बैंकले ६ प्रतिशत ब्याजमा ऋण दिन्छौं भन्दा पनि अटाे व्यवसायी दोधारमा, लयमा फर्किने प्रयास

काठमाडौं । गत भदौ ३२ र २४ गतेको जेनजी आन्दोलनपछि खस्किएको अटो बजार लयमा फर्किने प्रयासमा रहेको छ । २ वटा अटो शोले चलायमान बनाएको अटो बजार जेनजी आन्दोलनले ठूलो क्षति पुर्याएपछि सुस्त बनेको थियो । अहिले पुनः लयमा फर्किने प्रयासमा बजार रहेको छ । 

आन्दोलनको क्रममा टाटा, महेन्द्र, सिजी, हुन्डाई, सुजुकीजस्ता ठुला अटो कम्पनीका शोरुमहरूमा आगजनी र तोडफोड भएको थियो भने करिब १० हजार सवारीसाधनमा क्षति पुग्यो । 

अहिले अटो बजार लयमा फर्किने प्रयासमा रहेको व्यवसायीहरु बताउँछन् । उनीहरु विगतमा स्टकमा राखेको गाडीहरु बिक्री भइसकेको दाबी गर्छन् । 

व्यवसायीहरुले जेनजी आन्दोलनलगायत यस्ता खालका विभिन्न चुनौतीहरूको सामना गरिरहेको अटो बजारले दशैं तिहारपछि केही सुधारको सङ्केत देखाएको बताएका छन् । 

अटो व्यवसायी तथा गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ-फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार जेनजी आन्दोलनका कारण दशैंअघि गाडीको बिक्री घटेको थियो । उनले तिहारपछि गाडीको इन्क्वाइरी र बिक्रीमा वृद्धि भइरहेको जानकारी दिए । यसअघि कर बढ्ने हल्लाले गाडीको स्टक बढेको भनिए पनि आयातकर्ताहरूसँगको स्टक घटेको दाबी उनको छ । 

उनका अनुसार गाडी आयातमा भने अझै पनि ठूला चुनौतीहरू छन् । चीनसँग जोडिएका नाकाहरूमा बाढी, पहिरो र हिमपातले गर्दा आयात प्रक्रिया निकै जटिल बनेको छ । 

गोल्छाका अनुसार केरुङ नाकाको पुल भत्किएको र तातोपानी नाका बाढीका कारण लामो समयदेखि प्रभावित भएको छ । तातोपानीबाट दशैंपछि मात्रै गाडी आउन थालेको र कोरला नाकामा पनि अहिले हिमपातका कारण आयात गर्न गाह्रो भएको उनले बताए । यी अवरोधका कारण भन्सारबाट छुटेका गाडीहरूलाई अस्थायी रूपमा चोभार बन्दरगाहमा राखिएको छ । 

उनले केही मोडलको स्टक आउट भएको र नयाँ गाडी आउने बित्तिकै बुकिङअनुसार डेलिभरी दिइरहेको जानकारी दिए । 

यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी अटो बजार दशैं तिहारपछि नकारात्मक अवस्थामा नभई स्वाभाविक समायोजनको चरणमा रहेको बताउँछन् । 

पछिल्लो समय देखिएको सुस्तता अस्थायी मात्र भएको र दीर्घकालीन समस्या नरहेको उनको भनाइ छ । उनले अब उपभोक्ताको माग बढ्दै जाने र आगामी महिनाहरूमा बजार पुनः सक्रिय रुपमा लयमा जाने विश्वास व्यक्त गरे । 

चौधरीले भने, ‘आर्थिक वर्ष सुरु हुनुअघि कर बढ्ने आशंकाले केही व्यवसायीहरूले स्टक बढाएका थिए । त्यसपछि जेनजी आन्दोलनले बिक्रीवितरणमा असहजता ल्याइदियो । यी कारणहरूले गर्दा बजारमा अस्थायी सुस्तता देखिएको हो, तर यो कुनै संरचनात्मक वा दीर्घकालीन समस्या भने होइन । अब विस्तारै सुधार हुँदै जान्छ ।’

उनका अनुसार उपभोक्ताको माग विस्तारै बढ्दै गइरहेको छ । यसका साथै वित्तीय क्षेत्र क्रमशः सामान्य हुँदै गएको र बैंक तथा वित्तीय संस्थाहरूले अटो लोन एवं हायर पर्चेज सहज बनाउन थालेकाले नगद प्रवाहमा राहत पु¥याएको छ, जसले बजारलाई फेरि गतिमा ल्याउने उनको विश्वास छ । 

चौधरीले पछिल्लो समय विद्युतीय सवारीसाधनमा उपभोक्ताको रुचि बढ्दै गएको बताउँदै यसले अटो बजारलाई नयाँ दिशामा अगाडि बढाइरहेको दाबी गरे ।

यसैगरी, अटो उद्योगी तथा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया पनि अटो बजारको सुस्तता विस्तारै कम हुँदै गइरहेको बताउँछन् । उनका अनुसार जेनजी आन्दोलनले सवारीसाधनको माग २० देखि ३० प्रतिशतसम्म घटेको थियो ।

यो सुस्तता स्टक र जेनजी आन्दोलनले मात्र नभई समग्र आर्थिक क्रियाकलापमा कमी र राजनीतिक अस्थिरताका कारण भएको उनको भनाइ छ । 

उनले भने, ‘यस वर्ष दशैं/तिहारअघि गाडीको स्टक राम्रै थियो । हाम्रो कम्पनीमा गाडीहरू सामान्यतया १/२ महिनासम्म मात्रै स्टक रहन्थे । तर यसपटक ३ महिनासम्म स्टक पुग्यो । जबकी गाडीहरूको बिक्री अपेक्षाकृत हुन सकेन । अब क्रमिक रुपमा यो सुधार हुँदै गइरहेको छ । ’

सीजी मोटर्सका मार्केटिङ हेड बद्री भट्टराईले बजार सुस्त हुनुमा बैंक फाइनान्सिङको अभाव, आम नागरिकको कम आय र खरिद क्षमतामा आएको कमी रहेको दाबी गरे । 

यस्तै, टाटा मोर्टस बीवाइडीलगायत कम्पनीले पनि जेनजी आन्दोनले अटो बजार सुस्ताएको र व्यापार व्यवसाय विस्तारै लयमा आउन बताएका छन् । 

थपलियाका अनुसार बिक्रीमा आएको कमीका कारण अटो बजार सुस्ताएको हो । अहिले बैंक तथा वित्तीय संस्थाहरूले ६/७ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको भएपनि समग्र अर्थतन्त्रमा चहलपहल नभएसम्म माग बढ्न नसक्ने उनको तर्क छ । तर, पूर्वानुमान गरिएको भन्दा बिक्री कम हुँदा भने चुनौती बढेको उनको भनाइ छ । 

null

अहिले गाडी खरिदका लागि बैंकहरूले ६० प्रतिशतसम्म मात्र फाइनान्स गर्ने गरेकोमा यसलाई ८० प्रतिशत पु¥याउनुपर्ने व्यवसायीहरूको माग छ । उसो त अहिले राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीलाई सवारी साधन खरिदको कर्जाको लोन टु भ्यालु रेसियो ८० प्रतिशत कायम गरेके छ । 

गोल्छाले १५ वर्षअघि ९० प्रतिशतसम्म फाइनान्स उपलब्ध हुने गरेको स्मरण गर्दै ८० प्रतिशत फाइनान्स भएमा ग्राहकलाई सहज हुने र बिक्री बढ्ने जानकारी दिए । यस विषयमा नाइमामार्फत सरकारसँग छलफल भइरहेको र आशावादी रहेको गोल्छाले बताए । 

हाल बैंकले ६० प्रतिशत मात्र कर्जा दिने गरेका छन् । यसको मतलब यदि कुनै इलेक्ट्रिक कारको मूल्य १० लाख रुपैयाँ छ भने बैंकले ६ लाख रुपैयाँसम्म मात्र कर्जा दिन्छ, बाँकी ४ लाख रुपैयाँ भने उपभोक्ताले डाउनपेमेन्टका रूपमा आफैंले तिर्नुपर्छ ।

हाल बजारमा बिक्री हुने गाडीहरूमध्ये करिब ७५ प्रतिशत इलेक्ट्रिक भेहिकल (ईभी) र २५ प्रतिशत पेट्रोल गाडी रहेका छन् । दुवै प्रकारका गाडीमा ८० प्रतिशतसम्म फाइनान्स उपलब्ध हुनुपर्ने व्यवसायीहरूको माग छ ।

बैंकरहरुले पनि अटो कर्जा विगतको तुलनामा कम प्रवाह भइरहेको बताउँदै आएका छन् ।  नबिल बैंकमा कार्यरत एक बैंकरले अटाे लाेनकाे माग विगतकाे तुलनामा केही कम भएकाे सुनाए । उनले ब्याजदर कम भए पनि माग न्यून रहेकाे सुनाए । 

यस्तै, दशैंयता चीनसँगको तातोपानी भन्सार नाकाबाट सवारी साधन तथा कन्टेनरको आयात निरन्तर भइरहेको छ भने विगतको तुलनामा आयात हुने गाडी र कन्टेनरको संख्यामा भने कमी आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । 

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी रमेशबहादुर शाहका अनुसार पछिल्लो समय चीनबाट दैनिक औसत १३ देखि १५ वटा कन्टेनर छुट्ने गरेको भए तापनि नेपाल प्रवेश गर्ने संख्यामा उतारचढाव रहेको छ । 

‘गाडीको संख्या कहिले बढी हुन्छ, कहिले कम हुने गरेको छ । कहिलेकाहीँ नाकाबाट जाचपास भएर आउने भएकाले दैनिक कति गाडी भित्रिन्छन् भन्ने यकिन तथ्यांक दिन गाह्रो छ,’ शाहले भने । उनका अनुसार औसतमा ५ देखि ८ वटा गाडी भित्रिने अनुमान छ ।

तातोपानी नाका अहिले भने सहज रुपमा सञ्चालनमा आएको शाहले उल्लेख गरे । दशैंयता आवाजावत निरन्तर भइरहेको उनको भनाइ छ ।
 

Share News