बाल्यकालको तिहार : टीका, कौडा र भैलोको बहार

बाल्यकालमा तिहार आउनु निकै खुसीको विषय हुन्थ्यो  । दशैंको उल्लासमय वातावरणपछि तिहारको प्रतीक्षा लामो अनुभव हुन्थ्यो  । घर वरिपरि सयपत्री, मखमली लागायतका दर्जनौं फूलले घरलाई बगैंचा बनाएका हुन्थे  । सुन्तला, कागती, मौसम, अमिलो, भोगटे लटरम्म फलेका हुन्थे  । सुन्तलाको रुख चढेर वा लठ्ठीले हानेर रोजी सुन्तला झार्दै खाँदै गर्थ्याैं  । बिहानदेखि बेलुकासम्म दर्जनौं सुन्तला खाइन्थ्यो त्यसैले कागती, भोगटे तथा मौसमलाई भाउ दिनुपर्ने अवस्था थिएन  । दिउँसो अमिलो साँधेर ट्वाक्क पिरो मिसाएर खान्थ्यौं अनि रगत बढ्छ भनेर टन्न पानी खान्थ्यौं  ।

गाई पुज्ने औंशीको दिन लामो बाबियोको डोरीमा फूल, पिपलको पात, आँपको पात, रोटी आदि जोडेर लामो तोरन बाँध्ने चलन थियो  । तोरनले बाटो वा खोलो कटाउने चलन थियो  । एकपटक तोरनको डोरी समाएर रुखमा पुग्ने दुस्साहस गर्दा भाइ किशोर झन्डै भीरमा लडेको थियो  । सानोमा एकदम सुरो थियो किशोर  । कागतीहार तथा कुकुर तिहारमा त्यति ठूलो रौनक हुन्थेन  । माला लगाएका, चामलको पिठोको सेतो रंग लगाएका कुकुर यत्रतत्र देखिन्थे  ।

तीहारको बेला जुवा खेलेको हेर्न खुब रमाइलो लाग्थ्यो  । किशोर भाइ र म खोजी खोजी जुवा खेल्ने ठाउँमा जान्थ्यौं  । त्यसो त किशोरले बाटोमा गाई कि त्रिशुल लुकीलुकी खेल्थ्यो  । प्रायः जित्थ्यो पनि  । हामीलाई तास खेलेको पटक्कै मन पर्दैनथ्यो किनकी हामीले तास खेल्न जानेका थिएनौं  । कौडा खेल्नु तिहारको ठूलो आकर्षण हुन्थ्यो  । तिहारको सुरुसुरुमा लुकेर खेल्ने गर्थे भने यमपंचक सुरु भएपछि ७ दिन ७ रात अर्थात एकादशीबाट तिहारको टीकाको रातिसम्म खुलमखुला जुवा खेल्न पाइन्थ्यो  ।

आँगनमा गुन्द्री, मान्द्रो, दरि, काम्लो आदि बिछ्याएर कौडा खेल्ने चलन थियो  । नाम त भन्न मिलेन, गाउँका नामुद जुवाडेमा दाइ, भिनाजु, काका, सर लगायत हुन्थे  । दुर्लभ रुपमा बुवा पनि खेल्नुहुन्थ्यो  । कौडामा तिर्की, चौका, पंजा र छक्का दाउ हुन्थे  । ४ जना खेल्थे, १०(१५ जना च्याके थाप्न बसेका हुन्थे भने १५-२० जना जुवा हेर्न बसेका हुन्थे  । जुवा खेलाउने घरमा सेलरोटी पकाएको मगमग बासना आउँथ्यो  । खेल्ने व्यक्तिलाई ल यति हान् भन्दै ५०, १०० रूपियाँको दाउ राख्थे भने च्याके थाप्नेले ‘ ल मेरो यति हान्नु ’ भन्दै आफूले छानेको दाउमा पैसा राख्थे  । आफ्नो दाउका कौडा ठाडा भए भने मार्यो... भन्दै बाँकी ३ तिरका पैसा सोहोर्थे र च्याँखे थापेका व्यक्तिलाई अनुपात अनुसार फाइदा दिन्थे  । लगातार ३ पटक मार्यो भने थर्किको पैसा भनेर जुवा खेलाउनेलाई पैसा दिनुपथ्र्यो  । कहिलेकाँही ७(८ पटक दाउ पथ्र्यो र त्यहाँ बसेका टाट पल्टिने अवस्था आउँथ्यो  । यसरी जितेका मान्छेले थर्की, मैन्टोल, चिया आदिको पैसा जुवा खेलाउनेलाई दिन्थे भने जुवा हेर्न बसेकाले जितौरीको आशा गर्थे  । अलिअलि जितौरी बाँडेर जुवाडे अर्को जुवाको खालमा जान्थे  ।

कुनै कुनै व्यक्तिले ३-४ पटक लगातार जितेपछि पछि हारिन्छ भनेर जुवाको खालबाट बाहिर निस्कन्थे  । यस्तो गर्न पाइन्न भन्दै हारेका व्यक्तिहरूसँग ​​झगडा गर्थे अनि खेल्न बाध्य गराउँथे  । अधिकांश जुवाडेहरुको ‘ मार्यो...  अनि इस् मारिस् ’ भनिरहँदा स्वर सुकेर सासले बोल्नुपर्ने अवस्थाका हुन्थे  । त्यतिबेला देउराली, गैंडा तथा याक चुरोट थिए  । फिल्टर चुरोट याक मात्र थियो  । कौडा खेल्दै, याक चुरोट तान्दै गरेको देख्दा लोभ लाग्दथ्यो  । सामान्य व्यक्तिले देउराली र मध्यम व्यक्तिले गैंडा चुरोट तान्थे  । जुवा खेल्ने रातभर खेल्थे  । बुवाआमाले म र किशोरलाई राति जुवा हेर्न जान निषेध गर्नुभएको थियो  । कहिलेकाँही ठूला मान्छेसंग जान्थ्यौं अनि मैन्टोलको उज्यालोमा जुवा हेथ्र्यों  । खाल खालि भएको बेला हामी पनि खेल्थ्यौं  । म चौका र पंजा दाउ पाए मात्र खेल्थें  । त्यो बेला पैसा हुदैनथ्यो  । बढीमा ५ – १० रुपियाँ राखेर खेलिन्थ्यो  । कहिलेकाँही ५० – १०० रुपियाँ जित्दा पनि संसार जितेजस्तो लाग्थ्यो  । बहिनीहरुलाई जितौरी दिइन्थ्यो  । आज जितेको पैसा भोलि हारिन्थ्यो  । जुवामा खेल्नेको होइन खेलाउनेको मात्र जित हुन्छ  ।

जुवा ठूलो नशा हुँदोरहेछ  । अझ त्यसमा रक्सी मिसिएपछि निमको रुखमा चढेको करेलोजस्तै हुँदोरहेछ  । आफुसंग भएको सम्पूर्ण पैसा हारेपछि एकदम महँगो ब्याजमा सापटी मागेर खेल्नु सामान्य थियो  । त्यो पनि हारेपछि हातमा लगाएको ‘ घडी तथा औंठी हान् ‘ भन्दै दाउमा राख्थे  । रातको घनत्वसंगै केहि जुवाडेले खेत हारेको, घर हारेको, घोंडा हारेको, खेत बन्धकीमा राखेको, आफ्नो श्रीमती तथा छोरीका गहना हारेको तथा आफ्नो पसलसमेत हारेको नमिठो खबर बिहान सुनिन्थ्यो  । खतरनाक रुपमा जुवा खेल्ने जुवाडेको परिवार रातदिन तनावमा रहन्थे  । उनीहरुको लागि तीहार हार मात्र हुन्थ्यो  । टिका लगाउने दिनमा समेत जुवा खेल्नेहरु भूमिगत खालमा हुँदा उनीहरुका दिदीबहिनी रोएर तीहार बिताउँथे  ।

***
लक्ष्मीपुजाको दिन कौसी, क्याम्पा, पालिको माथि, घरको ढोका, घरबाहिरको पर्खाल आदि ठाउँमा दर्जनौं दियो बाल्नुहुन्थ्यो बुवाआमाले  । हामीले पनि दियो राख्ने रहर गर्थ्याैं  । हाम्रो घरबाट पारि झलमल्ल देखिने माइला साहुको घर, धनार्जी, खयरठाँटी, बुल्म, इश्मा, अम्मरपुर, अर्जे आदिबाट पनि हाम्रो घरका दियो देखेका होलान् भनेर कल्पना गथ्र्यौं  । त्यो बेला मैनबत्ती, बिद्युत थिएन  । गोबर्धन पुजाको दिन गाईको गोबरमा फूल, पात, चामलको पिठोको बसुधारा तथा टिका लगाएर सिंगार्ने चलन थियो  । त्यो दिन बुवाआमाले तिहारका रोटी पकाउनुहुन्थ्यो  । ठकने रोटी, सेल, फिनी, अर्सा, अनारसा, बटुक, फुलौरा, पपरा, झिलंगा लगायतका बिबिध रोटी पकाइन्थ्यो  । मलाइ ठकने रोटी, फिनी तथा खुदो मिसाएर बनाएको अनारसा बिशेष लाग्थ्यो  । बुवाआमाले झालमै पाकेर पटपटी फुटेका राता राता र काला काला मादल जत्रा काँक्रा काटेर अचार बनाउनुहुन्थ्यो  । हामीले भने भित्रको अमिलो गुदी खान्थ्यौं अनि कांक्राका बियाँ जम्मा गथ्र्यौं  । कांक्राका बियाँ खायो भने पेटमा काँक्रो उम्रिन्छ अनि फल्छ भन्ने शंका लाग्थ्यो  ।

***
लक्ष्मीपूजादेखि साँझमा भैलो तथा देउसी खेल्ने चलन थियो  । हाम्रो गाउँ धुर्कोटमा पुरुषले भैलो खेल्थे भने महिलाले देउसी खेल्थे  । धेरैजसो केटाकेटीको टिममा मादल हुदैनथ्यो  । भट्याउने, पैसा माग्ने, भनेजति पैसा पाए प्रशंशा गर्ने तथा थोरै पैसा पाए गाली गर्दै जाने गर्दथे  । भैलो कथानक रुपमा भट्याउने चलन थियो  । कथा यस्तो हुन्थ्यो – सूर्य भगवानका छोराछोरीमध्ये यमराज यमलोकमा थिए भने यमुना पृथ्वीलोकमा थिइन्  । बहिनीको निम्तोलाई स्वीकार गरेर यमराज पृथ्वीमा ५ दिनसम्म बसेको हुँदा त्यो समयलाई यमपन्चक भनिन्छ  । बहिनी यमुनाकहाँ टिका लगाउँ यमराज जाँदा कालिनागले बाटो छेकिन्  । यमराजले कालिनागलाई म बहिनीको हातको टिका लगाएर आउंछु अनि मलाइ खालास् भनेर बाचा गरेर अघिं बढे  । त्यसपछि पाटेबाघले यमराजको बाटो छेक्यो  । यमराजले पाटेबाघलाई पनि त्यहि बाचा गरे  । यमुनाले टिका लगाएर दाइका सत्रु नाश हुन् भनेर ओखर फोडिन्  । त्यसपछि यमराजलाई यमुनाले नडराई जानुहोस् दाइ, मैले तपाईंका सत्रु फोंडे भनेपछि यमराज घोडा लिएर फर्किए  । बाटोमा पाटेबाघ मरेको देखे अनि कालीनाग पनि मरेको देखे  । यसरी यमराज सकुशल घर पुगे  । पाताललोकमा रहेका बली महाराजले दश दिक्पाललाई ५ दिनको लागि पृथ्वीमा पठाएका हुन्छन्  । त्यसैले हामी त्यसै आएनौँ बली राजाले पठाएका भन्ने प्रसंग समेत जोडेर देउसीभैलो कथानक बनाउने गथ्र्यौं  । भैलो र देउसीमा बाल्यकालमा म र किशोर भाइ पनि भैलो खेल्न जान्थ्यौं  । हाम्रो टिममा मित्रहरु लालबहादुर कुँवर, दीपक भण्डारी, अनन्त भण्डारी, तुलसी भण्डारी, महेन्द्र भण्डारी, किशोर, कृष्ण, खिमा भाइ, भुवन दाइ, केशब, टिका, धनिश्वर, शिब, मुरारी, शैलेन्द्र लगायतका हुन्थ्यौं  । हामीले पालोसंगै भट्याउने गथ्र्यौं  । धेरैजसोले एक, दुइ रूपियाँ दिन्थे  । कुनै व्यक्तिले पांचको नयाँ नोट दियो भने झुपडीलाई पनि हामीले भन्थ्यौं – यो घर कत्रो ? सिंहदरवार जत्रो  । तर हामीले सिंहदरवार देखेका थिएनौं  । दाइहरुसंग भैलो खेल्दा उहाँहरुले पैसा जम्मा गर्नुहुन्थ्यो  । रातभर खेल्दा पनि हाम्रो भागमा १-२ रुपियाँ मात्र आउंथ्यो  । बाठा दाइहरु ! त्यो पैसा मैले आमालाई दिन्थें भने भाइले गाइ कि त्रिशुल खेलेर हार्थ्याे वा पिपलगेडी तथा राता मिठाइ किनेर खान्थ्यो  ।

तिहारको टिकाको दिन सबैभन्दा विशेष लाग्थ्यो  । बिहानै काफलपानी गएर नुहाएर आएपछि किशोर र म गलैंचामा बस्थ्यौं  । बिमिरो, पात, दियो, रोटी लगायत ग्रह फाल्ने भनेर आमाले बाटोको छेउँमा राख्नुहुन्थ्यो अनि हाम्रो अगाडि कलश, दियो, फूल, दुबो, आँपका पात, पिपलका पात, प्रसाद, अगरबत्ती लगायतका पुजा सामग्री राख्नुहुन्थ्यो  । यसरी दियो पुजन, गणेश प्रार्थना, कलश पुजन, अष्टचिरन्जीवीको पुजा, बिमिरा ९ ब्योरों ० को पुजा तथा यमराजको पुजन गरेर दैलोमा ओंखर राखेर ढुंगाले घजम्म ओखर फोड्ने अनि त्यता फर्केर नहेर्ने गर्नुहुन्थ्यो  । हाम्रा सत्रु त कोहि पनि थिएनन् तै पनि आमाले बहिनीहरु सरिता र अमृतालाई घरको मूल ढोकाका ओखर फोड्न लगाउनु हुन्थ्यो  । त्यसपछि बहिनीहरुले तेलको घेराले हामीलाई छेक्थे  । मैले सोंच्थे – यति सानो तेलको घेरा नाघ्न नसक्ने कस्तो जेमराज होला ? पछि यहि बिषयमा सोंच्थे – यमराज अनुशाशित रहेछ  । घेरा नाघ्न सकेपनि उसले नियम पालना गर्दोरहेछ  । त्यसपछि बहिनीहरुले कपालमा तथा कानमा तेल लगाउने, काइयोंले कपाल कोरिदिने तथा दही खुवाउने गर्थे  । बहिनीहरु साना थिए  । त्यसैले आमाले चामलको पिठो बहिनीहरुको बुढी औंलामा राखेर हाम्रो निधारमा सेतो धर्को बनाउनुहुन्थ्यो अनि बहिनीका अन्य औंला वा अगरबत्तीमा सप्तरंगी टिका बसाल्न सहयोग गर्नुहुन्थ्यो  । त्यसपछि बहिनीहरुले सयपत्री, मखमली तथा हजारी फूलका माला लगाइदिन्थे  । मखमली फूलको पगरी तथा ढाकाको टोपी लगाइदिन्थे  । किशोर र म हेराहेर गरेर हाँस्थ्यौं, मख्ख पथ्र्यों  । बुवाले बहिनीहरुलाई दिर्घायु, आरोग्य तथा यशको आशिर्बाद देऊ भन्नुहुन्थ्यो  । टिका तथा माला लगाएपछि ठूला चिउरीका पातका टपरीमा अघिंल्लो दिन पकाएका सेलरोटीका परिकार, अचार, फलफूल, नरिबल, मिश्री, दहि आदि हाम्रो अगाडि राखिदिन्थे  । हामीले बुवाले दिनुभएका पैसा दक्षिणाको रुपमा बहिनीलाई दिन्थ्यौं अनि ढोग गथ्र्यौं  । त्यसपछि आफ्नो भागका मिठा कुरा खाएर बाँकी पछिको लागि राख्थ्यौं  । 

कुनै वर्ष बुवाको दिदीको घरमा गएर टिका लगाउँथ्यौं  । फुपुले हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो  । जबर्जस्ती थपेर खाना खुवाउनुहुन्थ्यो  । गतबर्ष उहाँको निधनले हाम्रो एउटा स्तम्भ भाँचिएको महशुष गरेका छौं  ।

तीहार सकिएपछि सुरुसुरुमा त खासै फरक पर्दैनथ्यो  । तर पढ्न आएदेखि भने अब काठमाडौं जानुपर्छ भनेर मन निकै खल्लो हुन्थ्यो  ।

तीहारको टिकापछि पुर्णिमासम्म ठूला मान्छेहरुको भैलो सुरु हुन्थ्यो  । आफ्रको टोली तथा बुल्मको टोली मुख्य थिए  । मादल, झ्याली र मुरली बजाउंदै उनीहरु कहिलेकाँही आधा रातमा खेल्न आउंथे  । आँखा मिच्दै उठेर क्याम्पाबाट भैलो हेथ्र्यों  । पुरुष तथा महिलाको भेषमा पनि पुरुष नै हुन्थे  । पुरुषको भेषमा आउनेले सेतो फेटा, रातिमा पनि कालो चस्मा, माला तथा खुकुरी भएको टोपी लगाएका हुन्थे  । उनीहरुले मादल, झ्याली तथा बाँसुरी बोकेका हुन्थे  । महिलाको भेष धारण गरेका पुरुषले रातो फेटा बाँधेका तथा हातमा रुमाल समाएका हुन्थे  । मादल एबम अन्य बाजासहित १२-१५ जनाको टोली आउंथ्यो  । उनीहरु पहिले भैलो खेल्थे अनि मारुनी नाच नाच्ने गर्दथे  । कतिपय टोलीले बाँसुरीले भट्याउने तथा अरु सबैले भैलो भन्थे  । कुनै समुहले कथानक भैलो भट्याउँथे  ।
भट्याउने काम सकिएपछि पहिले बिस्तारै बिस्तारै नाचगान हुन्थ्यो भने नाचगानको गति तीब्र हुँदै गर्दा बस्दै र उठ्दै र मादल ठोक्दै धुलो उडाउँथे  । बाजाको उत्कर्षमा हेर्दै रिंगटा लाग्ने शैलीमा फनफनी नाच्दथे  । उनीहरुका गीत यस्ता हुन्थे -

आयौं महाराजै हजुरको नामै सुनी 
ए हजुरको नामै सुनी, हजुरको नामै सुनी 
आयौं माहाराजै...
पूर्वको मादले पश्चिमैको मारुले समयमै होइ जाउँला भेट 
सम्झिरहे मारुले समयमै होइजाला भेट
ढुकुरले ल्यायो समिचार, तिम्रा मनको गुनासो
ए नानी नबोलेको भयो दिन चार 
(मादलेहरु र मारुलेहरु नाच्ने र अरुले उभिएर गीत झिक्ने, त्यहि गीत नाच्नेले गाउँदै नाच्दै गर्ने )
आ... शिरै लाउनै शिर्फुला परेवालाई सुहायो, भूल पर्यो परेवा 
भूल पर्यो परेवा, भूल पर्यो परेवा हो फर्की हेर परेवा 
गाजलु आँखै भूल पर्यो परेवा...
नाकै लाउने नथिया, कानै लाउने कुण्डलु 
(गर्रा नाच्ने – मुरलीको धुनमा एउटा मादले र एउटा मारुले बिस्तारैबाट छिटोछिटो पहिले उभिएर त्यसपछि बसेर अनि सुतेर नाच्ने)
शिरै लाउने शिरफूला यसै राजैले बेची खायो 
यसैमा राजाको आशा मलाइ छैन 
चलिजाउँ माइतीको देश 
नाकै लाउने नथिया, कानै लाउने कुण्डलु 
गलै लाउनी हैकलु, यसै राजैले बेची खायो 
(राजै आफ्नो श्रीमान)

भैलो सकिएपछि जति धेरै पैसा दिएपनि निकै बार्गेनिंग गरेर अधिकतम पैसा लिने प्रयास गर्दथे  । पैसा दिंदा सुपोमा चामल, सेलरोटी, फलफुल, दियो आदि राखेर दिने चलन थियो  । आधारातमा भैलो खेल्न आउँदा तथा बार्गेनिंग गर्दा अलिअलि नरमाइलो लाग्थ्यो  । तर उनीहरुको भैलो र नाच बेजोड हुन्थ्यो  । दक्षिणा पाएपछि उनीहरुले नाच्दै यसरी आशिक दिन्थे ( कांसझैँ फुली गए, बाँसझैं नुही गए, यो घरमा लक्ष्मीले बास गरुन, पन्च भाइले दिएको आशिक भरिपूर्ण भैयो जाओस्  ।

पहिले भैलो तथा तीहार गीत धार्मिक एबम सांस्कृतिक बिशेषताको हुन्थ्यो भने पछि सामाजिक तथा राजनैतिक मुद्दा पनि भैलोको बिषय बन्न थाले  । त्यस्तै पहिले महिलाको भेषमा पुरुष खेल्थे भने पछि महिला नै खेल्न थाले  । पहिले साना केटीहरुमात्र देउसु रे खेल्थे भने पछि बयस्का पनि देउसु रे खेल्न थाले  । त्यस्तै पहिले भैलो र देउसी खेलेपछि उठेको पैसाले पिकनिक जाने चलन थियो भने पछि सामाजिक कार्यको लागि पैसा उठाउने अभियानको रुपमा देउसीभैलो खेल्न थालियो  । 

जसले दिन्छ मुठी, उसको सुनको गुठी  
जसले दिन्छ मानो, उसको सुनको छानो 
जसले दिन्छ पाथी, उसको सुनको छाती 
जसले दिन्छ मुरी, उसको सुनको धुरी 

भैलिनी आइन् आँगन, गुन्यूचोली माग न हे औंशीबार, गाईतिहार भैलो  । हामी त्यसै आएनौँ, बली राजाले पठाको...

भैलोमा यो भट्याउँदा म एकदम कन्फ्युज हुन्थें  । मुरी दिए, सुनको धुरी मात्रै तर मानो दिए सुनको छानो भनेपछि मानो दिंदा फाइदा हुँदोरहेछ भन्ने लाग्थ्यो  । अझ मुठी दियोभने सुनको गुठी पाउँदा धेरै फाइदा हुँदोरहेछ भन्ने लाग्थ्यो  । यो अंकगणित नबुझेर म अलमल हुन्थें  ।

Share News