काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय शक्ति संघर्ष तीव्र बन्दै गएको छ । नेतृत्व, विधान, समय र प्राथमिकताका विषयमा देखिएको मतभेद अब खुला राजनीतिक टकरावको चरणमा प्रवेश गरेको छ । यही सन्दर्भमा पार्टीभित्र ‘पद्धति’ र ‘प्राथमिकता’को आ–आफ्नै बुझाइले कांग्रेसलाई दुई स्पष्ट धारमा विभाजित गराएको छ ।
एकातिर संस्थापन पक्ष छ, जसले पार्टीको सम्पूर्ण ध्यान आगामी आम निर्वाचनमा केन्द्रित हुनुपर्ने र नियमित महाधिवेशन वैशाख २८ गते नै गर्नुपर्ने अडान लिएको छ । अर्कोतर्फ महामन्त्री गगनकुमार थापाको नेतृत्वमा रहेको समूहले पुस २७ गते विशेष महाधिवेशन आह्वान गर्दै पार्टीभित्रको संकट समाधानका लागि यही नै एक मात्र विकल्प भएको दाबी गरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष अहिले कुनै पनि हालतमा विशेष महाधिवेशनको पक्षमा छैन । संस्थापन पक्षका नेताहरूका अनुसार देश निर्वाचनतर्फ अघि बढिरहेको अवस्थामा पार्टीभित्र थप अस्थिरता सिर्जना गर्नु आत्मघाती हुनेछ ।
उनीहरू भन्छन्, ‘पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिनुपर्ने बेला आन्तरिक विवाद चर्काउनु गैरजिम्मेवार कदम हो ।’
पार्टी प्रवक्ता डाक्टर प्रकाशशरण महतका अनुसार आम निर्वाचनको मिति आगनमै आइसकेको समयमा पार्टीलाई पूर्ण रूपमा निर्वाचनमै लगाउनु अहिलेको आवश्यकता हो । संस्थापन पक्षले कांग्रेसको विधानअनुसार नियमित महाधिवेशनको समय तोकिसकिएको र त्यसलाई नै कार्यान्वयन गर्नुपर्ने बताउँदै आएको छ । वैशाख २८ गते महाधिवेशन गर्ने तयारी भइरहेकाले त्यसअघि विशेष महाधिवेशनको आवश्यकता नरहेको उनीहरूको तर्क छ । महत विशेष महाधिवेशनलाई ‘दबाबको राजनीति’ र ‘नेतृत्व कमजोर पार्ने प्रयास’का रूपमा व्याख्या गर्छन् ।
महतका अनुसार अहिलेको मुख्य चुनौती भनेको संगठन सुदृढीकरण, गठबन्धन व्यवस्थापन र चुनावी रणनीति तय गर्नु हो । यस्तो अवस्थामा विशेष महाधिवेशनले पार्टीभित्र अनावश्यक ध्रुवीकरण बढाउने र चुनावी तयारी प्रभावित हुने महतको बुझाइ छ ।
महामन्त्री गगनकुमार थापाको नेतृत्वमा रहेको समूह भने पार्टीको वर्तमान संकटको जड नै संस्थापन नेतृत्वको कार्यशैली भएको ठान्छ । उनीहरूका अनुसार पार्टी सञ्चालन विधान, प्रक्रिया र सामूहिक निर्णयको पद्धतिबाट बाहिर गइसकेको छ । यही कारण पार्टीभित्र असन्तोष, अविश्वास र गुटबन्दी बढ्दै गएको उनीहरूको निष्कर्ष छ ।
गगन थापा समूहले पुस २७ गते विशेष महाधिवेशन आह्वान गर्दै पार्टीको वैधानिक र नैतिक पुनर्संरचना गर्नुपर्ने माग अघि सारेको छ । यस समूहका नेता मनोजमणि आचार्य भन्छन्, समस्या लुकाएर चुनाव जितिँदैन । पार्टीभित्रको असन्तुलन समाधान नगरी आम निर्वाचनमा जानु कांग्रेसका लागि दीर्घकालीन रूपमा घातक हुन्छ ।
यो समूह विशेष महाधिवेशनलाई नेतृत्व परिवर्तनको मात्र मुद्दा नभई पार्टीको पद्धति, निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्र पुनःस्थापना गर्ने माध्यमका रूपमा प्रस्तुत गरिरहेको छ ।
‘पद्धति’को बहसः समस्या कहाँ छ ?
कांग्रेसभित्र अहिले सबैभन्दा बढी प्रयोग भइरहेको शब्द हो ‘पद्धति’। तर यही पद्धतिलाई लिएर दुई धारबीच फरक–फरक बुझाइ देखिएको छ । संस्थापन पक्षका लागि पद्धति भनेको विधानअनुसार नियमित महाधिवेशन गर्नु, केन्द्रीय समितिको निर्णय मान्नु र सभापतिको नेतृत्वमा पार्टी अघि बढाउनु हो ।
तर गगन थापा समूहका लागि पद्धति भनेको निर्णय प्रक्रियामा पारदर्शिता, महामन्त्रीहरूको भूमिकाको सम्मान, केन्द्रीय समितिमा खुला बहस र संगठनलाई चलायमान बनाउने अभ्यास हो । गगनको आरोप छ, अहिले पार्टी सभापतिको वरिपरि सीमित व्यक्तिहरूले कब्जा गरेका छन् र निर्वाचित पदाधिकारीहरूलाई समेत औपचारिक भूमिकामा सीमित गरिएको छ ।
विशेष महाधिवेशनको आह्वानसँगै यसको वैधानिकतामाथि पनि प्रश्न उठ्न थालेका छन् । संस्थापन पक्षले विधानअनुसार केन्द्रीय समितिको औपचारिक निर्णयबिनै आह्वान गरिएको विशेष महाधिवेशन अवैध हुने दाबी गरेको छ । संस्थापन पक्षका नेता वीरबहादुर बलायर भन्छन्, पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय नमान्नु भनेको बहुमतलाई अस्वीकार गर्नु हो ।
तर गगन थापा समूहले भने प्रतिनिधिहरूको पर्याप्त समर्थन रहेको र पार्टीको संकट समाधानका लागि प्रतिनिधिहरू स्वयं सक्रिय हुनुपर्ने अवस्था आएको तर्क अघि सारेको छ । उनीहरू विशेष महाधिवेशनलाई ‘राजनीतिक दबाब’को उपकरण मात्र नभई प्रतिनिधिहरूको सार्वभौम अधिकारको प्रयोगका रूपमा व्याख्या गर्छन् । करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधिको समर्थन आफूहरूलाई रहेकोले विशेष महाधिवेशन विधिसम्मत रहेको नेता आचार्यको टिप्पणी छ ।
कांग्रेस कार्यकर्तामा अन्योल
नेतृत्व तहको यो टकरावले तल्लो तहका कार्यकर्ता र शुभेच्छुकहरूमा अन्योल बढाएको छ । कतिपय कार्यकर्ताहरू विशेष महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिने अपेक्षा राख्छन् भने केहीले यसले कांग्रेसलाई विभाजनतर्फ धकेल्ने चिन्ता व्यक्त गर्छन् ।
जिल्ला तहमा संगठन निर्माणभन्दा गुटगत ध्रुवीकरण बढ्न थालेको संकेत देखिन थालेको छ । नेताहरूको विवादले स्थानीय तहसम्म असर पु¥याएको भन्दै कतिपय पुराना नेता चिन्तित देखिन्छन् । पुराना नेता सुरेश भुसाल भन्छन्, ‘हामीलाई गुटमा फुटेको कांग्रेस होइन, सग्लो कांग्रेस चाहिएको छ ।’
पार्टीभित्रको शक्ति संघर्ष अब निर्णायक मोडतर्फ अघि बढिरहेको छ । पुस २७ मा आह्वान गरिएको विशेष महाधिवेशन वास्तवमै हुन्छ कि हुँदैन, त्यसले कस्तो स्वरूप लिन्छ र संस्थापन पक्षले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने प्रश्न अहिले टड्कारो बनेको छ । पार्टीका तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिले संस्थापन पक्षले विशेष महाधिवेशनलाई सहज रूपमा नलिएको देखिन्छ ।
एकातिर आम निर्वाचनको दबाब, अर्कोतिर आन्तरिक लोकतन्त्रको माग-यी दुईबीच सन्तुलन खोज्नु कांग्रेसका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ । विशेष महाधिवेशनले पार्टीलाई एकताबद्ध गर्छ कि झन् विभाजन गहिरो बनाउँछ भन्ने कुरा आगामी दिनले स्पष्ट गर्नेछ ।
तर एउटा तथ्य भने स्पष्ट देखिएको छ- नेपाली कांग्रेस अहिले केवल निर्वाचनको तयारीमा मात्र होइन, आफ्नै राजनीतिक पद्धति र भविष्यको दिशाबारे गम्भीर आत्म संघर्षको चरणमा छ ।