काठमाडौं । आफूभन्दा कनिष्ठ कर्मचारीलाई नेपाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरिएकाे भन्दै सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) विश्वराज बरालले बैंकबाट राजीनामा दिएका छन् । सञ्चालक समितिले होमबहादुर खड्कालाई डीसीईओमा नियुक्त गरेपछि बरालले पद तथा प्रतिष्ठामा अन्याय भएको महसुस गर्दै राजीनामा दिएको बताएका हुन् ।
बरालले माघ ४ गते राजीनामा पत्र बुझाएको र कर्मचारी सेवा विनियमावलीअनुसार एक महिनाको समय दिएर फागुन १० गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिए । उनले राजीनामा पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बुझाइसकेको र अब स्वीकृत गर्ने विषय व्यवस्थापनको हातमा रहेको बताए ।
‘मैले माघ ४ गते नै राजीनामा बुझाएको हुँ । कर्मचारी सेवा विनियमावलीअनुसार एक महिनाको समय दिनुपर्ने भएकाले फागुन १० गतेदेखि लागू हुने गरी राजीनामा दिएको हुँ । राजीनामा बुझाइसकेको छु, अब स्वीकृत गर्ने विषय उहाँहरूको काम हो,’ बरालले भने ।
उनले आफूभन्दा जुनियर कर्मचारीलाई सिनियर पदमा पदोन्नति गरेपछि जागिर छाड्ने निर्णय गर्न बाध्य भएको बताए । ‘कनिष्ठलाई सिनियर बनाएपछि नै मैले बैंक छोड्ने निर्णय गरेको हुँ,’ उनले भने ।
बराल आगामी फागुन २० गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए । तर, अवकाशको करिब १० दिन अगावै उनले राजीनामा दिने निर्णय गरेका हुन् । बैंकका एक कर्मचारीका अनुसार बरालले राजीनामा दिए पनि २० वर्षे सेवा अवधि पूरा गरिसकेकाले कर्मचारी सेवा विनियमावलीअनुसार पाउने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्नेछन् ।
‘१० दिन अगाडि नै राजीनामा दिनुभए पनि विनियमावलीअनुसार सबै सेवा सुविधा पाउनु हुन्छ । २० वर्षे सेवा अवधि नपुगेको भए फरक हुन्थ्यो । तर, उहाँले सबै सुविधा पाउनु हुन्छ,’ ती कर्मचारीले भने, ‘तर, आफूभन्दा जुनियरलाई डीसीईओ बनाएपछि उहाँ निकै मर्माहत हुनुभयो । बाँकी दुई महिनाको अवधिमा काम गर्ने वातावरण नै बनेन ।’
ती कर्मचारीका अनुसार बैंकका सीईओलाई सहयोग गर्ने उद्देश्यले डीसीईओमा खड्कालाई ल्याइएको थियो । तर, नियुक्ति भएलगत्तै सीईओ र डीसीईओबीच समन्वयभन्दा बढी खटपट सुरु भइसकेको दाबी पनि गरिएको छ । नेपाल बैंकभित्र वरिष्ठताक्रम मिचेर गरिएको पदोन्नतिले कर्मचारी मनोबलमा गम्भीर असर पार्न सक्ने भन्दै यस विषयमा बैंकभित्रै व्यापक असन्तुष्टि देखिन थालेको छ ।
नेपाल बैंकभित्र राजनीतिक चेपुवामा कर्मचारी, कनिष्ठलाई डीसीईओ बनाएपछि जागिर छाड्दै सिनियर
डीसीईओ र एसीईओ नियुक्तिले गरम बन्दै नेपाल बैंकभित्रको राजनीति, विष्णु पौडेल शक्ति केन्द्र