दाहाल–शर्मा सम्बन्ध बिच्छेद : माओवादी आन्दोलनको नयाँ मोड र वाम राजनीति भित्रको हलचल

काठमाडौं । नेपालको वामपन्थी राजनीतिमा फेरि एक पटक हलचल मच्चिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वाम एकताको चर्चा चुलिँदै गरेको बेला माओवादी केन्द्रभित्रै भने गहिरो असहमति र विभाजनको आँधी चलेको छ।

अध्यक्ष पुष्पकमल दाहालका दीर्घकालीन सहयोगी तथा पार्टीका उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्रबाट अलग्गिएको घोषणा गरेपछि पार्टी मात्र होइन, सम्पूर्ण वाम आन्दोलनभित्र वैचारिक बहसको नयाँ चरण सुरु भएको छ ।

शर्मा–दाहाल बीचको यो दूरी केवल व्यक्तिगत सम्बन्धको विघटन होइन, यो माओवादी आन्दोलनको रणनीतिक दिशा, नेतृत्व शैली, र संगठनात्मक चरित्रमाथि उठेको गहिरो प्रश्नसमेत हो ।

जनार्दन शर्मा माओवादी जनयुद्धकालका प्रमुख कमान्डरमध्ये एक हुन् । रोल्पा–रुकुम क्षेत्रका कमाण्डरका रूपमा उनी संगठन र युद्ध रणनीतिका कारण दाहालको विशेष विश्वासपात्र बनेका थिए । युद्धकालदेखि शान्ति प्रक्रियासम्मको यात्रामा उनी दाहालका दाहिने हात मानिन्थे ।

२०६२/६३ को जनआन्दोलनपछि माओवादी मुख्यधारमा प्रवेश गर्दा पनि शर्मा पार्टीभित्र दाहालका निकटस्थ सहयात्री बने । गृह र अर्थ मन्त्रालयजस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका उनले संगठनमा कार्यकर्तामुखी छवि निर्माण गरेका थिए ।

तर, समयसँगै यो सम्बन्धमा दरार आउन थाल्यो । नेकपा एमालेसँग माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपाको समयमा शक्ति सन्तुलन दाहाल–माधव नेपाल केन्द्रित हुँदै गएपछि शर्माले आफूलाई उपेक्षित महसुस गर्न थाले ।

त्यसपछि पार्टी पुनः विभाजित भएर माओवादी केन्द्र बने पनि दाहालले पुरानै सर्कल र निर्णय प्रक्रियालाई कायम राखे । शर्मा पक्षले यसलाई ‘पुरानो नेतृत्वको पुनरुत्थान’ र ‘नयाँ पुस्ता दबाउने नीति’को रूपमा लियो ।

२०७९ मा अर्थमन्त्रीका रूपमा कार्यरत शर्मा ‘राजस्व फाइल हेरफेर प्रकरण’मा विवादमा तानिए । सो समयमा दाहालले शर्माको खुलेर बचाउ नगरेपछि सम्बन्ध निर्णायक मोडमा पुग्यो । शर्मानिकट समूहले त्यस घटनालाई ‘बलिको बोको बनाउने प्रवृत्ति’को रूपमा लिँदै नेतृत्वमाथि नैतिक प्रश्न उठाउन थाले ।

दाहाल र शर्माबीचको मतभिन्नता मूलतः विचार र दृष्टिकोणमा थियो । शर्मा आफूलाई जनयुद्धको आदर्श, जनताको सहभागिता र वैचारिक निष्ठामा आधारित राजनीतिका पक्षधर मान्दथे । उनका अनुसार माओवादीले ‘सत्ता–सन्तुलन र गठबन्धनको नाममा आफ्नो पहिचान गुमाएको’ थियो ।

दाहाल विपरीत रूपमा नेपालको राजनीतिक यथार्थलाई स्वीकार्दै व्यवहारिक राजनीति र सत्तासाझेदारीमार्फत परिवर्तन सम्भव हुने तर्क गर्थे । उनका लागि गठबन्धन राजनीति आवश्यक थियो, तर शर्मा त्यसलाई ‘वाम आन्दोलनको पतनको सुरुवात’ ठान्थे ।

यही दृष्टिकोणको टकरावले पार्टीभित्र वैचारिक स्पष्टता हरायो । कार्यकर्ता र नयाँ पुस्ताका नेताहरूबीच ‘हामी वामपन्थी हौं कि सत्तामुखी ?’ भन्ने प्रश्न बारम्बार उठ्न थाल्यो ।

शर्माले बारम्बार दाहालमाथि नेतृत्वशैलीका कारण आलोचना गर्दै आएका छन् । उनका अनुसार पार्टीका सबै निर्णयहरू मन्त्री छनोटदेखि नीति निर्माणसम्म ‘एकल व्यक्तिमा केन्द्रित’ छन् ।

उनले दाहालमाथि परिवारवाद र आत्मकेन्द्रित निर्णय प्रक्रियाको आरोप पनि लगाएका छन् । ‘संगठनभित्रको लोकतन्त्र मरेको छ’ भन्ने उनको भनाइ पार्टीभित्र धेरै कार्यकर्ताले साझा रूपमा दोहोर्याएका छन् ।

शर्मा पक्षको बुझाइमा आलोचकहरूलाई छेउमा राख्ने र चाकडी संस्कृतिलाई बढावा दिने प्रवृत्तिले माओवादी केन्द्रको संगठनात्मक बल घटाएको छ । यसले नयाँ पुस्ताका नेता–कार्यकर्तामाझ असन्तोषको वातावरण निर्माण गरेको छ ।

शर्माको अलग्गिने निर्णय माओवादी केन्द्रका लागि केवल एक जना नेता गुमाउनु मात्र होइन, संगठनात्मक र जनस्तरको चुनौती पनि भएको बताइएको छ । उपमहासचिवस्तरका नेताले पार्टी छोड्दा मध्यम तहका नेताहरूको मनोबल खस्किन सक्छ र यसले नयाँ गुटहरूको उदयको सम्भावना बढाएको छ ।

दाहालको नेतृत्वमाथि विश्वसनीयताको प्रश्न उठ्दै जाँदा पार्टीभित्र ‘सुधारवादी र सत्तामुखी’ दुई धारबीचको दूरी अझ प्रष्ट हुँदै गएको छ ।

राजनीतिक दृष्टिले हेर्दा शर्मा प्रभाव क्षेत्रका जिल्लाहरू— विशेषतः रोल्पा, रुकुम, दाङ र काभ्रेका कार्यकर्ता अब पार्टी नेतृत्वसँग पुनर्विचारमा लाग्ने सम्भावना प्रबल देखिन्छ । यसले आगामी निर्वाचन रणनीतिमा दाहालकोको सन्तुलनलाई खल्बल्याउन सक्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो विवाद केवल व्यक्तिगत असन्तुष्टि होइन । यो त नेपालको वामपन्थी आन्दोलनभित्रको वैचारिक संकटको अभिव्यक्ति हो । माओवादी केन्द्र अहिले त्यस्तो मोडमा उभिएको छ जहाँ पुरानो जनयुद्धको आदर्श र नयाँ व्यवहारिक सत्ता–राजनीतिबीच गहिरो द्वन्द्व चलिरहेको छ ।

शर्मा सुधारवादीधारका प्रतिनिधि हुन् । उनले माओवादीलाई पुनः जनआन्दोलनको मूल मर्ममा फर्काउने आग्रह गर्दै आएका थिए । दाहाल भने सत्ताको प्रयोगमार्फत स्थायित्व र परिवर्तन खोज्ने पक्षमा छन् । यही द्वन्द्वले अहिले वाम राजनीतिमा वैचारिक पुनर्संरचनाको संकेत दिएको छ । यदि शर्माले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी अघि बढाए भने यो नेपालका वामपन्थी दलहरूबीच नयाँ पुनर्संयोजनको सुरुवात हुन सक्छ । यसमा उनले मंगलबार घोषणा गरेको अभियानले कस्तो स्वरूप लिन्छ त्यसले भविष्यको बाटो तय गर्छ ।

दाहालका लागि अहिलेको चुनौती दुई तहमा छ  । पहिलो– पार्टीभित्रको विश्वास संकट अनि दोस्रो– वाम एकताको योजनामा पर्न सक्ने प्रत्यक्ष प्रभाव ।

शर्माजस्ता नेताको बाहिरिने घटनाले दाहालको ‘एकीकृत वाम मोर्चा’ को योजना कमजोर बन्न सक्छ । नेकपा एकीकृत समाजवादीसँग एकता गर्नुअघि माओवादी केन्द्रभित्रै असहमति बढ्नुले नयाँ गठबन्धनका लागि अविश्वासको वातावरण सिर्जना गरेको मान्ने हो भने भोलिका दिनमा यसले दाहाललाई सकारात्मक सन्देश नदिएको मान्न सकिन्छ ।

अर्कोतर्फ युवापुस्ता र मध्यम तहका नेताहरूमा उठेको असन्तुष्टि सम्बोधन नगरेसम्म दाहालको नेतृत्व स्थिर रहन गाह्रो देखिन्छ ।

एक समय दाहालका दाहिने हात बनेका जनार्दन शर्मा अहिले त्यही नेतृत्वको प्रतिरोधमा उभिएका छन् । यो केवल दुई नेताबीचको दूरी होइन  । यो माओवादी आन्दोलनको नयाँ चरणको सुरुवात हो ।

दाहाल–शर्मा विच्छेदले नेपाली वाम राजनीति भित्र वैचारिक दिशा, संगठनात्मक अनुशासन, र नेतृत्वको नैतिकता सम्बन्धी बहसलाई फेरि जीवित बनाएको छ । अब प्रश्न यही छ– माओवादी आन्दोलन फेरि जनआधारित आदर्शतर्फ फर्किन्छ, कि सत्ता–मुखी व्यवहारिक राजनीति भित्रै विलिन हुन्छ ?

उत्तर भविष्यका राजनीतिक कदमहरूले दिनेछन् ।

तर यत्ति निश्चित छ — शर्माको बर्हिगमनले माओवादी केन्द्रलाई हल्लाएको मात्र होइन, सम्पूर्ण वाम राजनीतिभित्र आत्ममूल्यांकनको लहर ल्याएको छ ।

Share News