हाईल्याण्ड डिष्टिलरीको २६.३१ प्रतिशत लाभांश घोषणा, प्रिमियम वा बुकबिल्डिङ्गमा आईपीओ

काठमाडौं । हाईल्याण्ड डिष्टिलरी लिमिटिडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६३ करोड ८४ लाख रुपैयाँको २५ प्रतिशतका दरले १५ करोड ९६ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशतका दरले ८४ लाख रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत अर्थात् १६ करोड ८० लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । 

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते बिहान ११ बजे रजिस्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । 

सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित, चालु आवको आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण र प्रबन्ध संचालकको पारिश्रमिक पारित गर्नेछ । 

यस्तै सभाले कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सेयर प्रिमियम मूल्य, बुक बिल्डिङ्ग विधि मार्फत वा अंकित मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । 

यस्तै कम्पनी ऐन, २०६३ को दफा ९१(२) बमोजिम प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ । साधारण सभाले विशेष प्रस्ताव पारित गरी कम्पनीमा पुरा समय काम गर्ने सञ्चालकहरुलाई प्रोत्साहन दिन कम्पनीले तिर्नु पर्ने आयकर तिरिसकेपछि बाँकी रहेको मुनाफाको तीन प्रतिशतमा नबढाई पुरस्कार दिन सक्ने उक्त व्यवस्थामा उल्लेख छ । तर प्रचलित कानून अनुसार अन्तिम रुपमा आयकर निर्धारण हुँदा कम्पनीले थप आयकर तिर्नु पर्ने भएमा कम्पनीले त्यस्तो थप करको रकम पुरस्कार प्राप्त गर्ने सञ्चालकहरुबाट निजहरुले पुरस्कार बापत प्राप्त गरेको रकमको हदसम्म समानुपातिक रुपमा असुल उपर गरी लिनु पर्नेछ ।

Share News