भारत र चीनसँग आयातको हिस्सा बढ्दै, निर्यातमा छैन सुधार

काठमाडौं । छिमेकी मुलुक भारत र चीन नेपालको सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने मुलुक हुन् । यी देशहरूबाट नेपालले खर्बौं रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गर्दै आएको छ ।

नेपालले यी दुई छिमकी मुलुकबाट जुन मात्रामा वस्तु र सेवा आयात गर्दै आएको छ, त्यसको तुलनामा निर्यात भने निकै नै न्यून रहेको छ । 

तथ्यांकअनुसार नेपालमा आयात उच्च हुँदै गएको देखिए पनि निर्यातमा भने कुनै सुधार गर्न भएको छैन । यी दुई मुलुकसँग सबैभन्दा धेरै वैदेशिक व्यापार हुनुकासाथै व्यापार घाटा पनि उच्च रहेको छ ।

null

भारतसँग नेपालको परनिर्भरता हरेक वर्ष बढ्दै गएको छ । तथ्यांक हेर्ने हो भने नेपालको कुल वैदेशिक व्यापारमध्ये झण्डै ७० प्रतिशत व्यापार भने भारतबाटै हुँदै आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०१५/१६ भारतसँग ५ खर्ब २७ अर्ब २९ करोड रुपैयाँ बराबरको कुल व्यापार भएको छ । जसमध्ये नेपालले भारतबाट ४ खर्ब ८७ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आायत गरेको छ । यो भारतसँग भएको कुल व्यापारको ९२.४७ प्रतिशत आयात हो ।

उक्त आवमा नेपालबाट भारतमा कुल व्यापारको ७.५३ प्रतिशत मात्रै वस्तु निर्यात भएको देखिन्छ । उक्त आवमा नेपालबाट कुल ३९ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

आव २०१६/१७ मा नेपालले भारतसँग ६ खर्ब ८७ अर्ब ५१ करोड ९८ लाख रुपैयाँ बराबरको कुल व्यापार गरेको छ । जसमध्ये ६ खर्ब ४६ अर्ब एक करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो कुल व्यापारको ९३.९६ प्रतिशत हो । उक्त आवमा अघिल्लो आवको तुलनामा कुल व्यापारको आधारमा आयात बढेको छ तर निर्यात घटेको छ । तथ्यांकअनुसार उक्त आवमा कुल व्यापारको ६.०४ प्रतिशत मात्रै निर्यात भएको छ ।

त्यस्तै, आव २०१७/१८ मा आइपुग्दा नेपालको भारतसँग भएको कुल व्यापारमा निर्यातको हिस्सा झन् घटेको छ । तथ्यांकअनुसार उक्त आवमा कुल व्यापारको ९४.५ प्रतिशत आयात हुँदा ५.४३ प्रतिशत मात्रै वस्तु तथा सेवा निर्यात भएको देखिन्छ । आव २०१७/१८ मा ८ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ बराबरको कुल व्यापार भएको छ । जसमा ८ खर्ब १२ अर्ब ५५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । ४४ अर्ब ६६ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

आव २०१८/१९ मा नेपालमा आयात हुने वस्तु तथा सेवा आयात ९ खर्ब पुग्दा निर्यात रकम पनि बढेको छ । तर, कुल व्यापारमा भने निर्यातको हिस्सालाई उपलब्धिको रूपमा मान्न नसकिने विज्ञहरू बताउँछन् । 

तथ्यांकअनुसार उक्त आवमा ९ खर्ब ८० अर्ब ६७ करोड रुपैयाँ बराबरको कुल व्यापार भएको छ । उक्त आवमा कुल व्यापारको ९३.६ प्रतिशत आयात र ६.४ प्रतिशतको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागको तथ्यांकअनुसार आव २०२१/२२ र आव २०२४/२५ मा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा केही बढेको देखिन्छ । आव २०२१/२२ मा कुल व्यापारको ११.४५ प्रतिशत र आव आव २०२४/२५ मा १७ प्रतिशत १७.३४ प्रतिशत पुगेको छ ।

चीनसँग नेपालको निर्यात झनै बिजोग

नेपालको दोस्रो ठूलो वैदेशिक व्यापार हुने मुलुक चीन हो । नेपाल र चीनबीचको व्यापार अत्यन्तै असमान देखिन्छ ।

भन्सार विभागको पछिल्लो १० वर्षको तथ्यांक हेर्दा आयात हुने वस्तु बढ्दै गएको छ तर निर्यातको हिस्सा घट्दै गएको छ । तथ्यांकअनुसार आव २०१५/१६ मा १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कुल व्यापार भएको छ । जसमध्ये १ खर्ब १७ अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएको छ । यो कुल व्यापारको ९८.१९ प्रतिशत हो ।

null
 

उक्त आवमा कुल व्यापारको १.८१ प्रतिशत मात्रै निर्यात भएको छ । तथ्यांकअनुसार  उक्त आवमा २ अर्ब १५ करोडको निर्यात भएको देखिन्छ । आव २०१६/१७ मा चीनसँग नेपालको कुल व्यापार १ खर्ब ३२ अर्ब  ५ करोड रुपैयाँ बराबरको छ । जसमा निर्यातको हिस्सा भने १.३७ प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँको भएको छ । उक्त आवमा आयात १ खर्ब ३० अर्ब २४ करोड रुपैयाँको भएको छ । यो कुल व्यापारको ९८.६३ प्रतिशत हो । 

आव २०१९÷२० मा आइपुग्दा चीनमा हुने निर्यातको हिस्सा एक प्रतिशतभन्दा तल झरेको तथ्यांकले देखाउँछ । उक्त आवमा कुल १ खर्ब ८३ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । जसमा निर्यातको हिस्सा भने ०.४३ प्रतिशत र आयातको हिस्सा ९९.५७ प्रतिशत पुगेको छ । त्यसयताका आर्थिक वर्षहरुमा नेपालले एक प्रतिशतको हाराहारीमा पनि वस्तुत निर्यात गर्न नसकेको तथ्यांकले नै देखाउँछ।

आव २०२४/२५ मा चीनसँग नेपालको कुल वस्तु व्यापार  ३ खर्ब १ अर्ब ३६ करोड पुगेको छ । तर, त्यसमा निर्यातको हिस्सा मात्र ०.८६ प्रतिशत र आयातको हिस्सा ९९.१४ प्रतिशत रहेको छ ।

के भन्छन् सरोकारवाला ?

निर्यात व्यवसायीहरूका अनुसार भारत र चीनले समय समयमा निर्यातमा प्रतिबन्ध लगाउँदा पनि यसले प्रत्यक्ष असर पुग्ने गरेको छ । विशेषगरी कृषि तथा खाद्य वस्तुहरू (चिया, अदुवा, मह, मसुरो आदि) को निर्यातमा अवरोध सिर्जना हुँदै आएको छ । नेपालमा उत्पादन हुने यी वस्तुको स्वच्छता तथा वनस्पति–स्वास्थ्य मापदण्ड प्रमाणिकरण र परीक्षण प्रक्रियामा लामो समय लाग्नुका साथै यहाँ परीक्षण भएका वस्तु ती दुवै देशले स्वीकार नगर्ने समस्या रहँदै आएको छ ।

नेपाल निर्यात परिषद्का प्रथम उपाध्यक्ष रामशरण थपलियाका अनुसार नेपाली वस्तुको निर्यातको लागि अमेरिका, एशियाका देशहरूमा जति राम्रो छ । तुलनात्मक रूपमा भारत र चीनमा त्यो छैन । त्यसकारण व्यवसायीहरूको रोजाइमा अमेरिका, युरोपिएन देशहरू नै बढी रोजाइमा पर्ने गरेको छ । भारत खुला सीमाना भएको हुँदा त्यसबाट व्यवसायीलाई फाइदा कम हुने गरेको छ । 

‘नेपाली वस्तु निर्यातको लागि अमेरिका, युरोपमा अलि बढी राम्रो मार्केट छ,’ थपलिया भन्छन्, ‘युरोपमा धेरै ठाउँमा मेलाहरू पनि भइरहेको हुन्छ, मेलाबाट सामान बिक्री भएन पनि भने त्यसलाई स्टक राखेर पछि बेच्न सकिन्छ ।’ 

उनका अनुसार युरोपिएनहरू नेपाली हस्तकलाका सामानहरू नेपालमै लिन आउँछन् । अरू देशको तुलनमा चीनमा डिमाण्ड नै कम हुने औंल्याउँछन् थपलिया । उनका अनुसार चीनले आफूलाई चाहिने वस्तुहरू आफै नै उत्पादन गर्छ । चीनमा निर्यात हुने वस्तु सीमित छन् ।

‘तुलनात्मक रूपमा अरू देशमा डिमाण्ड कम भएपनि व्यापारीहरू सामानको मार्केटिङको लागि चीनमा नजाने भन्ने हुँदैन,’ थपलियाले भने, ‘कुन्मिङ मेला, छेन्दुमा हुने मेलामा पनि नेपाली उत्पादनको मार्केटिङ गरिरहेका हुन्छौं तर पनि निर्यात न्यून छ ।’

व्यवसायीहरूका अनुसार चीनमा भौगोलिक अवरोधले पनि चीनमा निर्यात हुन सकिरहेको छैन । तातोपानी, रसुवागढी र हुम्ला नाकाजस्ता सीमित व्यापार नाकाहरू नियमित रूपमा सञ्चालन नहुँदा ढुवानी अवरुद्ध हुने र निर्यात खुम्चिएको छ । 

त्यस्तै, चीनमा निर्यात हुने वस्तुको माग पनि अस्थिर हुँदा समस्या हुने थपलिया औंल्याउँछन् । ‘चीनमा सययअनुसार माग हुन्छ, अचानक माग बढ्छ।, फेरि एकैचोटि तल खस्छ, निर्यातमा स्थायित्व नहुनु पनि निर्यात कम हुने कारण हो ।’

निर्यातको हिस्सा बढ्न नसक्नुमा हालै सरकारले निर्यातमा प्रोत्साहन बापत दिइराखेको इन्सेन्टिभ रोक्नु पनि एक कारण औल्याउँछन् व्यवसायीहरू । सरकारले निर्यातमा प्रोत्साहनबापत दिइराखेको इन्सेन्टिभ रोकेको छ । प्रोत्साहन रकम पाइसकेपछि पनि सरकारले १६ प्रतिशत कर लिने गरेको र यस्ता कदमले व्यवसायीलाई निरुत्साहित बनाएको व्यवसायीको भनाइ छ ।

अर्थशास्त्री चन्दमणि अधिकारी चीनलाई व्यापार विविधीकरण गर्ने भनिएपनि नेपालको पक्षमा नभएको जसले आयात मात्रै बढाएको निर्यात हुन नसकेको तर्क राख्छन् । त्यस्तै, उनले नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, उत्पादन लागत बढी हुनु र सडक पूर्वाधार राम्रो नहुँदा निर्यातमा चुनौती थपिएको बताए ।

अधिकारीले भने, ‘वस्तुको गुणस्तर ब्राण्डसित जोडिन्छ, हामीले ब्राण्ड बेच्न सकेनौं,’ उनले भने, ‘हाम्रो उत्पादन अरूभन्दा किन र कसरी फरक छ भनेर प्रमाणि गर्नै सकेनौं ।’ 

नेपालमा सगरमाथाबाट आउने पानी, जटीबुटी जुन अरू देशमा पाउँदैन, त्यसको प्रचार र प्रवद्र्धन गर्न नसक्दा निर्यात बढ्न नसकेको उनको भनाई छ ।

अधिकारीका अनुसार नेपालमा उत्पादन क्षमता र कम छ । धेरै उत्पादनको माग आएको अवस्थामा पनि आवश्यक कालीगढ र कारखानाहरू सीमित भएकाले उत्पादन दिन सकिँदैन । अर्को कारण नेपालमा उत्पादन हुने वस्तुमा प्रयोग हुने कच्चा पदार्थ भारतलगायत अरू देशमै निर्भर हुनुपर्ने बाध्यता छ । 

‘मेड इन नेपाल’ भनिए पनि कच्चा पदार्थ बाहिरबाटै आउँछ, जबसम्म हामीसँग कच्चा पदार्थ हुँदैन, तबसम्म निर्यात बढाउन गा¥है हुन्छ,’ उनले भने ।

अर्थविद् अधिकारीका अनुसार भारत र चीनसँगको निर्यात हिस्सा बढाउन सरकारले निर्यातमुखी रणनीति तयार गर्नुपर्छ । नेपालका जडीबुटी, हस्तकला, ढुंगा–रत्न, कपडा र कृषि–प्रशोधित वस्तुहरूमा ठूलो सम्भावना छ, त्यसलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न सके निर्यातमा सुधार हुन सक्छ ।

सरकारले चीनसँग भन्सार सहजीकरण, ढुवानी सहजता, सीमा-पार पूर्वाधार विकासमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ । विज्ञहरूका अनुसार उच्च आयात र न्यून निर्यातको यो प्रवृत्ति परिवर्तन गर्न सरकार, निजी क्षेत्र र नीति निर्माताबीच समन्वय जरुरी देखिन्छ । 

Share News