‘वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सरकार प्रतिबद्ध छ’

आज वैदेशिक रोजगार बोर्डको १८औं वार्षिकोत्सवको यस पावन अवसरमा म सम्पूर्ण नेपाली श्रमिक वर्ग, उनीहरूका परिवारजन तथा श्रम आप्रवासनका सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै हालसम्म वैदेशिक रोजगारको क्रममा निधन भएका श्रमिकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते श्रमिकहरूलाई समेत हार्दिक सम्झना गर्दछु ।

नेपालको संविधानले वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित बनाउन राज्यलाई स्पष्ट दायित्व प्रदान गरेको छ । संविधानको मर्मअनुसार राज्यले बाध्यतावश हुने वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्दै विदेश जानुपर्ने जनशक्तिलाई सुसूचित, सचेत र दक्ष बनाएर मात्र पठाउने तथा वैदेशिक रोजगारीबाट आर्जित पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ ।

संवैधानिक मर्म र राष्ट्रिय आप्रवासन नीति, २०८२ लाई आत्मसात् गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन, श्रमिकका हक–अधिकारको प्रत्याभूति गर्न तथा कल्याणकारी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न वैदेशिक रोजगार बोर्डले विगत १८ वर्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सीपयुक्त र प्रतिस्पर्धी बनाउन बोर्डले सञ्चालन गरेका निःशुल्क सीप विकास तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू अत्यन्त प्रभावकारी बनेका छन्। रोजगारीको क्रममा देखिने कानुनी उल्झन समाधानका लागि प्रदान गरिएका कानुनी सहायता, अंगभंग, बिरामी तथा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने आर्थिक सहयोग, मृत्युपश्चात् शव ढुवानी तथा व्यवस्थापनमा राजदूतावास र नियोगहरूसँग गरिएको समन्वय संवेदनशील र प्रशंसनीय छन् । यद्यपि वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूको दायरा अझ विस्तार गर्न आवश्यक देखिन्छ ।

वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्या समाधानका लागि बोर्डले सुरु गरेको ‘श्रमाधान कल सेन्टर’ र ‘टेलिमेडिसिन सेवा’ श्रमिक हितका दृष्टिले अत्यन्त उपयोगी र जीवनपरक पहलका रूपमा देखा परेका छन् । साथै, सचेतनामूलक रेडियो तथा टेलिभिजन कार्यक्रमहरूको निरन्तरताले सुरक्षित आप्रवासन संस्कृतिको निर्माणमा ठोस योगदान पुर्याएको छ ।

यसैगरी, सबै कल्याणकारी सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराई सेवाग्राहीको पहुँचलाई सहज, सरल, पारदर्शी र छरितो बनाउँदै डिजिटल सुशासन प्रवद्र्धनतर्फ बोर्डले चालेका कदमहरू प्रशंसनीय छन् ।

बोर्डको वार्षिक प्रगति सन्तोषजनक देखिएको छ । यद्यपि बेरुजु व्यवस्थापनतर्फ ध्यान दिई आर्थिक कार्यप्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन गर्दछु । साथै यस आर्थिक वर्षका लागि तर्जुमा गरिएका कार्यक्रमहरूको प्रभावकारी र पारदर्शी कार्यान्वयनका लागि शुभेच्छा प्रकट गर्दछु ।

यस अवसरमा म वैदेशिक रोजगार बोर्डका सदस्यहरू, कार्यकारी निर्देशक, सचिवालयमा कार्यरत कर्मचारीहरू, मन्त्रालयका पदाधिकारीहरू, विकास साझेदार संस्था तथा कार्यक्रमसँग सम्बन्धित सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । तपाईंहरूको समर्पण, मेहनत र उत्तरदायित्वकै कारण आज बोर्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय संस्था बन्न सफल भएको छ ।

चेतनाको स्तर वृद्धि हुँदै जाँदा नेपालको बदलिँदो राजनीतिक परिदृश्य र जनअपेक्षालाई आत्मसात् गर्दै अबको चरणमा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न सीपमा आधारित उद्यम तथा पुनःएकीकरण कार्यक्रमहरूलाई विस्तार गर्न प्राथमिकता दिनुपर्छ । विदेशबाट फर्किएका नागरिकहरूको अनुभव र पूँजीलाई उत्पादन, पर्यटन, कृषि तथा प्रविधि क्षेत्रमा उपयोग गर्न नीतिगत र संरचनागत सुधारका कार्यहरू अघि बढाउनुपर्दछ ।

यसतर्फ मन्त्रालयलाई ठोस कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन गर्दछु । साथै श्रम आप्रवासनका विभिन्न चरणमा हुने शोषण र ठगीको नियन्त्रण तथा नियमन गर्दै आकर्षक रोजगार गन्तव्यको खोजी गर्न र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र क्रमशः निःशुल्क बनाउन नीतिगत पहल आवश्यक छ ।

वैदेशिक रोजगार प्रणालीलाई पारदर्शी, सरल, सहज, शर्तरहित, प्रविधिमैत्री र छरितो बनाई आप्रवासनबाट फर्किएका श्रमिकहरूको दिगो र सम्मानजनक पुनःएकीकरण गर्दै सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन निर्देशन गर्दछु ।

अन्त्यमा, देशका लागि पसिना बगाइरहनु भएका श्रमिक परिवार र मातृभूमिप्रति समर्पित सबै नेपाली श्रमिक दाजुभाइ–दिदीबहिनीहरूलाई म गहिरो सम्मानका साथ नमन गर्दछु । तपाईंहरूको योगदानले हाम्रो अर्थतन्त्रलाई सशक्त बनाएको छ र विश्वमा नेपालको प्रतिष्ठा उचो पारेको छ ।

वैदेशिक रोजगार बोर्डको १८औं वार्षिकोत्सवले श्रमिक कल्याण, सुरक्षित आप्रवासन र दिगो रोजगारीका अभियानमा नयाँ उत्साह, प्रेरणा र जिम्मेवारी थपोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद !

– वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको मन्तव्य

Share News