फ्रान्सका सम्राट नेपोलियन बोनापार्टको पत्रिकासम्बन्धि एउटा भनाइ संसारभरका मिडियाकर्मीबीच चर्चित छ । उक्त भनाइमा उनले एक विरोधी पत्रिका र एक हजार सशस्त्र सेनामध्ये रोज्नुपर्यो भने विद्रोही पत्रिका रोज्ने बताएका थिए । सैन्य शक्ति र राजनीति बुझेका नेपोलियनको उक्त भनाइको अन्तर्य हो– पत्रिकाले बनाउन सक्ने विचारशक्तिका अगाडि बन्दुकबाट हासिल हुने सैन्यशक्ति फिका हो ।
अठारौं शताव्दीको प्रारम्भतिरका नेपोलियन ती व्यक्ति थिए जसले क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजविरुद्ध उभिए ।
एक्काइसौं शताव्दीको प्रारम्भमा आएर सूचना प्रविधिमा आधारित शक्तिले पत्रिका र सैन्य दुवै शक्तिलाई आफूमा समाहित गरिसकेको छ । सैन्य लडाइँ पनि प्रविधिमा आधारित हुन थालेको छ । रसिया–युक्रेन बीचको युद्ध अभ्यास हेर्दा अब आमनेसामने सैनिक भिड्ने युद्धको युग निकै पछि परिसकेको प्रष्ट हुन्छ ।
अबका युवाहरूको हातमा मोबाइल, इन्टरनेट, क्यामेरा, लाइभस्ट्रीम यी सबै छन् । एउटा पोस्ट गरेपछि एकैछिनमा देशभर मात्र होइन, संसारभर फैलिन्छ । अहिलेको युवाजमात हरेक देशको लडाकु दस्ता हो । यस अर्थमा जेनजी उमेर समूह डिजिटल लडाकु फौज हो । पहिले प्रदर्शन सडकमा मात्रै सीमित हुन्थ्यो । लडाइँ भूगोलमा सीमित हुन्थ्यो । अब टिकटक, इन्स्टाग्राम, युट्युब, एक्स र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत प्रस्फुटित र संगठित हुन थालेको छ । यी सबैले आन्दोलन र विचारलाई तत्काल फैलाइदिन्छ ।
नेपाललाई आजको अवस्थामा ल्याउन धेरै पुस्ताले योगदान दिएका छन् । हाँसिहाँसी ज्यान दिएका ४ सहिददेखि सशस्त्र, शान्तिपूर्ण अनेकखाले लडाइँ धेरैले लडे, जसको योगदानले हामी यहाँ आइपुगेका छौं । तर समयको घडीसँगै मानिसहरूको सोच, अपेक्षा र राजनीतिक समझ पनि बदलिँदै जाँदा सँधै अधुरो र अपुरोजस्तै बन्दै आएका छन् ।
पछिल्ला वर्षहरूमा युवाहरू विशेषगरी जेनजी पुस्ताले सामाजिक सञ्जालमा भ्रष्टाचार र बेथिति विरुद्ध उठाएको आवाजले नेपाली राजनीतिमा ठूलो हलचल ल्याइदिएको छ । करिब १६ देखि ३० वर्ष उमेरका जेनजी युवाहरू जो मोबाइल, इन्टरनेट, प्रविधि र खुला विश्वमा हुर्केका छन् । जीवनको सुरुवातदेखि नै इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किएका उनीहरूको दैनिकी सामाजिक सञ्जाल, अनलाइन स्ट्रिमिङ र डिजिटल सामग्रीसँग गहिरो रूपमा गाँसिएको हुन्छ ।
भ्रष्टाचार र बेथितिले देश तहसनहस पारेको भन्दै सडकमा उत्रिएका जेनजीहरूमाथि भाद्र २३ गते तत्कालीन सरकारले नरसंहार मच्चायो । अनि २४ गते त्यसको विरुद्ध उठेको विरोधको जनआन्दोलनमा घुसपैठ भएर विध्वंश मच्चिएपछि तत्कालीन सरकार बढारियो । त्यसपछि पुराना दलहरू कहाँ उभिएका छन् ? दोस्रो पुस्ता (युवा नेताहरू) के गर्न सक्ने अवस्थामा छन् ? जेनजीले देशको भविष्य बदल्न सक्छ ? अब नेपाली राजनीति कुन दिशातर्फ मोडिन्छ ? पुराना दलप्रति असन्तुष्टि बढ्दै जाँदा तत्काल सम्बोधन गर्नुपर्ने र गर्न सकिने जनताका वास्तविक अपेक्षा के हुन् ? यी सवाल अहिले आमनेपालीको मनमा सवार छन् ।
नेपालका लाखौं युवा धमाधम विदेशिनुको सबैभन्दा ठूलो कारण स्वदेशमै अवसर नपाइने समस्या हो । पुराना दलहरूले दशकौंदेखि देशलाई स्वीट्जरल्याण्ड बनाइ दिने जस्ता हावादारी विकासको कुरा गर्दै आए । यसबीच भएका उद्योगहरू बन्दै–बन्द, कृषि क्षेत्र झन् परनिर्भर, पर्यटन अस्थिर भयो । भएका सीमित अवसर पार्टीका झोलेहरूले मात्रै पाए ।
भ्रष्टाचार संस्थागत रूपमा चुलियो । विकास योजना नेताहरूको तजवीजमा तय भए । सरकारी सेवा लिन सास्ती र घुस घटेन । अनि सीमित शीर्ष भनिएका बुढा नेता आलोपालो कुर्सीमा सवार भैरहे । यी विविध कारणले पुराना दलप्रति युवापुस्ता मात्रै होइन, आम जनताको विश्वास गुम्दै गयो ।
युवाहरू आफूभन्दा गह्रौं सामानको भारी बोकेर विदेश जानु नपर्ने देशको सपना देख्छन् । तर महंगो पढाइ शुल्क, न्यून रोजगारीको अवसर, कमजोर सीप सिकाउने कार्यक्रम, उद्योगधन्दा चल्ने वातावरण नहुँदा जनतामा स्पष्ट सन्देश गयो, पुराना दलले हाम्रो भविष्य सुरक्षित गर्न सकेनन् ।
यसबीच खास सवाल बुढा नेताहरूको ठाउँमा नयाँ नेता स्थापित गर्नु मात्रै हो भन्ने भाष्य निर्माण भैरहेको छ, यो पनि सही छैन । जनताले उमेरमा युवा होइन, सोचमा युवा भएको नेतृत्व खोजेका छन् । कुशासन, भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध परिणाम खोजेका छन् । त्यो पूरा गर्ने स्पष्ट लक्ष्य र कार्ययोजनाको आधार खोजेका छन्।
नयाँ पुस्ताका लागि लागि समानता, सम्मान, पारदर्शिता, अवसरको खाँचो छ । यी उनीहरूको जीवनको आधार हुन् । यी दिनमा संसारभरका युवाका मुद्दा स्पष्ट छन् । उनीहरूले भनिरहेका छन् – मलाई अवसर दे, मेरो भविष्य सुरक्षित गर । जेनजी नाममा अहिले विभिन्न देशमा रातारात युवाहरूले हुँकार गरिरहेका छन् ।
युवा हुँकारले देश र उनीहरू स्वयंका लागि चुनौतीको चाङ पनि खडा गरी दिएको छ । उनीहरूमा उचित र सर्वस्वीकार्य नेतृत्वको अभाव छ । नीतिगत स्पष्टता छैन । विदेश नीति कस्तो ? अर्थतन्त्र कसरी उठाउने ? संघीयताको समीक्षा कुन आधारमा ? निर्वाचन प्रणाली कस्तो हुने ? लगायत मूलभूत विषयहरूमा जेनजी एकरूप देखिँदैनन् । संगठन निर्माणको कठिनाइ छ ।
भावनाले आन्दोलन चल्छ, तर राजनीति चलाउन भने कार्यालय, संगठित सदस्य, नीति, नेतृत्व, विचार, योजना र चुनावी रणनीति सबै चाहिन्छ । जेनजी उभारपछि यी चुनौती पार गर्न सकियो भने नेपाली राजनीति साँच्चै रूपान्तरित हुन सक्छ । त्यसका लागि पुराना दलभित्र सुधार चाहने युवा नेताहरू सक्रिय र एकताबद्ध भएर अघि बढ्न जरुरी छ ।
बाहिरबाट जेनजीले लगातार दबाब दिने र जनता माझबाट माझिँदै आउने बाटो तय गर्नुपर्छ । जनताले अब पार्टीमा समेत पारदर्शिता र जवाफदेहिताको माग गर्दै जनमत बनाउँदै जानु पर्छ । यसरी राजनीतिक संस्कृति क्रमिक रूपमा सुधारिने बाटोमा लागेमा हालको परिदृश्य नेपालका लागि सम्भव अनि व्यवहारिक बन्ने लयमा लाग्न सक्छ ।
परम्परागत दलको संस्कृति, नेतृत्वमा फर्कीफर्की उही ७०–८० वर्षका अनुहार, युवालाई हुकुम र च्याप्ने काम, निर्णय गर्ने ठाउँमा नपुर्याउने, टिकट र पद भागबण्डामा जाने गर्दा पार्टीभित्रकै युवामा खोइ हामीलाई मौका ? भन्ने पीडा बढाएकै थियो । उनीहरू आश र त्रासले व्यापक रूपमा खुल्न सकेका थिएनन् । यसैले जेनजीले ‘अब पुग्यो’ भन्ने भनाइ देशभर फैलाउन सके ।
यद्यपि पुराना दलभित्रै पनि परिवर्तन चाहने युवा नेताहरू छन् । करिब ३५–५५ वर्ष उमेरका, शिक्षित, विचारवान र केही जिम्मेवारी पाएका ‘दोस्रो पुस्ता’का नेता अवसरको लडाइँमै छन् । उनीहरूप्रति जनतामा अझै आशा छ । किनभने धेरैजसोले नयाँ विचार बोकेका छन्, आधुनिक प्रविधि, डिजिटल शासनप्रति आकर्षण, विश्वका नयाँ राजनीतिक मोडेल बुझ्ने क्षमता, धेरै विवादमा नबसेको छवि, सुधार गर्न सक्ने ऊर्जा देखिन्छ । यसैले दोस्रो पुस्ता ‘परिवर्तनको आशा’ पनि बन्न सक्छ, र ‘पुरानै अभ्यासको निरन्तरता’ पनि । सबै कुरा उनीहरूको निर्णय र साहसमा निर्भर छ । यसकारण परिपक्व धारणा राख्नेहरूले भन्न थालेका छन्, यदि पुराना दल सुधारिन्छन् भने यी नेताबाट नै सम्भव छ ।
पार्टीभित्र अझै पुरानै संरचना, निर्णय गर्ने मूल शक्ति अझै पुराना नेताकै हातमा छ । युवाले आवाज उठाउन खोजे पनि निर्णय पूर्ण रूपमा उनीहरूकै आदेशमा निर्भर हुन्छ । टिकट, पद र अवसरको वितरणमा क्षमता र योग्यता भन्दा पनि गुट र आर्थिक लगानी हावी छन् ।
परिवर्तनको व्यापक अपेक्षाबीच हालै नेकपा एमालेको अध्यक्षमा केपी ओलीको निरन्तरताको ‘भारी अनुमोदन’ भैसकेको छ । नेपाली कम्युनिष्ट पार्टीमा शब्द फेरबदल गरी पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफ्नो सर्वोच्चता कायम गरिसकेका छन् । कछुवा गतिमा निर्णय लिइरहेको नेपाली कांग्रेसमा प्रशव कहर सकिएको छैन । एमाले र नेपाली कम्युनिष्ट पार्टीकै गतिमा पुरानै जामा भिर्छ कि कांग्रेसले नेतृत्वमा नयाँ अनुहार दिएर कार्यकर्ता पङ्तिमा आशाको सञ्चार गराउँछ हेर्न बाँकी छ ।
यही बेला काठमाडौं महानगरका मेयर बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता भएको छ । सहकारी ठगी मुद्दामा जेलमा रहेका रवि लामिछाने तारेखमा रिहा भएपछिको एक सातामै यी दुईबीच रातारात एकता भएको छ । बालेनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार भन्दै यो उधारो सहमति गरिए पनि जेनजी विद्रोहको अर्थ ‘रूप’ र ‘सार’मा नकेलाई ड्राइभर फेरेर मात्रै केही हुनेवाला छैन भन्ने बुझ्न जरुरी छ ।
एउटा कुरा निश्चित छ, अब पुरानै ढर्राको राजनीति चल्ने समय सकिएको छ । युवा लहर उठिसकेको छ । प्रश्न उठिसकेका छन् र अब जवाफ माग्न थालिएको छ । नेपाल राजनीतिक सुधारको बाटोमा उभिएको छ । अघि बढ्यो भने नयाँ इतिहास लेखिन सक्छ र पछाडि हट्यो भने उही निराशाको चक्रमा फँसिरहन सक्छ । बाह्य शक्ति सन्तुलन मिलाउन सक्ने हो भने संकेतहरू भने आशालाग्दा छन् । युवा उठ्दैछन् । समाज बोल्दैछ । र ४ दशकदेखि कुर्सी दौड गरिरहेका ठूला पार्टीका शीर्ष नेताको पञ्जाबाट राजनीतिक बागडोर दोस्रो वा नयाँ पुस्तातर्फको दिशामा बलपूर्वक घचेट्ने प्रयास हुँदैछ । जुन आम जनताले व्यग्रताका साथ हेरिरहेका छन् ।
हुन त पुराना नेताहरू आफ्नै ढङ्गमा देश चलाइरहने, जनता उनीहरूलाई गाली गर्ने अनि फेरि चुनाव आएपछि उही अनुहार दोहोरिने यो चक्र धेरै वर्षदेखि घुमिरहेकै हो । तर, यस पटक मोबाइलमा जन्मिएका, इन्टरनेटमा हुर्किएका र डिजिटल संसारमा बाँचिरहेका युवा सडकमा आउने बित्तिकै पुराना दलको घडी ब्याट्री झिकेर रोकिएजस्तो बनाइदिए । सडकमा उत्रिएका जेनजीले उनीहरूलाई पनि तानेर सडकमा त ल्याए । तर, कांग्रेस नेता गगन थापाले भने झैं यतिका यी मानिस किन सडकमा आए ? किन यति बिघ्न रिसाए भनेर समीक्षा गरी त्यसअनुसार कदम चाल्नुको साटो खहरे खोलो एक छिन आयो, सुसायो गयो भन्ने ओली पथ पछ्याए भने न दलहरूको न देशको हित हुनेछ ।
जेनजी उभारसँगै देखिएको यो आक्रोश, विद्रोह र लडाइँ रूपमा उमेर समूहविरुद्धजस्तो देखिए पनि सारमा कुशासन, भ्रष्टाचार र राजनीतिक विकृतिविरुद्ध हो । यो कुरा ढिलोचाँडो नयाँ, पुराना दल र आमजनता सबैले बुझ्नै पर्छ । यो कुरा आम बुझाइ बनेको दिनमा मात्रै असलमा नेपाल नयाँ राजनीतिक यात्राको गाडीमा सवार भएको हुनेछ ।