी अब आयोगको निर्णयको प्रतीक्षामा छौं । सोहीअनुसार अगाडि बढ्नेछौँ ।’ महासंघको नेतृत्वका लागि सहमतिको प्रयास अन्तिम समयसम्म जारी रहने भए पनि चुनावी प्रतिस्पर्धाकै सम्भावना बलियो छ ।
अध्यक्षका प्रत्यासी लामाले भने, ‘सहमति भन्ने कुरा त अन्तिमसम्म गरिने प्रयास हो, तर सहमतिको सम्भावना एकदमै न्यून छ ।’
सुरुवाती चरणमा महासंघमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएकोमा अहिले दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सुरुमा लामा र निकोलस पाण्डेबाहेक महासचिव रोशन दाहाललाई पनि दाबेदार मानिएको थियो ।
तर उनले संस्थापन पक्ष तथा लामाको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उमेदवार बनाएपछि दाहालले अध्यक्षको दाबेदारी छोडेको हुन् । उनले यसअघि वर्तमान कार्यसमितिको महासचिव भएकाले आफू अध्यक्षको स्वतः दाबेदार भएको बताउँदै आएका थिए ।
लामाको प्यानलमा को-को ?
अध्यक्षका उम्मेदवार आङदोर्जे लामा (एडी) ले आफ्नो प्यानलको प्रारम्भिक खाकासमेत प्रस्तुत गरेका छन् । उनका अनुसार अध्यक्षमा उनी स्वयं, वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ । प्रदेशबाट आउने उपाध्यक्षहरूको भने प्रदेश स्तरको चुनावपछि टुंगो लाग्नेछ ।
आफ्नो उम्मेदवारीबारे प्रस्ट्याउँदै लामाले निर्माण क्षेत्रमा देखिएका विकृति अन्त्य गरी व्यवसायीको सार्वजनिक छवि सुधार्नु आफ्नो मुख्य एजेन्डा रहेको बताए । उनले भने, ‘अहिले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो छैन, त्यसलाई सुधार्नु पहिलो काम हो ।’
यसका साथै उनले कमिसनका लागि गरिने लो बिडिङ प्रथा हटाउने, स्थानीय तहबाट जथाभावी रूपमा वितरण भइरहेको निर्माण व्यवसायीको लाइसेन्सलाई नियन्त्रण गर्न सरकारसँग लबिङ गर्ने र बिनाबजेटका आयोजनाहरूको ठेक्का लगाउने सरकारी प्रवृत्तिको अन्त्य गर्ने जस्ता एजेन्डा अघि सारेका छन् ।
‘सरकारले बिनाबजेटको १० करोडको ठेक्का लगाइदिन्छ, तर १ करोड पनि निकासा गर्दैन । वर्षौं काम हुँदैन अनि दोष व्यवसायीलाई आउँछ । यस्ता समस्या समाधानका लागि हामी राज्यलाई जिम्मेवार बनाउन पहल गर्नेछौं,’ उनले भने ।
सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका लामा विगत १५ वर्षदेखि महासंघमा सक्रिय छन् । केन्द्रीय सदस्य, महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै उनी अध्यक्षको दौडमा छन् । उनको कम्पनी पीएस कन्स्ट्रक्सन हो । उक्त कम्पनीले वार्षिक करिब १ अर्बको कारोबार गर्दै ६०० भन्दा बढीलाई रोजगारी दिएको छ । निर्वाचन दुई महिना पछि सरेपछि अब आफ्ना एजेन्डालाई थप परिस्कृत गर्दै व्यवसायीमाझ जाने उनले बताए ।
पाण्डेको प्यानलमा को-को ?
अर्का अध्यक्षका प्रत्यासी पूर्व सल्लाहकार तथा पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे हुन् । पाण्डेले आफ्नो प्यानलमा वरिष्ठ उपाध्यक्षमा हालका एसोसिएटतर्फका उपाध्यक्ष मुकेश पन्थ (रामजी), महासचिव मंगल शाहीलाई उठाउने तयारी छ । लामा कांग्रेस निकट व्यक्तिका रूपमा चिनिन्छन् भने पाण्डे आफूलाई कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको, लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने स्वतन्त्र व्यक्तिका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।
यता रोशन दाहाल र बालाजु श्रेष्ठ एमाले पृष्ठभूमिका हुन् भने शिवहरि श्रेष्ठ कांग्रेसनिकट मानिन्छन् । त्यस्तै, मुकेश पन्थ कांग्रेससम्बद्ध रहँदा मंगल शाही भने नेपाली कम्युनिस्ट पार्टी निकट मानिन्छन् । अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक तथा एएसि ब्रिक उत्पादक संघका अध्यक्ष हुन् ।
निर्माण व्यवसायीका साथै युवा उद्यमी पनि हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेका छोरासमेत हुन् । कालिका कन्सट्रक्सनले निर्माणको क्षेत्रमा थुप्रै ठुलाठुला परियोजना निर्माण गर्दै आइरहेको छ । जस्तै कोशी नदीमा २ सय ६२ मिटर लम्बाईको पुल निर्माण परियोजना, दरौंदी-ए हाइड्रो इलेक्ट्रिक ६ मेघावाट आयोजना, डाइमण्ड हाइड्रोपावर १० मेघावाट आयोजना, भुटान आयोजना, अरुण खोला पुल, भोटेकोसी-५, कोशी पुल, काठमाडौं खानेपानी आयोजनाको ट्रान्समिसन लाइन, सिक्टा सिँचाइ आयोजना लगायत विभिन्न सडक निर्माणका आयोजनाहरूमा कम्पनीको योगदान छ ।
महाधिवेशनमा कुल ३२ हजार हाराहारीमा रहेका निर्माण व्यवसायी सदस्यमध्येबाट ९७२ जना प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधि छनोटको प्रक्रिया जिल्ला संघहरूबाट हुनेछ । महासंघले गत पुष ८ गतेसम्म जिल्ला संघका सदस्यहरूको नामावली छानबिन गरी विधानतः प्रतिनिधि संख्या किटान गरेर पठाइसकेको छ ।
महासंघका अनुसार जिल्ला संघहरूले आफ्नो प्रतिनिधिहरूको नामावली महासंघमा पठाइसकेको अवस्था छ । छानिएका प्रतिनिधिहरूले नै महाधिवेशनमा मतदान गर्नेछन् । अब दुई महिनापछि आयोजना हुने १५ औं महाधिवेशन तथा २६ औं साधारणसभामा महासंघका ७ वटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
यसपटकको महाधिवेशनमा व्यावसायिक क्षेत्रमा देखिएको संकट र त्यसलाई सम्बोधन गर्न सक्ने नेतृत्व चयनमा विशेष चासोका साथ हेरिएको छ ।