पूरानो दिनका स्मृतिमा पारिवारिक कुराकानी चल्दै थियो । बिर्सन नसकिएका, मनमा गडेर आसन जमाएर बसेका सन्दर्भ उप्किएका थिए । मनमा बसेका खाटाको यादले उहिल्यै सामसुम भएको भल फेरि उर्लिँदो रहेछ । बग्न लागेको भल सुसाइरहन स्वयंको हिम्मत र सामुन्नेवालाको धैर्यता चाहिँदो रहेछ ।
खाना खाइवरी बेलुका अबेरसम्म विगततिर फर्किँदै गफिँदा पाकापुस्ताको भावभंगीले यसै भन्थ्यो । उनीहरू कुरा उप्काउँथे अनि बीचैमा मोडिदिन्थे । सायद त्यो आँट र धैर्यता अब बाँकी थिएन । अरूको मनभित्रका डाम देख्ने र त्यसको नापो लिने ताकत सायद भगवानले मानवचोलाका कसैलाई दिएका छैनन् । शरीरमा बसेका खाटा सबैले देख्ने रैछन् । जति पुरानो भए पनि खतको डाम उस्तै, उत्रै ।
मामाघरकी मेरी बज्यैले मेरा बारेमा भनेकी थिइन् – ‘आ...यो क्या सम्झला त, त्यति नानो माण्ठ । त्यही बेलाआ... कुडा । यैको नाडीको डामको नापो आफै बोल्लो ।’
म जन्मेको पहाडको सम्झना ४ वर्षको बालक मनले खासै राख्न सकेन । सामान्य स्मृति मात्र आउँछ । मेरो घरको चुल्हो, ओटालो, ओटालोबाट देखिने ओखरको रुख, घरछेउको नासपातीको बोट, पल्ला टोलको मामाघर जाने त्यो पहाडको डिलैडिलको बाटो, बीचमा पर्ने पानीको ढल, रुँदै पर्खेर उभिएको देखेर मलाई तारिदिने मैले बिर्सिएका ती आफन्त, हिलोमा झरेका ओखर र मामाघरमा बज्यैले ख्वाउने दूधभातका पल धमिलै सही सानै मनदेखि नबिर्सिने गरी गढेका छन् ।
मन कमलो भुवा झैं भएर बहकिएका बेला भुरुरु ती यादहरू फर्कीफर्की आइरहन्छन् । तराई झरेपछि विस्तारै मेरो उमेर अनुसारका स्मृतिका छाप मनमा प्रष्ट हुने नै भए । सानो उमेर भए पनि सायद मानिसले नदेखिने मनको चोट होस् वा देखिने जीउको चोटका सन्दर्भ चटक्क बिर्सन सक्दो रहेनछ ।
मैले मेरो हात अगाडि सार्दै भनेको थिएँ– ‘यी मेरो पुरानो सम्झना ।’ बज्यैले मेरो दाइने हातको नाडीमा रहेको खतको सन्दर्भ जोडेकी थिइन् ।
बर्दियाको राजापुर क्षेत्र । राजापुर भित्रको एक गोला । त्यही गोलाको खोनपुर । कर्णाली नदीको दुई भङ्गालोले घेरेको छ– बर्दियाको राजापुर क्षेत्रलाई । थारु समुदायबीच भौंरा टप्पुको नामले पनि चिनिन्छ । तत्कालीन एघार गाविसको राजापुर इलाकालाई श्रीलंकाको टापुका रूपमा पनि चिनाउने चलन छ ।
उत्तर चिसापानीमा कर्णालीको दोभान छ भने दक्षिणतर्फ भारतको जङ्गली फाँट छ । यसैभित्र उत्तरतर्फ पर्छ– गोला । त्यसको दक्षिण क्षेउमा पर्छ खोनपुर ।
यहाँ मेरो पाहुना अवधि सकिन नपाउँदै मैले ठूलै खतको चिनो पाएको थिएँ । अचेलजस्तो उपचार चेत र यातायात सुविधा भए नेपालगन्ज पुर्याएर भए पनि घाउमा टाँका लगाइदिँदा हुन्, बुवाले । मामा पनि साथैमा जाँदा हुन् । टिटानसको सुई लगाइदिँदा हुन् । तर, भर्खर औल झरेका, के खाऊँ ? के लाऊँ ? बेलाका बाआमालाई त्यस्तो चेत कसरी आउनु ? अनकन्टार जस्तो चारैतिर कर्णाली नदीले घरेको गाउँबाट नेपालगञ्ज जानु कहाँ सजिलो थियो र ? कैयौं घण्टा पैदल हिँडेर, कोठियाघाटको कर्णाली नदीमा डुङ्गा तरेर, भारतको कतर्निया हुँदै बस समातेर नेपालगन्ज पुगेर उसैगरी फर्कनु समय, पैसा सबै हिसावले त्यसबेला निकै कहालीलाग्दो यात्रा हुन्थ्यो ।
मनमा चेत आएर पनि कसरी नेपालगञ्ज लानु ? मलाई सम्झना छ, भाँगो निचोरेर बज्यैले रस चुहाइदिएको । अनि निचोरेका भाँगाकै पातको मल्हम जस्तो थुप्रो पारिदिएको ।
नाडीको घाउ त केही दिनमा बिसेक भयो तर, नमेटिने ठूलै खतको साइनबोर्ड चाँहि टाँगेर गयो । उमेरसँगै नाडीको आकार बढ्यो । अनि खतले पनि सँगै आफ्नो भागको आकार बढायो । जुन मैले साथमै बोकेको छु । जीवनपर्यन्त यो साथमै रहने छ । आसपासका खोला, नदी, घर, आफन्त, परिवार, साथीभाइ छुट्लान् तर यो खतले छोड्ने छैन । मेरो शरीरबाट उड्ने धुँवा र खरानीले मात्रै सायद मेट्न सक्नेछ यो चिनो ।
४ वर्षको कलिलो हातको नाडीमा भरखर धार लगाएको बासोले छ्याक्क काटेको थियो । घाउ कत्रो थियो होला ? नशा काटिए होलान् कि नाइँ ? निको कसरी भयो होला ? काटिएको भए नशा कसरी आफै जोडियो होला ? कति दिनमा निको भयो होला ? अहिले यही खतको गाढा निशानी र धीमा याद मात्रै साथी छन् । ४ वर्षको चिचिलो उमेरका सबै कुरा जस्ताको तस्तै ४० कटिसक्दासम्म याद होस् पनि कसरी ? खासमा बेहोशी अघिको अवस्था जस्तो यादका झिसमिसे सम्झना मात्रै वीच वीचमा आलो फर्किरहँदा रैछन् ।
मामा र हाम्रो परिवार सँगै पहाडबाट तराई झर्यौं । बज्यै, म, आमा र माइलो भाइ जुम्लाबाट प्लेन चढेर नेपालगञ्ज झरेका थियौं । मामालाई ४५ वर्ष अघिका तिथिमिति ठ्याक्कै याद रहेको देख्दा अचम्मै हुन्छु । तर, उनको यो सम्झने शक्ति मेरा लागि गजबको पारिवारिक दस्तावेज जस्तो भएको छ । २०४० सालको मंसिर ८ गते जीवनमा पहिलोपल्ट मैले आकाशमा उड्ने मौका पाए पनि फुच्चे उमेरको त्यो यात्राको खासै सम्झना बाँकी छैन । बरु त्यसको २ वर्ष अगाडि नै २०३८ सालमा मलाई उपचार गर्न नेपालगञ्ज लैजानका लागि बुवा र मामाले जुम्ला लगेका बेला मैले जहाजको लामो पखेटा देखेको हो कि जस्तो लाग्छ । यकिन भने छैन ।
त्यो जमानामा नाग्म गाउँमा पानीको पाइप जडान भयो । पूर्व–दक्षिण फर्केको पहाडको पाखोमा एकातिर मावली पाण्डेबाडा र अर्कापट्टी हाम्रो अधिकारीबाडा पर्छ । कम्तिमा दुई घण्टाको ठाडो उकालो चढेपछि खोचमा रहेको मूलबाट प्लाष्टिकको कालो पाइप जोडेर टोलमा पानी ल्याइएको थियो । बाटो, गाडी नपुगेको त्यो अनकन्टार कालिकोटको नाग्म गाउँमा त्यो जमानामा त्यहाँ खानेपानी योजना पुग्नु पत्याउनै नसकिने सत्य थियो । पाइप तान्ने र जोड्ने काम श्रमदानबाट भएको थियो । जडान गर्दै जाँदा बेकामे भएको सानो पाइपको टुक्रा सायद त्यो आधा इन्चको पाइप थियो होला, मामाले भाञ्जाले खेलाउनलान् भनेर ल्याएछन् । त्यो मुख भित्र हालेर हु...हु... गर्दै हिँड्ने बेला विकट र उवडखावड त्यो वस्तीमा कता ढोकातिर खुट्टा फसेर म उछिट्टिएर अगाडि हुत्तिएछु ।
पानीका मुहानहरू धेरै भए पनि नजिकसम्म ल्याउने उपक्रम नहुँदा पानीको साह्रै दुःख थियो । पानी गाउँमा आउने खुसीभन्दा पहिले हाम्रो परिवारमा विपद आइलाग्यो । पाइपले मेरो घाँटीको श्वासनली वा खाना खाने नली कुन चाँहि काटेछ । वा दुवै काटेछ । रुवाबासी सुरु भयो । साढे २ वर्ष जतिको बालकको त्यो अवस्था अनि नजिक न अस्पताल न डाक्टर पाइने त्यो युग । रातभरि जसोतसो काटेर बुवा र मामा मलाई बोकेर विहानै सरजाम बोकेर जुम्ला हानिए ।
वरपर तानतुन गरेर नगद दश हजार जति रुपियाँ बोकेर मलाई काँधमा भिरेर दुई भिनासालाले नेपालगञ्ज लाने भनेर जहाज भेट्न हतासिएका थिए । बाटोमा त्यसबेला पाइने पिपलमेट चकलेट र नदीको चिसो पानी हातमा घोल्दै मेरो मुखमा रस चुहाएको मामा अहिले पनि सम्झन्छन् । अरु केही निल्नै नसकिने, दुखेर रुने मात्रै मेरो अवस्था थियो ।
कहिलेकाहीँ संजोग पनि गजबले टुप्लुक्कै आँगनमै आइपुग्ने रहेछ । आधा दिनको पैदल यात्राबाट खलङ्गा पुगेर प्लेन टिकटको जोहो गर्न सोधखोज गर्दै गर्दा हेल्थ क्याम्प लागेको खबर कानमा परेपछि हानिँदै मलाई त्यता लगियो । अनि डाक्टरले चिम्टाले च्यापेर मेरो घाँटी भित्रको काटिएको घाउ टाँसिदिए । अनि भोलिपल्ट मामा घर फर्किए, हामी भने फलोअपमा केही दिन बसेर घर फर्कियौं । अनि नेपालगन्ज जानु पनि परेन, ढिलो नभएर होला मेरो घाउ पनि बिग्रेन र पैसा पनि जोगियो । यसै बेलाको हो जस्तो लाग्छ, जहाजको पखेटाको धिमा सम्झना । ठ्याक्कै चाँहि भन्न सकिनँ ।
सबै जना बाटोको सामल अनि आफूसँग भएका पछि काम लाग्ने सरजामसहित हिँडेर बर्दिया बसाइँ सर्ने तयारी थियो । नाग्म, कालिकोटबाट दैलेख, सुर्खेत हुँदै गोला, बर्दिया पुग्न करिब १० दिनको पैदल यात्रा गर्नु पर्दथ्यो । तरुना र तन्दुरुस्त लोग्ने मान्छेहरू ७ दिन जतिमा पुग्थे । बुढाबुढी, केटाकेटी, सुत्केरी महिला भएपछि यात्रा लामो हुने नै भयो । अनि बाटोको सामल र अत्यावश्यक सरजामको भारी आवश्यकता अनुसार बढ्यो भने यात्राका दिन पनि लम्बिन्थ्यो ।
मामाघरकी बज्यैले पूराना कुरा सम्झँदै भनिन् – ‘तेरा बोब (वुवाका वुवा)ले काँ सुत्केरी बुहारी हिँडेर जान सक्छ ? हुँदैन । प्लेनको टिकट गर भन्या छन् ।’ बुहारीलाई मान्छे नगन्ने त्यो बेलाको समाजमा हाम्रा बोबमा त्यो तहको उदार चेत रहेछ । उनी बितेको पनि २७ वर्ष भैसक्यो । बोबको निर्णयपछि बज्यै, म र आमा अनि ४ महिनाको दुधे भाइसमेत हामीले जुम्लाको खलङ्गादेखि नेपालगञ्जसम्मको जहाज चढ्ने सौभाग्य पायौं । त्यसबेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको प्लेनमा एकजनाको भाडा १२५ रुपियाँ थियो ।
हामी उड्नुभन्दा एक साताअघि बुवा नेपालगञ्जका लागि हिँडेका थिए हामीलाई ‘रिसिभ’ गर्न । मामाले जुम्लामा विमान चढाएर बिदाई गरे भने बुवाले नेपालगञ्जमा स्वागत । अनि भारतीय बाटो हुँदै गोला पुगियो ।
गोलाको खोनपुर गाउँमा हामी बसाइँ सरेका सुरुका दिन बाआमाका लागि घर बनाउने दार, खाबा जोड्ने, खरखडाई खोज्ने चटारो थियो । केही महिनामा माथिल्लो तलो होँचो भए पनि सुत्न मिल्नेगरी दुई तलाको फुसको घर तयार भएको थियो । बारी बनाउने, तिहुन तरकारी लाउने आदि कामको मेसो पनि मिलाइँदै थियो । बज्यैका लागि पनि घर तयार भयो ।
कुलापारि उत्तरपट्टि मामाघर र सडक वारि दक्षिणपट्टि हाम्रो घर ठडियो । अभिभावक यस्तैयस्तै काममा व्यस्त भए । म जस्तै टोटकी (केटाकेटी) भने आफ्ना छावँलका साथी सँग चिनजान गरिवरि साथ्या बनाई केटाकेटी खेलमा अभ्यस्त हुन थालिसकेको थिएँ । डण्डिबियो, लुकीलुकी, घुरघुरिया, वालुवामा लुकाइ, माटो खनाइ, आइसबाइस जस्ता तराईंका केटाकेटी खेल सिक्न दुई महिना पनि लागेन ।
सँगै जग्गा किने पनि आमाकी माहिली दिदीको परिवार अघिल्लो वर्षकै मंसिरमा तराई झरिसकेकाले सुरुमा उनीहरूको भर भयो । ठूलीआमाको परिवार सँगै जुम्लाबाट अर्को छिमेकी परिवार पनि बसाइँ सरी आएको थियो । ठूलीआमाको घरसँगै हाम्रो अस्थायी छाप्रो बनेको थियो । त्यसभन्दा पश्चिम केहीपर बाटोको दक्षिणपट्टि ती छिमेकीको घर थियो । त्यो घरमा मेरै उमेरकी सानी छोरी पनि थिइन् । उनी मेरो नयाँ साथीहरूमध्ये एक हुन आइन् ।
नयाँनयाँ ठाउँ । वस्ती पनि पातलो । साथीभाई थोरै थिए । हामी समय मिलेसम्म केटाकेटी खेलमा रमाउन थाल्यौं । त्यसबेला धानको कुनिउँमा लुकीलुकी खेल्न खुब मज्जा हुन्थ्यो । उनले एकदिन भनिन्, ‘माटो खन्ने खेलौं है ?’ उनी घरभित्र पसिन् र काठ ताछ्ने बासो लिएर आइन् ।
उनको घर अगाडिको आँगनको चिसो भुइँमा हामी थचक्क बस्यौं । पुषमाघको ठिहिर्याउने मौसम थियो । घाम पनि लागेको थिएन । पहाडबाटै ल्याएका कोछ्या, जाँघ्या यस्तै केही लुगा लाएको थिएँ । थचक्क भुइँमा बसेको सम्झेर झल्यास्स बीउ झैं भएँ । सोचें, टाला मैलीजान्या हुन् कि ? अनि टुक्रुक्क खुट्टाले टेकेर बसेँ ।
उनले फेरि भनिन् – ‘म खन्छु । तुमी माटो फाल है ?’
उनी बासोले माटो खन्ने अनि मैले हातले माटो तानेर खाल्डो बनाउन थालेँ । यसो गर्दा उनले खन्ने पालो र मैले फाल्ने पालो मिलाएर गरिरहेका थियौं । रमाइलै भैरहेको थियो माटोको खेल । एकछिन् पछि कसरी हो पालो विग्रिएछ । मैले माटो फाल्न हात हाल्ने र उनले खन्न बासो उज्याउने सँगै परेछ । मेरो नाडीमा घ्याच्च लागि हाल्यो । बासो पनि भरखर धार लाएको रैछ । केटाकेटी बलले पनि काटिहाल्यो । रगतको धारा छुटे । हल्लीखल्ली भयो । अनि अनुभवको डिग्री बोकेकी बज्यैले भाँगोले रगत थामिन् । भाँगोकै लेपले निको पार्ने मल्हम बनाइ दिइन् । धरधन्दाको काममा असिनपसिन आमाबुवाले थाहा पाउनेबित्तिकै चार हातखुट्टा टेकेर आए । बेस्सरी रोए । लगलग कामे । तराई झर्नेबित्तिकैको पहिलो उपहार नमीठो माने सायद ।
मैले दाहिने हातमा टलक्क टल्कने ठाउँमा टाटो साइनबोर्ड पाएँ । बर्दियाको माटोसँगको सानिध्य सुरु भयो । जसले टाटो चिनो दिएको थियो । २०५३ सालमा नेपालगञ्जमा आइए पढ्न बस्दा बेला रहरले मार्सल आर्ट्सको चिनियाँ खेल उसु खेल्न थालेको थिएँ । एक जना ‘सिनियर’ खेलाडी हाम्रा गुरु थिए राजु थापा । उनकी भाउजू दुई जीउकी भएका बेला शरीरमा चाहिने भन्दा आधा मात्रा रगत रहेछ । सायद १०÷१२ पिन्ट जति रगत ‘स्टाण्डवाई’ राख्न डाक्टरले भनेका थिए । उनले सबैलाई रगत दिन आग्रह गरेपछि म पनि रगत दिन तयार भएँ र भेरी अस्पतालको व्लड बैंकमा साथीहरु सँग गएर पहिलो पल्ट रक्तदान गरेको थिएँ ।
पछि गाउँ गएका बेला रगत दिएको आमालाई सुनाएँ । आमा त धरधरी रुन थालिन् । उनको दुखेसो थियो – ‘मैले आफूले खाइनखाई दशधरा दूध खुआएर अरूकन रगत देलाइ भनेर हुर्काएकी छियाँ भाउअ ?’ छोरा मान्छेलाई हाम्रो खस भाषामा स्नेहले भाउअ भन्ने चलन छ । चलन थियो भनौं । अब त्यो ठेट भाका बाँकी रहेन । पनाति पुस्तामा आउँदा मासिइसक्यो ।
खासमा आजभन्दा झण्डै ३० वर्ष अघिको कुरा त्यसमाथि गाउँमा रक्तदानबारे चेतना थिएन । आमाको चिन्ता अन्यथा थिएन । त्यसबेला शरीरबाट रगत बग्नु र खसीको मासु काट्दा बोसोको भाग नपर्नु बहुतै ज्यादा महत्त्वका विषय थिए । त्यसताका शरीरको रगत र खसीको बोसो उस्तै भाउका थिए । थारु अनि हिन्दी मिसिएको भाषामा शरीरबाट खुन बग्नु र ६ महिना लाएर भाग पुगेपछि काटिएको खसीको मासुमा बोसोको अलग भाग नमिल्नु ठूलो पीडाको कुरा हुन्थ्यो ।
खसी काटेपछि रगतसहितको भुटन पकाएर बाँडेर खाने चलन थियो भने मासु र बोसोको बराबर भाग लाग्थ्यो । अहिले सम्झन्छु– क्याम्पस पढ्न गएको हुर्केबढेको छोरोले अरूकोे ज्यान बचाउन डाक्टरले विधि पुर्याएर रगत झिक्दा त रुवाबासी गर्ने आमाले ४ वर्षको सानो बालकको हातको नाडीबाट बासोको धार लागेर उम्लिएको रगत देखेर कति रुवावासी गरिहोलिन् ?
नयाँ ठाउँ, नयाँ मान्छे, ओत लाग्ने आफ्नो घर बनिसकेको छैन । के खाने, के लाउने टुंगो नलागेको परदेशी जस्तो हाल भएका बेला छोराको नाडीबाट रगतका छिल्का आउँदा कुन् आमाबाको मन नरुँदो हो र ? पछि बाआमा बनेपछि आफ्ना सन्तानको शरीरबाट रगत बग्नु त परैको कुरा सानो कतै घोचियो भने पनि आफ्नो मुखबाट ऐआको चित्कार फुत्किँदा बाआमाको मन अनुभव हुँदो रहेछ । सबै बाआमाको मन उही त हो । चाहे अघिका हुन् वा पछिका । चाहे गाउँका हुन् या सहरका । बाआमा त बाआमा नै हुन् ।
ठूलो भएपछि कति ठाउँमा आफ्नो हुलिया लेख्ने बेला दाइने हातको नाडीमा खत भएको भनेर लेखेको छु । अनुहारको हुलियाको मात्र खास गणना हुने पछि मात्र थाहा भयो । तर, मलाई लाग्छ यो घाउ होइन, पहिचान हो । नाता हो माटोसँगको ।
जसरी रातो माटोलाई कर्णाली नदीले पहाडबाट बगाउँदै ल्याएर तराईमा रातोपानी बगेर एकाकार गरिदिन्थ्यो खेतमा सिञ्चिएर । मलाई पनि उसैगरी त्यसै माटोसँग नाता जोडिदिएको थियो सायद त्यो बाल दुर्घटनाले ।
किशोर उमेरका बाआमाले आफ्नो थातथलोको पवित्र रातो माटोको माया छातीभित्र गुम्साएर सायद आफ्ना लागि कम हामी सन्तानको भविष्यका लागि ज्यादा अनकन्टार गोलामा पुगेका थिए । त्यही माटोमा मेरो रक्त कण एकाकार भएको हो भन्ने ठान्छु अनि नाडीको चिमचिमे घडी सम्झँदै खत हेरेर मुस्कुराउँछु ।
२०४० सालको भाद्र ३ गते कर्णाली नदीमा हालसम्मकै ठूलो बाढी आएको थियो । त्यसै सालको मंसिर ८ गते ४ महिने दूधे बालक मेरो भाइलाई च्याप्तै ४ वर्षको कलिलो बालक मलाई डोर्याउँदै बसाइँ सरेको थियो हाम्रो परिवार । मामाको परिवार पनि सँगै हुँदा एकअर्कालाई भर थियो ।
कर्णाली नदीको भेलले कालिकोटबाट समेत रातो माटो बगाउँदै त्यसका राता कण भए पनि नदीसँगै जोडिएको खोनपुरको माटोमा मिलन गराउँथ्यो । हरेक वर्षामा राता कणको पुनर्मिलन गराउने जिम्मा भेलको थियो । भेल उग्र हुँदा मात्रै पीर हो, नत्र भने माटो मिलन प्रिय नै थियो हाम्रा लागि । यसरी नै हाम्रो परिवारलाई भूगोलले पनि स्वीकार्यो होला अनि आफ्नै बनायो होला सायद । त्यही मन बनाएर सायद अञ्जान, अपरिचित र बिरानो ठाउँको माटोलाई हाम्रो परिवारले आत्मसात गर्यो । अनि एउटा विशाल आत्मपरीक्षाको उकालीओराली पार गरी नयाँ परिवेश, नयाँ समाज र नयाँ भूगोलको परिचय बनेको थपिएको थियो ।
हामी चिचिलाको सायद त्यति विशाल मन नहुँदो हो । भए पनि व्यक्त नहुँदो हो वा भनौं पछिसम्म सम्झने शक्ति नहुँदो हो । त्यसैले भूराहरूको परीक्षा बाँकी राखिँदो हो । त्यसैले त भनिन्छ सन्तान पाउनुले होइन, बरु असल अभिभावक हुनु शास्वत बाआमा मानिन्छ । अनि जीवनभर त्यसका खातिर परीक्षा दिइरहनु पनि अभिभावक हुनुको नियमित परीक्षा हो । एउटा बालक वा बालिका अभिभावक बन्नुअघि उसको सबै जाँच सायद उसका बाआमाले नै दिइरहन्छन् । तर, कहिलेकाँही परीक्षा लिने झुक्किँदा हुन् अनि भविष्यका अभिभावकले असमयमैं पनि परीक्षा दिनुपर्दो हो ।
यो मीठो खतले बर्दियाको माटोसँग एकाकार गरी दिएकी ती बालसखालाई त्यसबेला आफूले जानेसुने जति गाली गरेर पीडा कम गरेँ हुँला रुँदैरुँदै । तर, अहिले सोच्छु, ती अबोध बालिकाको के दोष ? बालबालिका र वृद्धवृद्धा भगवानका रूप भन्ने हाम्रो लोकोक्ति नै छ ।
तर, मलाई फेरि एकपल्ट ती दिनमा जान मन छ । ‘रिवाइण्ड’ गर्न मन छ मेरो विगतलाई । खोज्न मन छ मेरो पारिवारिक विरासतलाई । बुझ्न मन छ मेरो पृष्ठभूमिलाई । म बढेको मेरो धर्तीलाई । नुनदेखि सुनको जोहो गर्न हरेक वर्ष सयौं उकाली–ओराली पार गरेर हटारुको परिचय पाएका मेरा पुर्खाको सम्झनामा मलाई हराउन मन छ । हाटबजारको खोजीमा तराई झरेका उनीहरू कसरी बसाईं सरे हुन् ? किन सरे हुन् ? जवाफ खोज्न मन छ ।
उनीहरूको जीवनको आरोह–अवरोह, भीरपहिरोको कथा सुन्न र सुनाउन पाइयोस् । आउने पुस्ताका लागि शबदमा उतार्न पाइयोस् । अनि एउटा चलचित्रको पटकथा झैं गरी वाक्यहरू जोड्न पाइयोस् र जीउ ढाक्न नाना, एक मुठी खाना र आकाश छेल्ने छानाका लागि आफ्नो वस्ती छोडेर हरेक हिउँदमा गोलभूगोल चहार्न निस्केका मेरा बोबहरू, बाबाहरू, मामाहरूसमेत सम्पूर्ण हटारु आफन्तीहरू जो हाट निस्कँदा पाइला परेका ठाउँठाउँमा बसाईं सरे, उनीहरू सबैप्रति समर्पित गर्न पाइयोस् ।