काठमाडौं । सौरभ ग्रुपले आफ्नो उत्पादन सर्वोत्तम र जगदम्बा सिमेन्ट नेपालको भौतिक पूर्वाधार निर्माणका लागि सबैभन्दा विश्वसनीय र गुणस्तरीय विकल्प भएको दाबी गरेको छ ।
नेपालमै पहिलोपटक भित्र्याइएको अत्याधुनिक भीआरएम र एक्सरे प्रविधि, विशाल उत्पादन क्षमता र देशव्यापी सहज आपूर्ति सञ्जालका कारण कम्पनीले राष्ट्रिय गौरवका ठूला आयोजनाहरूमा समेत मुख्य साझेदारको भूमिका निभाइरहेको जनाएको छ ।
इप्पानको कार्यक्रममा बोल्दै सौरभ ग्रुपका सञ्चालक दीपेश न्यौपानेले गुणस्तरमा एकरूपता, बजारमा नियमित आपूर्ति र दीर्घकालीन विश्वसनीयतालाई कम्पनीले सर्वोच्च प्राथमिकता दिएको बताए ।
‘१० वर्षअघि हाम्रो सिमेन्ट प्रयोग गरेर बनेको घरको गुणस्तर र आज बन्ने घरको गुणस्तरमा कुनै फरक हुनेछैन,’ न्यौपानेले भने, ‘यो हाम्रो प्रतिबद्धता हो ।’
सर्वोत्तम सिमेन्टले नेपालमा पहिलोपटक जर्मनीको अत्याधुनिक भीआरएम प्रविधि प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । यसले निर्माणलाई थप मजबुत बनाउनुका साथै सिमेन्टको खपतलाई समेत न्यूनीकरण गर्न मद्दत गर्ने उनको भनाइ छ ।
त्यस्तै, कम्पनीले आफ्नो उत्पादनको १०० प्रतिशत गुणस्तर एक्सरे प्रविधिबाट परीक्षण गर्ने गरेको छ । परम्परागत परीक्षण विधिमा घण्टौं लाग्ने काम एक्सरे प्रविधिबाट केही मिनेटमै सम्भव हुने हुँदा उत्पादनको हरेक चरणमा गुणस्तर नियन्त्रण गर्न सकिएको न्यौपानेले बताए ।
यसले सिमेन्टको गुणस्तरमा कुनै पनि विचलन आउन नदिने र उपभोक्ताले सधैं एकनासको गुणस्तर प्राप्त गर्ने कम्पनीको दाबी छ ।
सौरभ ग्रुप अन्तर्गतका सुनवल, भैरहवा, वीरगन्ज र झापामा रहेका चारवटा उद्योगबाट दैनिक कुल १ लाख ९५ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको छ ।
क्लिंकर र त्यसका लागि चाहिने चुनढुंगामा शतप्रतिशत आत्मनिर्भर रहेको कम्पनीसँग आगामी ३८ वर्षसम्मलाई पुग्ने चुनढुंगा खानी रहेको छ । यसले गर्दा बजारमा सिमेन्टको अभाव हुन नदिने र दीर्घकालसम्म नियमित आपूर्ति सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
देशका लगभग ६० जिल्लामा फैलिएको बृहत् डिलर सञ्जाल र चार फरक भौगोलिक स्थानमा रहेका उत्पादन एकाइहरूले गर्दा देशको कुनै पनि कुनामा निर्माण सामग्रीको सहज आपूर्ति सम्भव भएको छ ।
‘पूर्व, पश्चिम वा मध्य नेपाल, जहाँसुकैको परियोजनामा पनि राजमार्ग अवरुद्ध हुँदा समेत हामी अर्को रुटबाट सहजै सिमेन्ट पुर्याउन सक्छौं, न्यौपानेले भने ।
अरुण तेस्रो जस्ता राष्ट्रिय गौरवका जलविद्युत आयोजनाहरूमा सफलतापूर्वक सिमेन्ट आपूर्ति गरिरहेको तथ्यले कम्पनीको गुणस्तर र विश्वसनीयतालाई थप प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
सन् १९६४ मा स्थापना भएको सौरभ ग्रुपले सिमेन्ट, स्टिलदेखि बैंकिङ र ऊर्जासम्मका क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्दै ४ हजारभन्दा बढीलाई प्रत्यक्ष र २५ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।