काठमाडौं । पुसको अन्तिम साता काठमाडौं उपत्यका पूर्ण रूपमा राजनीतिक गतिविधिमय हुने देखिएको छ । एकै समयमा तीन ठूला राजनीतिक कार्यक्रम राजधानी र आसपासका क्षेत्रमा आयोजना हुँदैछन् । ती कार्यक्रमले उपत्यकाको ट्राफिक व्यवस्थापनमा गम्भीर प्रभाव पार्ने निश्चित छ ।
पुस २६ र २७ गते नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरस्थित म्याजेस्ट्री गार्डेन पार्टी प्यालेसमा बस्दैछ । त्यही समयमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पुष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ ।
अर्कोतर्फ कांग्रेसकै संस्थापन पक्षले ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा पुष २७ गते युवा भेला र २८ गते जिल्ला तथा प्रदेश सभापतिहरूको भेला गर्दैछ । यी तीनवटै कार्यक्रम राजधानी काठमाडौं र ललितपुरका मुख्य क्षेत्रहरूमा आयोजना हुँदैछन् । यी कार्यक्रममा सवारी चाप उच्च रहने अनुमान गरिएको छ ।
राजनीतिक भीडले सवारी चापको चिन्ता
काठमाडौं उपत्यकामा दैनिक रूपमा करिब १५ लाखभन्दा बढी सवारीसाधन गुड्ने तथ्यांक ट्राफिक प्रहरीसँग छ । सामान्य दिनमै पनि कार्यालय समय, विद्यालय खुल्ने र छुट्ने समयका साथै साँझपख उपत्यकाका मुख्य सडकहरूमा ट्राफिकजाम हुने गरेको छ । त्यसमाथि हजारौंको संख्यामा राजनीतिक कार्यकर्ता, प्रतिनिधि, सुरक्षाकर्मी र सवारीसाधन एकैसाथ सडकमा निस्किँदा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने देखिन्छ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा देशभरबाट ३ सय १ केन्द्रीय सदस्यहरु सयौं नेता कार्यकर्ता ललितपुर भित्रिने एमालेले जनाएको छ । अधिकांश नेताहरू निजी सवारी, पार्टीका सवारीसाधन वा सुरक्षासहित आउने भएकाले म्याजेस्ट्री गार्डेन आसपासका सडकहरूमा सवारी चाप बढ्ने अनुमान ट्राफिक प्रहरीको रहेको छ । उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सातदोबाटो, ग्वार्को, एकान्तकुना, कोटेश्वर हुँदै ललितपुर प्रवेश गर्ने नाकाहरूमा सवारी चाप बढ्ने अनुमान छ ।
उता भृकुटीमण्डपमा आयोजना हुने कांग्रेसको विशेष महाधिवेशनमा देशभरका प्रतिनिधि, समर्थक र नेता तथा कार्यकर्ता हजारौंको संख्यामा काठमाडौं आउँदैछन् । कांग्रेस नेता मनोजमणि आचार्यका अनुसार ३ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा भाग लिने छन् ।
आचार्यका अनुसार खुला सत्रमा हजारौंको उपस्थिति हुने छ । भृकुटीमण्डप क्षेत्र आफैमा व्यस्त व्यापारिक र प्रशासनिक केन्द्र हो । रत्नपार्क, भद्रकाली, सुन्धारा, त्रिपुरेश्वर र माइतीघर जस्ता क्षेत्रहरू सधैंजसो ट्राफिक जामको उच्च जोखिममा पर्छन् । विशेष महाधिवेशनका लागि आउने प्रतिनिधिहरूका बस, माइक्रोबस, निजी गाडी र मोटरसाइकलले ती क्षेत्रको सवारी प्रवाहलाई थप अवरुद्ध गर्ने देखिन्छ । त्यसैले उक्त क्षेत्रको ट्राफिक व्यवस्थापनकोे योजना बनाइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।
त्यसमाथि कांग्रेसकै संस्थापन पक्षले सानेपामा २७ र २८ गते लगातार कार्यक्रम राख्दा ललितपुरभित्रै अर्को ठूलो भीड थपिनेछ । सानेपा क्षेत्र वरपरका कालोपुल, कुपण्डोल, थापाथली, पुल्चोक हुँदै जाने सडकहरूमा पनि चाप बढ्ने निश्चित छ ।
नेपाली कांग्रेसको उक्त कार्यक्रममा देशैभरिबाट युवाहरू आउने आयोजक मध्येका एक तरुण दलका अध्यक्ष विद्धान गुरुङले जानकारी दिए ।
ट्राफिक प्रहरीको तयारी र चुनौती
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुवेदीका अनुसार राजनीतिक कार्यक्रमहरूलाई लक्षित गर्दै विशेष ट्राफिक व्यवस्थापन योजना बनाइँदैछ । आवश्यक स्थानमा अतिरिक्त ट्राफिक प्रहरी खटाइने, वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिने र अत्यधिक भीड हुने क्षेत्रहरूमा अस्थायी पार्किङ व्यवस्थापन गरिने योजना रहेको सुवेदीले जानकारी दिए ।
तर व्यवहारमा यी योजना कार्यान्वयन चुनौतीपूर्ण हुने देखिन्छ । भृकुटीमण्डप र सानेपा क्षेत्र वरपर पार्किङको समस्या पहिलेदेखि नै जटिल छ । कार्यक्रमका लागि आउने सवारीसाधन सडक किनारमै पार्क हुँदा सवारी लेन साँघुरिन सक्छ, जसले जामलाई झनै चर्काउने खतरा हुन्छ । विगतका ठूला राजनीतिक सभा र महाधिवेशनका अनुभवले पनि यही देखाएका छन् ।
ट्राफिक प्रहरीका एक अधिकारी भन्छन्, ‘हामीले व्यवस्थापनको तयारी गरे पनि राजनीतिक कार्यक्रम हुँदा भीड नियन्त्रण सजिलो हुँदैन । धेरैजसो सहभागीले निजी सवारी प्रयोग गर्ने र निर्धारित पार्किङ प्रयोग नगर्ने हुँदा समस्या देखिन्छ ।’
तीन ठूला राजनीतिक कार्यक्रम एकैसाथ हुँदा यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्नेछ । कार्यालय जाने आउने कर्मचारी, विद्यार्थी, बिरामी बोकेर अस्पताल जाने एम्बुलेन्स, सार्वजनिक सवारी प्रयोग गर्ने यात्रु सबैले लामो समय सडकमा बिताउनुपर्ने अवस्था आउन सक्ने ती अधिकारीले बताए ।
विशेषगरी त्रिपुरेश्वर–भद्रकाली–रत्नपार्क खण्ड, माइतीघर–थापाथली–कुपण्डोल खण्ड र सातदोबाटो–ग्वार्को–कोटेश्वर खण्ड अत्यधिक प्रभावित हुने अनुमान छ । यी मार्गहरू राजधानीका मुख्य नशा जस्तै हुन् । यहाँ सवारी अवरुद्ध हुँदा त्यसको असर उपत्यकाका अन्य भित्री सडकसम्म फैलिन्छ ।
सुरक्षा व्यवस्थापन र ट्राफिकको दोहोरो दबाब
राजनीतिक कार्यक्रमका कारण ट्राफिक व्यवस्थापन मात्र होइन, सुरक्षा व्यवस्थापनमा पनि ठूलो संख्यामा प्रहरी परिचालन हुने गर्छन् । सुरक्षाका लागि सडकमा चेकिङ, सवारी रोक्ने, मार्ग परिवर्तन गर्ने जस्ता काम हुँदा ट्राफिक झनै प्रभावित हुन्छ ।
यसले गर्दा आकस्मिक कामका लागि निस्किएका सर्वसाधारण थप समस्यामा पर्न सक्ने अनुमान गरेर ट्राफिक प्रहरीले सहजिकरणको योजना बनाइरहेको सुवेदीले जनाए । विगतमा यस्ता कार्यक्रमका बेला एम्बुलेन्स जाममा फसेको, विद्यार्थी परीक्षा केन्द्र ढिलो पुगेको, कर्मचारी कार्यालय समयमा नपुगेको जस्ता घटना पटकपटक दोहोरिएका छन् ।
ट्राफिक विज्ञहरूका अनुसार यस्ता ठूला कार्यक्रमका लागि दलहरूले सवारी व्यवस्थापनमा बढी जिम्मेवार हुनुपर्छ । प्रतिनिधि र सहभागीलाई सकेसम्म सार्वजनिक सवारी वा साझा यातायात प्रयोग गर्न प्रोत्साहित गर्ने, बसमार्फत सामूहिक रूपमा कार्यक्रमस्थल पुर्याउने व्यवस्था मिलाउने र निजी सवारीको प्रयोग सीमित गर्ने हो भने ट्राफिक चाप धेरै हदसम्म कम गर्न सकिने पूर्व प्रहरी निरीक्षक त्रिलोचन पाण्डेले जानकारी दिए ।
त्यस्तै, ट्राफिक प्रहरीले पनि समयमै स्पष्ट सूचना प्रवाह गर्नुपर्ने सुझाव पाण्डेले दिए । कुन समयमा कुन सडक बढी प्रभावित हुन्छ, कुन वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ भन्ने जानकारी रेडियो, सामाजिक सञ्जाल र मोबाइल एपमार्फत सर्वसाधारणसम्म पुर्याउन सके जामको असर केही कम गर्न सकिने सल्लाह पाण्डेको रहेको छ ।
ट्राफिक प्रहरी, राजनीतिक दल र स्वयं सहभागी सबैले जिम्मेवार भूमिका खेलेमा मात्र यसको प्रभाव केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।