सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूपमा कोभिड–१९ फैलियो । जसले गर्दा २०२० को जुनमा अमेरिका उड्ने मेरो योजना स्थगित भयो । सन् २०२१ मा उक्त कार्यक्रम भर्चुअल सहभागितामै सकियो । तर, विस्तारै कोभिड महामारी नियन्त्रणमा आयो अनि त्यो अवसर मेरो सामुन्ने फेरि आइपुग्यो । अन्ततः मैले सन् २०२२ को नोभेम्बरमा अमेरिकाको राजधानी वासिङ्टनडीसी ओर्लिने शौभाग्य पाएँ ।
सपना देख्ने धेरैका आँखामा बसेको मुलुक मानिन्छ अमेरिका । संसारभरका मानिसहरूका लागि एकपल्ट पुग्नै पर्ने सपनाको देश लाग्छ । त्यहाँ त्यस्तो के होला त ? यो प्रश्न मेरो मनमा पनि थियो । म करिब ५ साताको यात्रामा अमेरिकी सरकारको निम्तोमा त्यता निस्किएको थिएँ । कौतुहल नयनका साथ मैले अमेरिकी माटोमा पाइला टेकेको थिएँ ।
विश्वभरका युवाहरुका लागि सञ्चालित ‘इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम’ ले यस्तो अवसर जुराइदिएको थियो । झण्डै ८५ वर्षदेखि नियमित रूपमा सञ्चालित यो कार्यक्रममा विभिन्न पेशा र क्षेत्रका युवाहरूलाई विश्वभरबाट सामेल गरिन्छ । यो कार्यक्रममा अमेरिकाको ऐतिहासिक पृष्ठभूमि, विकास र सभ्यता बारे बुझाउने गरिन्छ । यसका साथै विभिन्न राज्यहरूको भ्रमण गराउँदै विषयगत ज्ञान र सीप आदानप्रदान गरिन्छ।
म सहभागी कार्यक्रम ‘मिथ्या सूचनाको युगमा मिडियाको जिम्मेवारी’का विषयमा केन्द्रित थियो । यसमा १३ देशबाट १८ जना पत्रकारहरू सहभागी थियौं । कोभिड टेस्टको लय सँगै आईभीएलपीको ज्ञानयात्रा पूरा भएको थियो । तीन सातामा विभिन्न राज्यका ऐतिहासिक स्थलहरुको अवलोकनसँगै विषयगत छलफलहरुमा सरिक हुने मौका मिल्यो ।
अमेरिकाको स्टेट डिपार्टमेन्ट, जर्ज वासिङ्टन युनिभर्सिटी, इन्भेष्टिगेटिभ जर्नालिष्टहरुको इन्टरनेशनल कन्सोर्टिएम, पार्लियामेन्ट, जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन लगायत संस्था र प्रख्यात वरिष्ठ पत्रकारहरु सँग अन्तर्क्रियाको मौका जुर्यो ।
यसक्रममा ५० वर्ष पत्रकारितामा बिताएका वरिष्ठ प्रशिक्षक अल टम्किन्ससँग भ्रामक सूचनाबाट बच्न पत्रकारले अपनाउनु पर्ने सावधानीका बारेमा गज्जबको सम्बाद गर्न पाइयो । विश्वप्रख्यात पोइन्टर इन्स्टिीच्युट अफ मेडिया स्टडिजमा उहाँसँग फ्लोरिडाको सेन्ट पिटसबर्गमा यस्तो मौका मिल्यो । समग्रमा आईभीएलपीमा सहभागी पेशागत ज्ञान आर्जनका लागि महत्त्वपूर्ण सिकाइका रूपमा रह्यो ।
टाइमजोन फरक हुने भएकाले ट्रान्जिट समेत झण्डै २४ घण्टाको हवाइ यात्राका क्रममा बाटोभरि अँध्यारो मात्रै पर्नेरहेछ । वबहानपख ओर्लदा डिसी चम्किलो उज्यालोमा आफ्नै गतिमा दौडिरहेको थियो । जहाजले जमिन तिरको उचाइँ घटाउँदै जाँदा वासिङ्टन डुलस इन्टरनेशनल एअरपोर्टबाट अमेरिकाको पहिलो दर्शनमा आसपासको दृष्य हरियाली सहितको योजनाबद्ध भौतिक पूर्वाधार सुसज्जित देखियो ।
सँगै पढेका साथीभाइ र आफन्तको भरले म कार्यक्रम सुरु हुनु भन्दा झण्डै १० दिन पहिले पुगेको थिएँ भने फर्किँदा पनि करिब एक साता बढ्ता लम्ब्याएको थिएँ । कार्यक्रमका दौरान ४ वटा राज्य घुम्ने मौका मिल्यो भने साथीभाइका कारणले ५ वटा थप राज्य घुम्ने मौका पाएँ । खासगरी अमेरिकाका प्रमुख एक दर्जन जति शहर घुम्ने अवकरिब एक महिना बढीको अमेरिका बसाइँका क्रममा मिल्यो ।
अलिकति उत्साह, अलिकति अंग्रेजी भाषाको डर अनि अलिकति केही देख्ने सिक्ने रहर बोकेर म अमेरिका पुगेको थिएँ । कतार एअरको सयौं यात्रु बोक्ने बडेमानको वोइङ जहाजमा दोहा हुँदै मेरो रुट थियो । संयोगले तीन सिटे लहरमा म मात्र यात्रु थिएँ । जसका कारण आकाशमा मज्जाले सुतेर यात्रा गर्ने सौभाग्य मिल्यो । यात्राको थकान, निद र बेलाबेला जहाजको टर्बुलेन्सका कारण मन डराइरहेका बेला कतार एअरका परिचारिकाहरू ‘एक्सक्युजअस’ भन्दै खानपिनको सेवा दिइरहन्थे । उनीहरुको ‘हस्पिटालीटी’ तारिफयोग्य लाग्यो ।
जहाजबाट झर्ने वित्तिकै ‘वाइफाइ कनेक्ट’ गर्न हतारो भयो । दोहाबाट डीसीको झण्डै १४ घण्टाको फ्लाइट थियो । मेरो जिवनको यो पहिलो लामो हवाइ यात्रा पनि थियो । सञ्चार सम्पर्क लामो समयसम्म नहुँदा मन अलि आत्तिने रहेछ । वाइफाइ जोडिने वित्तिकै सहपाठी साथी निदेश अधिकारीसँग कुरा भयो । अर्को साथी बाबुराम खरेलसँग कुरा भयो । दुवैजना मलाई ‘रिसिभ’ गर्न एअरपोर्ट बाहिर पर्खिरहेका थिए । इमिग्रेसनको औपचारिकता पूरा गरेर लगेज बुझेर अमेरिकाको खुला आकाश तर्फ अघि बढें । निदेशसँग बाबुनानी पनि सँगै थिए । बेलुन र बुकी सहित साथीहरुबाट स्वागत पाइयो ।
एअरपोर्टदेखि नजिकैको भर्जिनियाँस्थित मनासससम्मका लागि हामी गाडीमा चढ्यौं । अमेरिकी भूगोल स्पर्श सहितको पहिलो नजारामा सिनेमाको रीलझैं लाग्ने दृष्य देखिए । भौतिक विकास र मानव जीवनशैली अचम्म लाग्दो गरी समान गतिमा कुदेको अनुभव भयो ।
जहाँ जाउँ उस्तै । जे सोच्यो त्यही पुगे जस्तो । हरेक व्यक्तिसँग निजी कार सामान्य छ । असाध्यै पूराना र ठूला शहरमा बाहेक अन्यत्र त निजी कार हुनु अनिवार्यजस्तै छ । नत्र त दैनिकी चल्नै मुश्किल हुने रहेछ । उपभोग्य सामान किन्न होस् कि काम गर्न होस् टाढै पुग्नु सामान्य हो ।
वासिङटन डिसी, न्युयोर्क, बाल्टिमोर, फिलाडेल्फिया, पेन्सिलभेनिया, एटलान्टा, डालस, ह्युस्टन, लसएन्जल्स, सेन्ट पिटसवर्ग, टेम्पा लगायत शहर घुम्ने मौका मिल्यो । अमेरिकामा आधुनिकता र मौलिकताको अद्भुत संयोजन देखियो । आदिवासी संरचना र अत्याधुनिक विकास एकै ठाउँमा अवस्थित देख्दा आश्चर्यचकित भएँ । सफा बाटो, खुला सोच, व्यवस्थित सिस्टम, स्मार्ट पार्किङ, वृृद्धहरूप्रतिको व्यवहार, रिटायर्ड नागरिकहरुले दिने होम हस्पिटालिटी– यी सबैले अमेरिका के हो भन्ने बुझाउने अवसर दियो ।
हर्सी चकलेट, कोकाकोला जस्ता चर्चित ब्राण्डका उद्योग भिजिट गर्न पाइयो । उनीहरुले उत्पादन र उद्योगलाई पर्यटसँग गज्जबले जोडेका छन् । हामीकहाँ जस्तो सुरक्षागार्ड उभिएका बडेमानका बन्द गेट त्यहाँ हुँदा रहेनछन् । पूराना संरचनाहरुको संरक्षण, जातीय पहिचानको निरन्तरतामा आधुनिक अमेरिकाले उसै गरी टेको दिइरहेको रहेछ । आदिवासी रैथाने वस्तीमा अहिले पनि उही सभ्यता बाँकी छ, पयर्टन स्थलका रुपमा मानिस पुग्दा रहेछन् ।
बसाइँका क्रममा केही प्रतिनिधिमुलक नेपाली समुदायसँग भेट भयो । उनीहरुको समग्र प्रगति गौरव गर्न लायक देखेँ । नेपाली समुदायभित्रको एकता, सहयोगभाव, सफलता र संस्कारको समिश्रण देख्दा मन आनन्दित भयो । पत्रकारिता पढ्दाका कलेजका साथी निदेश अधिकारीले भर्जिनियामा गज्जवले व्यवसाय गरेका छन् । त्यहीँ बाबुराम खरेलले सूचनाप्रविधिमा विशेषज्ञ सेवा दिन्छन् । बाल्टिमोरमा चर्चित गायक प्रेमराजा महतको रेष्टुरेन्टमा नेपाली स्वादमा रमाउन पाइयो । काठमाडौं छिर्ने वित्तिकै मैले पहिलो पल्ट काम सुरु गरेको जन्मभूमि साप्ताहिकका सहसम्पादक तरुण पौडेलसँग झण्डै २ दशक पछि त्यहीँ भेट भयो । व्यवसायसँगै उनको सामाजिक छवि पनि अनुभूत गर्न पाइयो । संयोगले बाल्टिमोरमै रहेकी माता देवीसँग आत्मीय भेट भयो । पेन्सिल्भेनियाको ल्यानकाष्टरमा बसेर सहपाठी विष्णुहरी घिमिरे पत्रकारितामै रमाएको भेटिए ।
न्यूयोर्कको यात्रा भने अलि हतारोको रह्यो । लक्ष्मीपूजाको दिन थियो । टुर गाइडझैं खटिएर साथी बालकृष्ण बस्नेतले न्युयोर्कका करिब देख्नै पर्ने स्थानमा एकै दिनमा शहर घुमाइ दिएका थिए । फटाफट समय मिलाउने उनको कौशल गज्जव थियो । टेक्ससको डालसमा संस्थागत रुपमा स्वागत गर्ने नेपाल अमेरिका पत्रकार संघ र त्यसका अगुवा विकास न्यौपाने, सुरज भण्डारी, ओम आचार्य लगायत पत्रकारहरुको आत्मियता स्मरणीय रह्यो । यहीँ सिनियर पत्रकार रामचन्द्र भट्ट, संजय घिमिरे लगायतसँग भलाकुसारीको मौका मिल्यो । सहपाठी भोला आचार्यले ठाउँ सरेका र विनय देवकोटा नेपाल फर्केकाले त्यहाँ भेट जुरेन ।
लसएन्जल्समा काठमाडौं पढ्दाताका रुम पार्टनर कृष्ण आचार्यको विजनेसको साक्षी हुन पाइयो । उनी पहिल्यैदेखि व्यापारमा रमाउँथे । उता पुगेर पनि मनग्गे व्यवसाय गरिरहेका रहेछन् । यसरी जहाँजहाँ पुगियो साथीहरुको आत्मिय समय पाइयो । मज्जाले घुमियो अनि कहिल्यै भुल्न नसकिने मेजमानी खाइयो ।
काठमाडौं आउँदा सुरुमा हामी बाहिरकालाई स्टोभ बाल्ने सलाई किन्ने पैसा नहुँदा समेत भोकै पर्नु पर्ने अवस्था थियो । सात समुन्द्र पारीको अमेरिकामा पनि सुरुसुरुमा पुग्ने नेपालीहरुलाई आफन्त, साथीभाईको अभाव खट्कियो होला । तर, अब त जता जाउँ नेपाली नपुगेको ठाउँ छैन । चाडवाडमा भव्य उत्सब हुने रहेछ । भर्जिनियाको मनाससमा तिहार मिलन कार्यक्रममा हल खचाखच थियो । नेपाली गीतमा अमेरिकामा हुर्किरहेका बालबालिका समेत मौलिक पहिरनमा नृत्य गरिरहेका थिए । नेपाली परिकार पाकेको थियो । अमेरिकामा नेपालीहरुको संख्या तीन लाख बढी पुगेको अनुमान छ ।
हाम्रै साथी सर्कलले पनि उधुम उन्नती गरेको पाउँदा मन आनन्दित भयो । उनीहरुले गज्जवले अमेरिकीलाई पनि रोजगारी दिएका छन् । उनीहरुको व्यापार कौशलले प्रगति चुलिदै गएको देखियो । आहा..., गुगलम ‘सर्च’ गर्दा नेपाली भाषा, नेपाली खाना, नेपाली सिनेमा, नेपाली पसल सबै आसपास पाइन्छ ।
यस्ता अनेक कारणले यो यात्रा केवल पेशागत ज्ञानको अभिवृद्धि मात्र भएन, जीवनकै स्मरणीय सिकाइ भयो । एक दर्जन बढी देश पुगें, तर वास्तवमा यात्रा त आफैलाई बुझ्ने हुने रहेछ । भुगोल चहार्नु भनेको आफु जन्मेको देश, आफुले भोगेको भुगोल, संस्कृति र समुदायका सपना र बास्तविकता अनि बाहिरको मानिसका बास्तविकता र सपनाबीचको निकटता र दूरी कल्पिनु रैछ । यात्रा सकिएको तीन वर्ष हुन लाग्यो तर अनुभूतिहरू अझै ताजै छन् ।
यसपाली फेरी अर्को सन्दर्भमा त्यही अमेरिकाका केही शहर र छिमेकको क्यानडा समेत विचरण गर्ने मौका जुर्यो । उस्तै अनुभूति र कौतुहलता सहित फर्किएँ । यसपालीको यात्रा सुरु हुने वित्तिकै यता नेपालमा युवाहरुको मनमा आगो सल्कियो । त्यो आगोले हाम्रो इतिहास र सम्पदा पनि जलायो । यी चित्रहरुले न यात्रा फलदायी बनाउन सकियो न उमङ्गमय रह्यो । फगत आफन्त र परिवारको सम्झना र देशको चिन्ताले गाँज्यो । मुलतः सोसल प्लेटफर्मका लागि सडकमा निस्केका भाइबहिनीहरुमाथि सरकारी दमनले ठूलो क्षति र प्रतिकार निम्त्यायो । राज्य विहिनताको स्थितिमा देश पुगेपछि उता विदेशमा त्यही सोसल प्लेटफर्मबाट आउने विभिन्न भ्रामक र कतिपय सहि सूचनाले नै मन अत्यासलाग्दो बनाइ दिदो रहेछ ।
मेरो पुस्ताको नियती नै कस्तो परेछ, यो पुस्ता आन्दोलनकै बीचमा जन्मियो । आन्दोलनकै बीचमा हुर्कियो । आन्दोलनकै बीचमा यसले पढ्यो । आन्दोलनकै बीचमा कर्ममा छ । अनि आन्दोलनकै बीच जीवन जाला जस्तो छ । आफ्नो माटोमा अन्यौलको बादल मडारिँदा मनले आफ्नो भूगोल र आफुले चहारेको भूगोलको अवस्था र नियती बीचको हिसाब खोज्दो रहेछ । अनि मनमा एउटा ठूलो प्रश्न खडा गरिदिँदो रहेछ, हाम्रा पुर्खा ढिलो जन्मिए कि उनीहरु संसारको गति मिलाउन नसक्ने गरी निकै ढिलो हिँडे ? यो एउटा फुच्चे प्रश्नले पनि मनमा विशाल आक्रोश र निराशाको पहाड खडा गरिदिँदो रहेछ ।
कहाँको समृद्धिको शिखर चढेको अमेरिका र उनीहरुको जनजीवन ? अनि कहाँ ‘अमेरिकी साम्राज्यबाद मुर्दाबाद’को नारा सुन्दै हुर्केको हाम्रो पुस्ताको जीवन । हाम्रो राजनीतिक पछौटेपनलाई सराप्न मन लाग्ने रहेछ यस्तो देख्दा । कहाँ प्रतिव्यक्ति वार्षिक आय झण्डै एक हजार ५ सय डलर भएका हामी र कहाँ प्रतिव्यक्ति आय झण्डै ७५ हजार डलर पुर्याएका अमेरिकी । समृद्धि र उन्नतीले पो शक्तिशाली बन्ने रहेछ देश । नारा मात्र लाएर देश समृद्ध र नेपाली सुखी हुने भए त जति ‘लालसलाम’ ठोके पनि पीर के को थ्यो र !
शहर, समाज, भूगोल, पूरै देश नै सिनेमाको रिल जस्तो लाग्छ । मस्त छ अनि पूरा होश हवासको लयमा छ । खोट लाउने कहिँकेहि ठाउँ बाँकी छैन जस्तो । सडकमा मानिस देखिदैनन् । कि आकाशमा उडेका छन् । कि गाडीमा गुडेका छन् । जमीन मुनी पनि ट्रेनका रुट छन् । मान्छे पार्कतिर, ठूला मल तिर वा रेष्टुराँ तिर देखिएलान् । ती पनि आफ्नो काममा व्यस्त । फुर्सदिलो र बेकामे मानिस त कतै नजर पर्दैनन् ।
सडकका ठाउँ ठाउँमा हल्का यू सेफमा चेन क्याफे, रेस्टुराँ छन् । गाडीबाट नओर्लिकनै आफुले चाहेको कफी, खानेकुरा अर्डर गर्न सकिन्छ । अनि पैसा तिरेर अर्को झ्यालमा रिसिभ गर्न सकिन्छ । ‘ड्राइभ थ्रु’ भनिने यस्तो सेवा लिन गाडीबाट ओर्लने झन्झट नै हुदैन । जता जाउ उस्तै बाटो छ । चिल्लो, सफा, चौडा, कैयौं लेनका । ट्राफिक सिग्नल व्यवस्थित छन् । ट्राफिक प्रहरी कतै देखिदैनन् । सब कुरा सिस्टममा छ । सामान्य मजदुरी गर्ने सँग पनि कार छ । नेपालमा जस्तो घरै पिच्छे पसल र टोलै पिच्छे बजार हुदैनन् । त्यसैले कार भएन भने दैनिकी नै रोकिने जस्तो पनि हुने रहेछ । हामी कहाँ जस्तो नुन सकिए तत्कालै किन्न जाने जस्तो सहज पनि त्यहाँ छैन । मज्जाले केहि दिनलाई पुग्ने गरी दैनिक उपभोग्य वस्तु खरिद गरेर राख्ने चलन हुनेरहेछ ।
हरचिजका लागि बैंक र संस्थाहरुले क्रेडिट सुविधा दिएका छन् । कमाएर तिर्न सक्नु पर्यो, लोनको सकस छैन । मानिसहरु कि जहाजमा कि आफ्नै कारमा बढि रमाउने रहेछन् । सार्वजनिक यातायातका साधन निकै व्यवस्थित र भरपर्दा भए पनि आफुसँग सुविधा हुनेहरुको रोजाईमा खासै पर्ने देखिएन । अपाङ्गता भएकाहरुका लागि ध्यान नदिएको पूर्वाधार देखिदैन । बाटो, घर, शौचालय, पार्क, सपिङमल, शैक्षिक संस्था जहाँ पनि पूरापूर ध्यान दिइएको अनुभुत हुन्छ ।
‘होमलेस’ मानिसहरु चाँहि यत्रो विशाल र समृद्ध देश अमेरिकामा पनि देखिदा रहेछन् । बाटोघाटोमा, ट्रेन स्टेशन तिर उनीहरु माग्न बसेका देखिन्छन् । बाह्रै्र महिना ठिक्कको मौसम हुने लसएन्जल्समा यस्तो समस्या झन् बढि रहेछ । होमलेसले अड्डा जमाउलान् भनेर यहाँ घरको पेटी जस्तो ठाउँमा फुटेका काँचका टुक्रा वा किल्ला ठोकिएको देखिन्छ । अनि न्यूयोर्कको ज्याक्सन हाइटले पनि फरक परिचय जस्तो बनाएको छ । अधिकांश भारतीय, नेपाली, बंगाली लगायतको बसोबास यहिँ छ । महेशविक्रम शाहको कथा संग्रहमा मज्जाले ज्याक्सन हाइटको कहानी पढ्न पाइन्छ ।
जता पनि साह्रा निर्माण पूर्ण छ । नेपालमा जस्तो पाइलै पिच्छे खाल्टाखुल्टी छैनन् । अनि जता जाउ अस्तव्यस्त काम भैरहेको पनि देखिदैन । भैरहेको भए यति मज्जाले व्यवस्थापन गरिएको हुन्छ कि कत्ति पनि फोहर वा धुलोपानी बाहिर देखिदैन । कसैलाई असर नपार्ने गरी तारतम्य मिलाइएको हुन्छ । सिनेमाको दृष्य जस्तो सबकुरा सफाचट छ । कहिँ कतै निर्माण कार्य वा मर्मत भैरहेको देखिए अनौठो लाग्छ । जमीन पनि कि पिच वा कालोपत्रे छ, कि खेतमा बाली झुलिरहेको छ वा मज्जाले संरक्षित जङ्गल छ । जङ्गलमा पनि पिच बाटो वा काठका फलेकले मज्जाले हिँड्न मिल्ने गरी ट्रेक बनाइएको देख्दा अचम्म लाग्छ ।
हामीकहाँ जस्तो उवडखावड, उजाड जमीन कतै देखिदैन । प्रकृति पनि सबै मान्छेले बनाए जस्तो देख्दा अचम्म लाग्छ । छाडा पशु कतैदेखिदैनन् । पशुपालन क्षेत्र पुग्दा पनि सबकुरा व्यवस्थित देखिन्छ । पीच बाटोमा सरर कार हुइँक्याउँदै गाई फार्म पुग्दा गाइहरु प्नि सानदार सुविधा सहित देखिन्छन् । सफा र विशाल गोठको छेउमा भव्य डेरी क्याफे देखिन्छ । जहाँ मज्जाले मानिसहरुले ताजा उत्पादन खाइरहेका हुन्छन् । गाई फार्ममा फोटो खिच्दै रमाएको देखिन्छ । उत्पादनलाई उपभोक्ता सँग सिधै जोड्ने गजव अभ्यास छ । उद्यमलाई पर्यटन सँग जोड्ने प्रयास झन् अनुकरणीय छ ।
नेपालमा दुई वर्ष अघि मनाङको स्याउ फार्ममा नमिठो अनुभव बोकेको थिएँ । स्याउ मार्फमा फोटो खिचौं भनेर उत्साही भएर गाडीबाट झर्दा प्रति व्यक्ति ५ सय रुपियाँ लाग्ने बताउँदा हामी निराश भएर फर्किएका थियौं । त्यसै विकट त्यो ठाउँमा सितिमिति चरो मुसो पुग्दैन । किन फोटो खिच्न तेत्रो पैसा राखेको हो वुझ्न सकिएन । तर यसपाली अमेरिकामा एउटा स्याउ फार्म पुग्दा गजव अनुभव गर्न पाइयो । फार्ममा फोटो खिच्न मात्र होइन सकेजति खान पनि पैसा लाग्दो रहेनछ । किन्न मन लागे किन्यो नभए मज्जाले बोटबाट मन लागुन्जेल खायो, फक्र्यौ । नेपालमा मुगलिन नजिक रहेको बाह्रसिंगे वियर कारखानामा चाँहि गजवको दृष्य देख्न पाइन्छ । फोटो खिच्न र फ्याक्ट्रीमै वियर पिउन पाउँदा पुग्नेहरु दङ्ग देखिन्छन् ।
आँधी, हुरीको डर हुने भएकाले आवासिय घर भने प्रायः साना हुने रहेछन् । पूरानो र ठूला शहरमा अपार्टमेन्टहरु अग्ला हुन्छन् । व्यवासायिक भवन अग्ला र भिमकाय ठूला हुन्छन् । तर, नीजि आवासीय घरहरु प्राय एकैनासे र उत्रउत्रै देखिन्छन् । अधिकाशंको जमीनमुनी एकतला बनाइएको हुन्छ ।
समयको पालना बारे त बाफ्रे । आइभीएलपी कार्यक्रम अन्तर्गत जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा जानु थियो । जहाँ पनि हामी सेडुलमैं पुगिन्थ्यो । त्यहाँ दुई घण्टा ढिलो भयो । दिनभरको सेडुल सहित गाडीमा गैरहेका थियौं । आज नमज्जाले थाकिने भैयो भनेर गफिदै पुगेका थियौं । बेल्कासम्मको टाइट सूचि थियो । एसियाली भुगोलका हामी त्यहाँ पुग्दा त चकित पर्यौं । हामी जतिबेला पुग्यौं त्यतिबेलैको सेडुलबाट कार्यक्रम सुरु भयो । अघिको सबै सेडुल हटाइएको थियो ।
जहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपाली संस्कार, सभ्यता, खाना, पहिरन, भाषा पुगेको छ । यस हिसावले नेपाल बाहिर गएका नेपालीहरू नेपालका अवैतनिक दूत जस्ता लाग्दो रहेछ । नेपालबाट विदेशिने सबैलाई पलाएन भएका, सुख खोज्न गएका वा नेपाललाई माया नगर्ने रुपमैं सोच्ने गरिन्छ । तर, विदेश पुगेर सोच्ने हो भने फरक लाग्दो रहेछ । संसार भर नेपाली पुगुन् । फैलिउन भन्ने लाग्दो रहेछ ।
संयोगले अमेरिकामा चुनावका बेला परेको थियो । भोट हाल्ने सुविधा पनि गजव लाग्यो । निर्वाचनको दिन मतदान स्थलमा पुगेर भोट हाले भो । घरमै मतदान गर्ने अनुरोध गरेर मतपत्र मगाई भोट गरेर हुलाकबाट पठाए भो । अनि तोकिएको स्थानमा पुगेर पहिले नै मतदान गर्न (Early Voting) पनि पाइँदो रहेछ । मतदान यसरी असाध्यै सरल हुँदो रहेछ । नेपालमा जस्तो स्थायी ठेगानामै पुगेर तोकिएकै दिन भोट हाल्ने झमेला छैन ।
बरु उतै जन्मिएका नेपाली मुलका बालबालिकाको भविष्यको चिन्तामा नीतिगत तहमा पुग्ने नेपालीहरु सजग देखिए । मतदान स्थलमा भेटिएका सासंद ह्यारी भण्डारी आउने पुस्ता न नेपाली न अमेरिकन जस्ता नहोउन् भनेर नीतिगत व्यवस्थामा आफ्नो ध्यान रहेको बताए । उनी मतदानका दिन छोरी सँग मतदान स्थलमा भेटिएका थिए । यताको जस्तो मेला लागे जस्तो केहि हुँदो रहेन छ । न भीडभाड न तामझाम । दैनिक हुने काम जस्तो मान्छे आउँथे, भोट हाल्थे, फर्किन्थे ।