काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १ गतेदेखि आयोजना गर्न लागेको नेपाल प्रिमियम लिग (एनपीएल)ले यतिखेर खेल क्षेत्र तातिरहेको छ । खेलप्रेमीहरुले महाकुम्भका रुपमा लिने एनपीएललाई लिएर खेलाडी र खेलप्रेमीहरु उत्साहित छन् । विशेषगरि पहिलो संस्करणभन्दा थप सेवा सुविधा थप गरेर हुन लागेको एनपीएलमा यस पटकको सबैभन्दा ठूलो उपलब्धि फ्लडलाइट र सुविध सम्पन्न प्याराफिट हो ।
एनपीएल सुरु हुन अब तीन दिन मात्रै बाँकी रहँदा दिनप्रतिदिन यसको माहोल बढ्दै गएको छ । एनपीएलको दोस्रो संस्करणाक अधिकांश खेलहरु फ्लडलाइटमा हुनेछन् । पानी पर्दा छाता ओडेर समेत खेल हेर्ने दर्शकले यसपटक भने सुविधासम्पन्न र व्यवस्थित प्याराफिटमा बसेर खेलको आनन्द लिनेछन् ।
एनपीएल दोस्रो संस्करण पहिलो संस्करणभन्दा झन् रोमाञ्चक हुने अपेक्षा क्रिकेट संघको छ । नेपाल क्रिकेट संघका अनुसार नेपाल प्रिमियर लिग यसवर्ष थप व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत हुनेछ । क्यानले गत वर्षको अनुभवबाट सिक्दै पूर्वाधार विकास र व्यवस्थापकीय पक्षमा ठूला सुधारहरू गरेको दाबी गरेको छ ।
मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंक जोडिएको यस संस्करणमा दर्शक र खेलाडी दुवैका लागि उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
उनका अनुसार यस वर्ष एनपीएलका लागि महत्वपूर्ण भौतिक पूर्वाधारहरू तयार गरिएका छन् । यसपटक नयाँ स्टेडियम निर्माण भएसँगै फ्लडलाइटको पनि व्यवस्था गरिएको छ । जसले रात्रिकालीन खेल सञ्चालन गर्न सहज हुनेछ । यी परिवर्तनहरूले लिगलाई नयाँ आयाम थपेको उनको भनाइ छ ।
प्रवक्ता लामाले पहिलो वर्ष सिक्ने क्रममा रहेको र यसवर्ष पूर्ण रूपमा तयार भएको बताएका छन् । व्यवस्थापकीय हिसाबले क्यान अब अझ व्यवस्थित तरिकाले काम गर्न सक्षम रहेको र लिग सञ्चालनका लागि पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ ।
‘खेलाडीका लागि उत्कृष्ट खेल मैदान उपलब्ध गराउन ७/८ महिनादेखि पिच र आउटफिल्डको तयारी गरिएको छ । पिचको अवस्था एकदम राम्रो रहेको र यसले टी-ट्वान्टी क्रिकेटका लागि उत्कृष्ट वातावरण प्रदान गर्ने विश्वास लिएका छौं’, प्रवक्ता लामाले विकासन्युजसँग भने ।
यस वर्ष विदेशी खेलाडीहरूको हकमा पनि केही परिवर्तनहरू गरिएका छन् र ठूला नामहरू लिगमा सहभागी हुनेछन् । यसले खेलको स्तर र प्रतिस्पर्धालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ ।
क्यानले खेल तालिका र टाइमसिट यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा फ्लडलाइटमा खेलिने र नखेलिने म्याचहरूको विवरण समावेश छ । यस वर्षको लिग असाध्यै राम्रो र रोमाञ्चक हुने, दर्शकले पूर्ण मनोरञ्जन लिन पाउने क्यानको बुझाइ छ ।
टिकट बिक्रीका लागि खल्ती एपसँग सहकार्य गरिएको छ । दर्शकले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् । क्यानले बिहीबार नै टिकट शुल्कको विवरण सार्वजनिक गरिसकेको छ । टिकटमा प्रिमियम र जनरल गरी दुई प्रकारका श्रेणी रहनेछन् । यसका साथै, १५ हजार रुपैयाँको सिजनल पास उपलब्ध हुनेछ । जसले सम्पूर्ण खेल हेर्न पाउने सुविधा प्रदान गर्नेछ । ओपनिङ, प्लेअफ र फाइनल खेलका लागि भने फरक शुल्क तोकिएको छ ।
जसमा पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरिएको छ । पहिलो दिन र शनिवारका लागि साधारण प्याराफिटको टिकट ५ सय र भीआईपीको १५ सय तोकिएको छ । त्यसबाहेकका अन्य लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र भीआइपीतर्फ १ हजार कायम गरिएको छ । प्लेअफ र फाइनलका लागि साधारणतर्फ १ हजार र भीआईपीतर्फ २ हजार तोकिएको छ ।
क्यानले गत वर्ष सामान्यतर्फ तीन सय र भीआइपीतर्फ सात सय रुपैयाँ टिकट शुल्क निर्धारण गरेको थियो । त्यस्तै प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भीआइपीतर्फ सात सयको टिकट शुल्क तोकेको थियो । गत वर्ष फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको थियो । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भीआइपीतर्फ आठ हजार दुई सय ४० मूल्य निर्धारण गरिएको थियो । यस वर्ष टिकट शुल्क पनि लगभग दोब्बर नै तोकिएको छ । क्यानले टिकट शुल्कबाट नै गत वर्षको तुलनामा दोब्बर नाफा गर्ने रणनीति बनाएको छ । नयाँ बनेको त्रिवि क्रिकेट मैदानमा १३ हजार दर्शक अटाउन सक्ने क्षमता रहेको छ ।
क्यानका अनुसार करिब ३५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ भने विज्ञापनबाट मात्रै करिब १५ करोड ४० लाख रुपैयाँ आम्दानी हुने जनाएको छ ।
त्यस्तै ८ वटा फ्रेन्चाइज टीमबाट ९ करोड रुपैयाँ कमाउँदा ओटीटी प्लेटफर्मबाट ५ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ। एनपीएलको ओटीटी प्लेटफर्मको अधिकार डिश होम गो एपले पाएको छ । त्यहाँबाट हुने आम्दानीमध्ये ७१ प्रतिशत क्यानले पाउने छ । रंगशालामा टिकट बिक्रिबाट करिब ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने अनुमान क्यानले गरेको छ।
त्यस्तै क्यानका अनुसार पहिलो संस्करणको एनपीएलमा २७ करोड ६९ लाख ६४ हजर ८ सय १८ रुपैयाँ आम्दानी भएको थियो । जसमा २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको थियो भने पहिलो संस्करणमा ७ करोड ५३ लाख ९१ लाख नाफा भएको थियो । यस वर्षको नेपाल प्रिमियर लिगले दर्शक र क्रिकेटप्रेमीहरूलाई एउटा नयाँ र स्मरणीय अनुभव प्रदान गर्ने तयारीमा क्यान जुटेको छ ।
पहिलो संस्करण जस्तै यो संस्करणमा पनि ८ टीमबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । जसमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स रहेका छन् ।
पहिलो संस्करणमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि हात पारेको थियो भने यस संस्करणमा पनि उपाधि भेट्टाउने लक्ष्यकासाथ अधिकांश टीमले विश्वप्रसिद्ध खेलाडीहरू अनुबन्ध गरेका छन् ।
गत वर्ष विजेता टिम जनकपुर बोल्ट्सले १ करोड १० लाख, उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
८ टीममा कुन खेलाडी कहाँ ?
जनकपुर बोल्ट्स
पहिलो संस्करणमा प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा उपाधि जितेको जनकपुरले यस संस्करणमा भने मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको छ । दोस्रो संस्करणका लागि बोल्ट्सले वेस्ट इन्डिजका शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक बनाएको छ । जसमा
जनकपुरका मार्की आसिफ शेख र कप्तान अनिलकुमार शाह रहेका छन् । पहिलो संस्करणमा ९ खेलाडी रहेका थिए । यसपटक पनि यी नै खेलाडी टीम छन् । जनकपुरले आसिफ, कप्तान अनिल, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार र तुल बहादुर थापालाई दोहोर्याएको हो ।

यसैगरी यसपटक न्युजिल्यान्डका जिम्मी निसम टीममा रहने छैनन् । उनी यसपटक पोखरा गोर्खाजमा गएका छन् । जनकपुरले इमरान ताहिर, वायने पार्नेल र मिलन्थालाई अनुबन्ध गरिसकेको क्यानले जनाएको छ । अझै केही विदेशी खेलाडी घोषणा हुन बाँकी रहेका छन् ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् । टीममा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई छन् । यस्तै, दीपक बोहरा, हेमन्त धामी, मिलन बोहरा, टेकबहादुर रावत र दीपेन्द्र थापा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले विदेशी खेलाडीमा अस्ट्रेलियाका जोस ब्राउन, क्रिस लेन र स्कट कुग्गेलिनलाई अनुबन्ध गरेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्स विजेता बन्दा सुदूरपश्चिम रोयल्सले उपविजेतामा चित्त बुझाएको थियो ।

कर्णाली याक्स
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी हुन् । टीममा गुलशन कुमार झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, उनिश विक्रमसिंह ठकुरी र विपिन शर्मा छन् । यसैगरी विदेशी खेलाडीमा अष्ट्रेलियाका विल बोसिस्टो र नेदरल्याण्ड्सका म्याक्स ओडाउड छन् ।

काठमाडौं गोर्खाज
काठमाडौं गोर्खाजका लागि करण केसी मार्की खेलाडी हुन् । टीमले भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतीक श्रेष्ठ र राशिद खानलाई दोहोर्याएको छ । यस्तै उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम टीम छन् ।

गोर्खाजले विदेशी खेलाडीको कोटा पूरा गर्दै दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इंग्ल्याण्डका बेन चाल्र्सवर्थ, अमेरिकी सन्नी पटेल र जोहन सिम्पसनलाई अनुबन्ध गरेको छ ।
लुम्बिनी लायन्स
लुम्बिनी लायन्स राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा छ । लुम्बिनी लायन्सले पहिलो संस्करणमा सोचेजस्तो प्रदर्शन गर्न नसके पनि पौडेलको व्यक्तिगत खेल भने उल्लेखनीय थियो । लुम्बिनीले अफगानिस्तानका गुलबदीन नैब, इटालीका बलर थोमस ड्राका र अष्ट्रेलियाका डी’आर्सी सर्टलाई अनुबन्ध गरेको छ ।

यसमा पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेक गौतम र तिलक भण्डारीलाई दोहोर्याएको छ । यस्तै दिलीप नाथ, दुर्गेश गुप्ता, शेर मल्ल, आदिल खान र विशाल पटेल टीममा छन् ।
चितवन राइनोज
चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । जसमा रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौतेला, गौतम केसी र कमलसिंह ऐरीलाई दोहोर्याएको छ । यस्तै अर्जुन साउद, देव खनाल, विपिन रावल, रञ्जित कुमार र विपिन आचार्य टीममा छन् ।

चितवनले इंग्ल्यान्डका डेविड मलान, रवी बोपारा, सेफ अली जैब र पाकिस्तानका सोहेल तन्विरलाई अनुबन्ध गरेको छ ।
विराटनगर किंग्स
विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् । जसमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गुप्टिल, स्कटल्यान्डका जर्ज मन्सी र अष्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ । टीममा प्रतिश जिसी, लोकेश बम, बसीर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन् ।
विराटनगरमा नेपाली राष्ट्रिय टोलीसमेत सम्हालिसकेका पहिलो सिजन जनकपुरलाई जिताएका पुबुदु दासानायके मुख्य प्रशिक्षक छन् ।

पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । टीममा आकाश चन्द, त्रिर्थराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाल छन् । यस्तै, अर्जुन कुमाल, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र कृष्ण पौडेल छन् । यसमा विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटन र न्युजिल्यान्डका जिम्मी निसम टीममा अनुबन्ध गरिएको छ ।

क्यानका अनुसार कुल ३२ खेलमा २३ खेल फ्लडलाइटमा हुनेछन् । दिउसोको समयमा ९ खेल मात्रै हुनेछन् । मंसिर १ गते हुने उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ ।

दिनमा एउटा खेल खेलाउँदा फ्लडलाइटमा गर्ने र दुई खेल हुँदा मात्रै एक खेल दिनको पौने १२ बजे सुरु गर्ने तालिका क्यानले सार्वजनिक गरेको छ । मंसिर २ गते चितवन राइनोज र कर्णाली याक्सको खेल पौने १२ बजे हुनेछ भने यो खेल सकिएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स दिउँसो ४ बजे आमनेसामने हुने क्यानले जनाएको छ ।
मंसिर ३, ४ र ५ गते एक/एक खेल हुनेछन् । यी तीनै दिनका खेल दिउँसो ४ बजे सुरु गर्ने क्यानको तयारी छ । मंसिर ६ र ८ गते दुई दुई खेल हुनेछन् । जसमा मंसिर ६ गतेको पहिलो खेल सवा ११ बजे र ८ गतेको पहिलो खेल पौने १२ बजे सुरु हुनेछ ।
६ गतेको दोस्रो खेलमा काठमाडौं र विराटनगरले साढे ३ बजे खेल्दा ८ गतेको दोस्रो खेलमा सुदूरपश्चिम र कर्णाली दिउँसो ४ बजेदेखि भिड्नेछन् । मंसिर ९ र १० गते एक एक खेल हुने र दुवैदिन ४ बजेबाट खेल सुरु हुनेछ । मंसिर ११, १२, १३, १६, १८ र २० गते दैनिक दुई खेलको तालिका छ । जसमा पहिलो खेल सवा ११ बजे र पौने १२ बजे तथा दोस्रो खेल साढे ३ बजे र ४ बजे हुनेछन् ।
यस्तै, मंसिर १४, १७, १९ र २१ गते दैनिक एक खेल फ्लडलाइटमा गराउने तयारी छ । लिगचरणपछिका सबै खेल फ्लडलाइटमा हुनेछन् । मंसिर ३२ गते पहिलो क्वालिफायर, २४ गते इलिमिनेटर र २५ गते दोस्रो क्वालिफायरका खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछन । मंसिर २७ गते शनिबार एनपीएलको फाइनल खेल हुनेछ । जुन खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।